नेपालका ७७ जिल्लामै फैलियो कोरोना, मृतकको संख्या २८ पुग्यो

काठमाडौँ ।  कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ । यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएसँगै देशका ७७ जिल्लामै कोरोना संक्रमण पुष्टी भएको  मन्त्रालयले जनाएको छ । शनिबार नियमित प्रेस बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा पुष्टी गर्नुभएको हो । 

नेपालमा कोरोना भाइसर (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या भने २८ पुगेको छ । प्रवक्ता डा. गौतमकाअनुसार शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो । डा. गौतमकाअनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो । फोक्सोको क्यान्सरका विरामी उनी भारतमा उपचार गराउँदै आएका थिए । केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

शनिबार १२० महिला र ४३४ पुरुष गरी ५५४ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।  जसमा १ हजार ३६९ महिला र १० हजार ९४० पुरुष छन् । देशका बिभिन्न अस्पतालहरुमा गरिएको परीक्षणका क्रममा यो संक्रमित फेला परेको हो । संक्रमित सबैलाई स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार शुरु गरिएको डा. गौतमले जानकारी दिनुभयो । 

शनिबार पिसिआर विधिबाट ४ हजार ६ सय ६ गरी शनिबारसम्म २ लाख १० हजार ८७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६८५ गरी शनिबारसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ । अहिले देशभरका क्वारेन्टिनमा ६५ हजार ७१२ जना रहेका छन् । यस्तै, ९ हजार ४४७ जना आइसोलेसनमा उपचाररत छन् । शनिबार १३६ गरी २ हजार ८३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।