‘कोरोना रिमुभिङ कार्ड’ प्रयोग नर्गन मन्त्रालयको सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ प्रयोग नर्गन र नागरिकलाई सचेत बन्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार मिडिया बिफ्रिङका क्रममा ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सो मा गम्भीर असर गर्ने भएकाले त्यो कार्ड प्रयोग नर्गन सुझाव दिनुभयो । 

कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउनसमेत आग्रह गरेको छ । प्रवक्ता डा. गौतमले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गर्नुभयो । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा सहभागी नेताहरुले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो । प्रवक्ता डा. गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने होइन, यो त मनको सन्तोष मात्र रहेको बताउनुभयो । 

उहाँले मिडिया बिफ्रिङकै क्रममा यस्ता विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृया अनुसार सरकारले नै वितरण गर्ने जानकारी दिनुभयो । भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गलामा झुन्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।