क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले रोजगारीका सिलसिलामा मलेसियामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो राहदानी (पासपोर्ट) सधैं आफूसँगै राख्न आग्रह गरेको छ।
क्वालालम्पुरस्थित नेपाली राजदूतावासले मंगलबार एक सूचना जारी गर्दै मलेसियामा बसोबास तथा यात्रा गर्दा त्यहाँका प्रचलित कानुन तथा नियमहरूको पालना गर्न र आफ्नो राहदानी आफैंसँग सुरक्षित राख्न नेपाली नागरिकलाई अनुरोध गरेको हो।
दूतावासले नेपाली श्रमिकलाई रोजगारी दिने सबै रोजगारदातालाई पनि कामदारले आफ्नो राहदानी आफ्नै साथमा राख्न पाउने व्यवस्था मिलाउन तथा त्यसको सुनिश्चितता गर्न आग्रह गरेको छ।
दूतावासका अनुसार कानुनले अनुमति दिएको अवस्था र सम्बन्धित श्रमिकको स्पष्ट सहमति भएको अवस्थाबाहेक रोजगारदाताले नेपाली श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा राख्नु हुँदैन।
यदि कुनै नेपाली नागरिकको राहदानी निजको सहमतिबिना रोजगारदाता वा अन्य कुनै पक्षले नियन्त्रणमा राखेको छ भने दूतावासमा सम्पर्क गरी जानकारी गराउन आग्रह गरिएको छ।
पीडित वा समस्यामा परेका नेपालीले दूतावासको WhatsApp नम्बर +60162472777 वा इमेल labour.eonkl@mofa.gov.np मार्फत जानकारी गराउन सक्नेछन्।
दूतावासले मलेसियाको कानुन पालना गर्दै नेपाली श्रमिकको अधिकार, सम्मान र कल्याणको संरक्षण गर्न सहयोग पुर्याउने सबै रोजगारदाता तथा नेपाली नागरिकप्रति आभारसमेत व्यक्त गरेको छ।





















