क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले सबै नेपाली नागरिकलाई आफ्नो राहदानी सधैं आफूसँगै राख्न आग्रह गरेको छ। दूतावासले जारी गरेको सूचनामा मलेसियाको प्रचलित कानुनअनुसार विदेशी नागरिकले आफ्नो राहदानी आफैंसँग राख्नुपर्ने उल्लेख गर्दै रोजगारदाताले पनि श्रमिकको राहदानी नियन्त्रणमा नराख्ने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको छ।
दूतावासले श्रमिकको सहमतिबिनै रोजगारदाता वा अन्य व्यक्तिले राहदानी आफ्नो नियन्त्रणमा राखेको अवस्थामा तत्काल दूतावासलाई जानकारी गराउन पनि आग्रह गरेको छ। उक्त सूचना दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो।
सूचना अनुसार पीडित वा समस्यामा परेका नेपालीले दूतावासको WhatsApp नम्बर +60162472777 वा इमेल labour.eonkl@mofa.gov.np मार्फत जानकारी गराउन सक्नेछन्।
तर दूतावासको सूचनापछि धेरै नेपाली श्रमिकले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार मलेसियाका धेरै कम्पनीले अहिले पनि श्रमिकको राहदानी आफ्नै नियन्त्रणमा राख्ने गरेका छन्। केही श्रमिकले कम्पनीबाट राहदानी माग्दा हजारौं रिंगेट धरौटी (डिपोजिट) मागिने गरेको समेत बताएका छन्।
एक नेपाली श्रमिकले टिप्पणी गर्दै लेखेका छन्, “कुनै काम परेर कम्पनीसँग पासपोर्ट माग्दा ४ हजार रिंगेट डिपोजिट गर्नुपर्छ।” अर्का एक श्रमिकले दूतावासलाई फेसबुकमा सूचना मात्र जारी गरेर नबस्न आग्रह गर्दै कम्पनीहरूमा पुगेर वास्तविक अवस्था बुझ्नुपर्ने बताएका छन्। उनका अनुसार धेरै सुरक्षा (सेक्युरिटी) कम्पनीमा कार्यरत नेपालीले अझै पनि आफ्नो राहदानी हातमा पाएका छैनन्।
यस्तै, अन्य श्रमिकहरूले कम्पनीले राहदानीको फोटोकपीसमेत नदिने, राहदानी छुनसमेत नदिने र त्यस्ता रोजगारदातामाथि कडा कदम चाल्नुपर्ने माग गरेका छन्। केहीले राहदानी फिर्ता नदिने कम्पनीहरूको विवरण आफूहरूले उपलब्ध गराउने भएकाले त्यस्ता रोजगारदातालाई नेपाली श्रमिक पठाउन रोक लगाउनुपर्ने सुझाव पनि दिएका छन्।




















