मलेसियाको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिल-जुन) मा अप्रत्याशित रूपमा उल्लेख्य वृद्धि।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अर्थतन्त्रले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिल-जुन) मा अप्रत्याशित रूपमा ५.८ प्रतिशतको बलियो आर्थिक वृद्धिदर (GDP) हासिल गरेको छ। यो वृद्धिदर अर्थशास्त्रीहरूले अनुमान गरेको ५.२ प्रतिशत र पहिलो त्रैमासिकको ५.४ प्रतिशत भन्दा निकै बढी हो।

देशको अर्थतन्त्रमा आएको यो सकारात्मक परिवर्तनपछि प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले “अल्हमदुलिसल्लाह” भन्दै भगवानप्रति कृतज्ञता र खुसी व्यक्त गर्नुभएको छ। उहाँले विश्वव्यापी आर्थिक चुनौती र भूराजनीतिक तनावका बीच पनि देशले यो सफलता पाउनु गौरवको कुरा भएको बताउनुभएको छ।

यस त्रैमासिकमा आर्थिक वृद्धिको मुख्य संवाहक उत्पादन (Manufacturing) र खानी (Mining) क्षेत्र रहेका छन्। विशेष गरी विश्व बजारमा सेमिकन्डक्टर (चिप) र इलेक्ट्रोनिक्स सामग्रीको बलियो निर्यात तथा मलेसियाभित्रै बढेको उच्च आन्तरिक मागका कारण उत्पादन क्षेत्रले गति लिएको हो।

कृषि क्षेत्रमा केही गिरावट देखिए पनि निर्माण र सेवा लगायतका अन्य प्रमुख आर्थिक क्षेत्रहरूमा निकै राम्रो सुधार दर्ता भएको छ। यसले गर्दा मलेसिया सन् २०२६ को पहिलो ६ महिनामा ५.६ प्रतिशतको औसत आर्थिक वृद्धिदर कायम गर्न सफल भएको छ।

आर्थिक वृद्धिदरमा उत्साहजनक सुधार आउनुका साथै देशको महँगी (मुद्रास्फीति) दर पनि घटेर १.९ प्रतिशतमा झरेको छ। प्रधानमन्त्री अनवरले आर्थिक विकासको यो ढोका खुलेसँगै मुद्रास्फीति नियन्त्रणमा आउनुले सर्वसाधारण नागरिकलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ।

सरकारले अघि सारेका आर्थिक नीतिहरू प्रभावकारी रूपमा लागू हुँदै गएको र यसले आगामी दिनमा मलेसियाको अर्थतन्त्रलाई अझ बढी सुरक्षित, स्थिर र प्रतिस्पर्धी बनाउने दाबी गरिएको छ।