भतिजीको पुस्तकलाई लिएर ट्रम्पबाट फेरी अर्को मुद्दा

न्युयोर्क ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै भतिजी मेरी ट्रम्पले लेखेको पुस्तक प्रकाशनमा रोक लगाउने अभियान जारी नै राख्नुभएको छ । विहीबार मात्र न्युयोर्कको क्विन्स काउन्टी सेरोगेट अदालतले उहाँको प्रयासलाई खारेज गरेकोमा शु्क्रबार डजेस काउन्टी सुप्रिम कोर्ट इन न्युयोर्कमा अर्को मुद्दा दायर गरिएको छ । 

आफ्ना कान्छा भाइ रोबर्ट ट्रम्पलाई वादी बनाएर उहाँले पुस्तक प्रकाशनमा रोक लगाउन माग गर्नुभएको हो । सन् २००१ मा एक मुद्दाको छिनोफानोको क्रममा भतिजी मेरीले परिवारका बारेमा केही नलेख्ने भनेर कागज गरेकाले पुस्तक लेख्न नसक्ने ट्रम्पको दावी छ ।

मेरीले आफ्ना काका डोनाल्ड ट्रम्पलाई संसारकै सबैभन्दा खराब मान्छे भन्दै  ‘टु मच एण्ड नेभर इनफ’, ‘हाव माइ फेमिली’, क्रियटेड द वल्र्डस डेन्जरस म्यान’ शीर्षकमा पुस्तक लेख्नुभएको छ । सिमन एन्ड सुसर कम्पनी प्रकाशक रहेको पुस्तक आगामी जुलाई २८ मा प्रकाशन गरिने मिति तय गरिएको छ ।

अमेरिकामा ठूलो प्रतीक्षाको विषय बनेको पुस्तक राष्ट्रपति ट्रम्पका लागि खतरा हुने अनुमान गरिएको छ । दोस्रो कार्यकालका लागि राष्ट्रपति उम्मेद्वार रहनुभएका ट्रम्प अहिले नै प्रतिद्वन्दी जो बाइडनभन्दा पछि परेको अमेरिकी मत सर्भेक्षणले देखाइरहेका छन् । यस्तो अवस्थामा संसारकै सबैभन्दा खराब मान्छेको संज्ञा दिएर आफ्नै भतिजीले लेखेको पुस्तकले उहाँलाई थप अप्ठ्यारो पार्ने देखिन्छ । यही ठानेर ट्रम्प आफ्ना भाइ रोबर्टलाई वादी बनाएर मुद्दाको खेती गरिरहनुभएको छ । क्लिनकल साइकोलोजीमा विद्यावारिधि गर्नुभएकी मेरी अहिले ५५ वर्षको हुनुभयो । उहाँ ट्रम्पका जेठो दाजु फ्रेड जुनियरकी छोरी हो । अल्कोहलिक फ्रेड जुनियरको ४४ वर्षको उमेरमा सन् १९८१ मा मृत्यु भएको थियो । 

मेरी आफ्ना बाजेको ४४० मिलियन डलर काका डोनाल्डले एकलौटी पारेको भन्दै अदालत जानुभएको थियो । लामो समयसम्म चलेको त्यो मुद्दा २००१ मा पारिवारिक सहमतिमा लेनदनको विषय बनाएर टुंगाइएको थियो । यद्यपि, मेरीको चित्त बुझेको थिएन । उहाँले सुरूदेखि नै काका डोनाल्डलाई मानवता नभएको खतरानक मान्छे भन्दै आउनुभएको छ ।