प्रधानमन्त्री ओलीले भने: हामीले महाकाली सन्धि गर्दा भाङ,धतुरो खाएका थिएनौँ।

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धिको पनि बचाउ गरेका छन् । बिहीबार राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा अध्ययन गरेर महाकाली सन्धि गरेको बताए । 

आफ्नै नेतृत्वमा बनेको समितिले महाकाली सन्धिको अध्ययन गरेको उनको भनाइ थियो । ‘०५३ सालमा मेरो नेतृत्वमा एउटा आयोग बनेको थियो । त्यस आयोगले प्रतिवेदन नै दिएको छ । त्यस प्रतिवेदनमा लिम्पियाधुराबाट निस्किएको काली नदी सिमाना हो, त्यसभन्दा पूर्वमा, उत्तरका लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूभाग हुन् भन्ने कुरा त्यस प्रतिवेदनमा पनि लेखिएको रहेछ, जसमा मैले हस्ताक्षर गरेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘महाकाली सन्धिको समयमा पनि मेरो भनाइ कसलाई मन परेन र के भन्यो भन्ने कुरा होइन । त्यसकारण हाम्रा बहसहरू इतिहासमा सत्य साबित हुने हुनैपर्छ, सेन्टिमेन्टका कुरा होइन ।’

उनले महाकाली सन्धिमा हस्ताक्षर भएको वेलाका घटनाक्रम पनि सम्झिए । ‘दुई सरकारबीच हस्ताक्षर गर्दा हामी सरकारमा नभएको पार्टी पनि त्यहाँ उपस्थित थियौँ । हाम्रो नेतृत्व वर्ग त्यहाँ उपस्थित थियो । यो गरौँ, सही गरौँ, ठीक छ, तपाईंहरूको पनि मन्जुर छ, प्रतिपक्षको पनि मन्जुर छ भन्दा अँ मन्जुर छ भनेका थियौँ,’ प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्दाको स्मरण गर्दै थपे, ‘प्रणव मुखर्जीले हस्ताक्षर गर्ने वेलामा कलम समातेपछि फेरि, तो मई साइन कर्लुम् ? भनेर सोधेका थिए । हाँ ठिके हे, किजिए भनेपछि उनले साइन गरे ।’ त्यतिवेला हाँ ठीक छ भन्ने साथीहरू पनि पछि विरोधमा उत्रिएको उनको भनाइ थियो । ‘प्रवण मुखर्जीलाई हाँ हाँ ठीक हे, साइन किजिए भन्ने साथीहरू बुरुक्क उफ्रिएको देखेपछि मैले अलिकति कडा शब्द प्रयोग गरेको थिएँ । त्यतिवेला हामीले गाँजा, भाङ, धतुरो खाएका त थिएनौँ होला !’

राष्ट्रियका विषयमा सबै एक ठाउँमा :

राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीले सानातिना, खुद्रे कुराहरूमा भिन्नभिन्न मत राखे पनि देशलाई अप्ठ्यारो परेका वेला सबै एक हुने गरेको बताए । ‘देशलाई परेका वेला नेपाल एक ठाउँमा उभिन्छ । नेपालीहरू एक ठाउँमा उभिन्छन् । राष्ट्रिय एकता कायम गर्छन्,’ उनले भने, ‘अरू साना, खुद्रामसिना कुराहरूमा नेपाली भिन्नभिन्न राय, अभिमत व्यक्त गर्लान्, तर राष्ट्रिय महत्वका विषयहरूमा राष्ट्रिय एकता प्रदर्शन गर्दछन् ।’

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा संविधानमा राख्नका लागि एकता देखिएकोमा उनले प्रशंसा गरे । ‘नेपाल सरकारले आफ्नो अतिक्रमित भूमिलाई समेत समेटेर नक्सा प्रकाशित गरेको थियो, त्यसअनुसार हाम्रो प्रतीक चिह्नमा अथवा हाम्रो निसान छापमा संशोधन गर्न जरुरी थियो,’ प्रधानमन्त्री ओलीले थपे, ‘प्रतिनिधिसभामा पनि व्यापक राष्ट्रिय सहमति देखियो । विपक्षमा आवाज आएन, विपक्षमा मतदान भएन । राष्ट्रिय सभाबाट त्यस्तै सोलिडारिटी देखिएको छ । राष्ट्र एक भएको छ र राष्ट्र एउटा नयाँ उचाइ पुगेको छ ।’

एमसिसी पढेको मान्छे भेटिनँ :

प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग एमसिसीको अध्ययन नगरी मान्छेहरू हल्लाको पछि दगुरेको बताए । एमसिसीको विरोध गर्नेलाई सम्झौता खोजेर पढ्न आग्रहसमेत गरे ।

‘एमसिसी पढेको मान्छे मैले त्यति भेटिनँ । एमसिसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्नेभन्दा पनि हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर, हातले टेकेर खुट्टा ठाडा पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टाले टेकेर हिँड्नुपर्छ ।’

अहिले सडकलगायत जताततै यही विषयमा विरोध भएको भन्दै उनले सबैलाई सम्झौता पढ्न अनुरोध गरे । ‘अहिले सडकको पनि विषय बनेको छ । अन्तको पनि विषय बनेको छ । पढे हुन्थ्यो नि सम्झौतामा के लेखेको छ । कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘हामी देशका सर्वाेच्च जनप्रतिधिमूलक संस्थाका सदस्यहरू हौँ । हामीले इतिहासमा दर्ज हुने गरी बोल्नुपर्छ ।’१० अर्बको विवरण माग्नेलाई प्रधानमन्त्रीको जवाफ : ‘मान्छे काममा छन्, कसैलाई हिसाबकिताब चाहिएको छ !’

अहिले कोरोना भाइरसको महामारीमा काम छोडेर खर्चको हिसाबकिताब मागेकोमा असन्तुष्टि पोखे । कोरोना महामारीमा सरकारले गरेको खर्चको विवरण माग गर्दै प्रदर्शनमा उत्रेका युवालाई व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मान्छे काममा छन् । यहाँ कसैलाई चाहिँ खर्चको हिसाबकिताब चाहिएको छ । काममा ध्यान छैन, कामप्रतिको प्रशंसा छैन, परिस्थितिप्रतिको गम्भीरता छैन, हिसाबकिताब दैनिक चाहिएको छ ।’

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा भएको १० अर्बको हिसाब संसद्मै आउने बताए । ‘त्यसको मसिनो गरी हिसाबकिताब आलेपमलेप हुन्छ । ती कुरा गरिमामय संसद्मा वार्षिक प्रतिवेदनको रूपमा आउँछ । रुजु, बेरुजु, नियमितता, अनियमितता, यी सबै कुरा आउँछन् ।’ उनले प्रदर्शनमा उत्रिएका युवालाई व्यंग्य गर्दै कोरोना नियन्त्रणका लागि भएको पैसाको मात्रै नभएर सरकारले ल्याएको बजेटको हिसाब आउने बताए । ‘जुन १४ खर्बभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ, त्यो सम्पूर्ण बजेटको एकएक पैसाको हिसाबकिताब आन्तरिक लेखापरीक्षक र महालेखा परीक्षकबाट आउँछ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमार्फत सदनमा आउँछ,’ उनले भने । 

सरकारलाई बदनाम गर्न खोजेको उनको गुनासो थियो । ‘यस्तो ठान्नुभएन कि मबाहेक सबै भ्रष्ट छन् । यस देशमा भ्रष्टबाहेक कोही जन्मिँदैजन्मिँदैन भन्ने पनि ठान्नुभएन । भ्रष्टबाहेक कोही छँदैछैन भन्ने पनि ठान्नुभएन,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्काे यस्तो पनि ठान्नुभएन कि सरकार वा ओहोदामा बसेकाहरूलाई जसरी पनि बदनाम गर्नुपर्छ । जसरी पनि चरित्रहत्या गर्नुपर्छ भन्ने त्यो नियत पनि राख्नुभएन ।’ उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न नदिने भनाइ दोहो¥याए । 

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भए कारबाही :

प्रधानमन्त्री ओलीले कोरोना उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता नभएको जिकिर गरे । ‘यस्तो वेला छिटो बाटोबाट ल्याउनुप¥यो नि भन्ने, अनि छिटो बाटोबाट किन्दा खोइ टेन्डरको प्रक्रिया पु¥याएको, मिलिभगत गरेर खाइयो भन्छन् । कसै गरेर पनि धर नहुने,’ उनको गुनासो थियो । यतिवेला छोटो प्रक्रियाबाट खरिद गरिने उनको भनाइ थियो । 

कोरोनाको महामारीले मुलुक नै पीडित भएको वेला पनि अनियमितता, भ्रष्टाचार गर्नेलाई कानुनअनुसार कारबाही गरिने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘भ्रष्टाचारमा लिप्त हुन्छ, देश र जनाताको हित नहेरेर आफ्नो हित हेर्छ, देश र जनताप्रति बेइमान गरेर आफू कमाउने धन्दामा लाग्छ भने त्यस्तालाई कडाभन्दा कडा कारबाही गरिन्छ ।’

नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको दाबी :

प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको दाबी गरेका छन् । त्यसका लागि उनले विभिन्न तर्क गरे । ‘नेपालीमा इम्युन सिस्टम धेरै राम्रो छ भनेर मैले धेरैपल्ट भनेको छु,’ उनले भने, ‘कतिपयले इम्युन सिस्टम बुझेका छैनन् । नेपालीहरूमा असाधारण इम्युन सिस्टम छ । एकाध उस्तै कमजोर भएका मान्छेहरूलाई मात्रै खतरा हुन सक्छ । नत्र साधारणतया नेपालीहरूमा जुन इम्युन सिस्टम छ, त्यसले कोरोना लागे पनि लगिहाल्न सक्दैन ।’

रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले नै कोरोनाबाट धेरैको मृत्यु नभएको उनको तर्क थियो । जसले गर्दा एक हजार एक सय ६७ जना कोरोनाबाट निको भएर घर फर्केको उनको भनाइ थियो । ‘उच्च मनोबल राख्नुपर्छ । कोरोना लागिहाल्यो भने पनि लान सक्दैन । कोरोनाले छोयो भन्ने बित्तिक्कै अब मर्छु, अब गएँ भन्ठान्यो भने बाँच्न गाह्रो हुन्छ । कोरोना भनेको रुघाखोकी जस्तै हो । लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्रीले सुझाए बेसारको फाइदा :

राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले बेसारका फाइदाबारे पनि लामो चर्चा गरे । यसअघि प्रतिनिधिसभामा पनि प्रधानमन्त्री ओलीले बेसारका फाइदाको चर्चा गरेका थिए, जसको स्वास्थ्यकर्मीले आलोचना गरेका थिए । त्यसलाई उनले उडाएको भन्दै थपे, ‘मैले सडकमा पनि देखेँ । कतिपयले बेसार खाएर निको हुन्छ ? बेसार जेका लागि पनि निको हुन्छ ? जेको पनि उपचार हो बेसार ? भन्ने पनि निस्किए । बेसार उपचार होइन भन्ने मात्रै होइन कहिले–कहिले बेसारले विषको समेत काम गर्छ ।’ 

प्रधानमन्त्री ओलीले बेसार कस्तो अवस्थामा खाने भन्नेसमेत सुझाब दिए । ‘बेसार पनि कोही–कोही अवस्थामा खान हुँदैन । रक्तअल्पता भएको छ भने बेसार खानुहुँदैन । जन्डिस भएको छ भने बेसार खान हुँदैन । गर्भवती महिलाले बेसार खान हुँदैन । सुत्केरी महिलाले बेसार खान हुँदैन । यदि आइरनको कमी छ भने खान हुँदैन । यस्ता अनेक स्थिति हुन्छन् जसमा बेसार खान हुँदैन । अप्रेसन गर्नु छ भने ४८ घन्टा अघिदेखि अथवा दुई–तीन दिनअघिदेखि नै अप्रेसन गर्न जाने मान्छेले बेसार खान हुँदैन । किनभने त्यसले रगतलाई पातलो बनाउने काम गर्छ ।’ तर, चिकित्सकले भने प्रधानमन्त्री ओलीको भनाइ गलत भएको बताएका छन् । 

‘हामीले हात उठाएका छैनौँ’ :

कोरोना नियन्त्रणलाई अन्य देशले भगवान्भरोसामा छोडिदिएको प्रधानमन्त्री ओलीको जिकिर थियो । नेपाल त्यो हदसम्म नपुगेको बताउँदै उनले भने, ‘अब भगवान्को भरोसा छ भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेको र लाचारी प्रकट गरेको देखेका छौँ । हामीले त्यो भनेको छैनौँ, हामी नियन्त्रण गर्न सक्छौँ ।’

सरकारले सक्दो तयारी गरे पनि बाहिरी देशबाट आउने धेरै भएकाले कोरोना संक्रमण बढेको प्रधानमन्त्रीको भनाइ थियो । ‘असाधारण ढंगले हाम्रो तयारी थियो । क्षमताभन्दा बाहिरबाट आउनेको संख्या ठूलो छ । जसले गर्दा क्वारेन्टाइनमा टेस्ट नपुग्नु, क्वारेन्टाइनमा टेस्ट गर्न नसक्नु, प्रतीक्षा गर्नुपर्ने, स्वाब संकलन गरेर पनि क्युमा रहनु, हाम्रो क्षमताले नभ्याउनुजस्ता समस्या आएको हो,’ उनले भने, ‘हामीले अरू देशको जस्तो फाट्टफुट्ट आगमन नभई बाढीको जस्तो सामना गर्नुप¥यो । बाहिरबाटै संक्रमित भएरै आउनेको संख्या ठूलो भएकाले परीक्षण सजिलो रहेन ।’

सुरुवातदेखि नै कोरोनाविरुद्ध लड्नका लागि नेपालले राम्रो तयारी गरेकाले अन्य देशभन्दा कम मानिसमा कोरोना संक्रमण भएको उनको दाबी थियो । ‘हामीले सुरुदेखि तयारी गरेकाले तुलनात्मक ढंगले अरू देशमा भन्दा कम मानिस मरे । संक्रमितको संख्या पनि कम छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भारतबाट रोक्नै नसकिने फ्लो आए, तर हामीले थाम्यौँ । अहिले पनि डेढ लाख मानिस क्वारेन्टाइनमा छन् । स्वाब टेस्ट गरिरहेका छौँ, तर भनेका वेला सामग्री पाउन सकेनौँ ।’

फागुनसम्म कोरोना नियन्त्रण हुने :

प्रधानमन्त्री ओलीले फागुनसम्म कोरोना नियन्त्रणमा आउने बताए । साउनको अन्त्यसम्ममा यो उच्चबिन्दुमा पुग्ने उनको भनाइ थियो । ‘साउनको अन्त्य वा भदौको सुरुतिर पिकमा पुग्ने अनुमान गर्छौँ । त्यसपछि यो ओरालो लाग्छ । र, यसलाई हामी क्रमशः नियन्त्रण गर्न सक्छौँ,’ उनले भने । 

दशैँ, तिहार र छठजस्ता चाडहरू आउन लागेकाले त्यसमा संक्रमण बढ्न सक्ने उनको भनाइ थियो । ‘चाडहरूले फेरि संक्रमण बढाउँछन् भन्ने पनि अवस्था छ । यस खतराले फेरि हाम्रो ग्राफ बढाइदियो भने हामीले मंसिरमा अलिकति उँदो झर्दै गरेको ग्राफचाहिँ फेरि अलिकति मास्तिर जान सक्छ,’ प्रधानमन्त्री ओलीले थपे, ‘मंसिरको अन्तिमतिरबाट हामीले त्यस ग्राफलाई फेरि तल लैजान सक्छौँ । र, पुस–माघसम्म यसलाई नियन्त्रण गर्न सक्छौँ । फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हुन्छ ।’( source : naya patrika )