बन्दाबन्दीमा २३४ अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । नेपालमा बन्दाबन्दीको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३४ अन्तर्राष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तर्राष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् । विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टड गरी २३४ अन्तर्राष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् । यो अवधिमा विभिन्न मुलुकबाट चार लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मात्रै कार्गो चार्टड र यात्रु चार्टड गरी ५१ उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काकाअनुसार निगमको २८ चार्टड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् । यो शनिबारसम्मको पूर्वनिर्धारित उडान हो । जुलाई महिनामा चार्टड उडानको पुनःनयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ । निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तर्राष्ट्रिय उडान गरेको छ । अन्तर्राष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ । जजीरा, टर्किस, एयर अरेबिया, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टड उडान गरेका छन् ।

बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन आठ अन्तर्राष्ट्रिय उडानसम्म गरेको जनाएको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको तीन महिनाको अवधिमा नेपाली एयरलाइन्सकोतर्फबाट यो सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान हो । 

गत चैत १० देखि नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै एयरलाइन्सको उडान स्थगन गरिएको छ । आन्तरिकतर्फ पनि उडान हाललाई स्थगित छ । पछिल्लो पटक असारको अन्तिम सातासम्म उडान प्रतिबन्ध कायम गरिएको छ । अहिले कुटनीतिक माध्यमबाट मात्रै चार्टड उडान हुन्छ । पछिल्लो पटक सरकारले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टड उडान गरिरहेको छ । चैत ११ देखि जेठ ३२ सम्म सरकारले देशभर लकडाउन गरेको थियो । असार १ देखि बन्दाबन्दी केही खुकुलो बनाइएको छ । अत्यावश्यक कार्यालय, उद्योग, कलकारखाना तथा बजार मात्र खुकुलो बनाइएको छ । यस्तो व्यवस्था असार २१ सम्मका लागि हो । त्यसपछि परिस्थिति हेरेर निर्णय हुने जनाइएको छ ।