मलेसियामा विदेशीलाई दिइने प्रोफेशनल भिसामा कडा कडाइ, दुरुपयोग गर्नेलाई अब छुट छैन।

क्वालालम्पुर := मलेसिया सरकारले विदेशी दक्ष कामदार (Foreign Professionals) को भिसा स्वीकृत गर्ने प्रक्रियालाई थप कडा बनाउने घोषणा गरेको छ। प्रधानमन्त्री दातोक सेरी अनवर इब्राहिमले संसद् मा सम्बोधन गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (AI) र सेमिकन्डक्टर जस्ता उच्च प्राविधिक क्षेत्रका नाममा जारी हुने ‘फास्ट-ट्र्याक’ भिसा प्रणालीको दुरुपयोग बढेकाले यसमा कडाइ गर्न लागिएको जानकारी दिनुभयो।

केही कम्पनीहरूले विदेशी विज्ञ आवश्यक परेको भन्दै प्राविधिक अनुमति लिने तर उनीहरूलाई वास्तविकतामा भने सामान्य प्रशासनिक वा मानव संसाधन (HR) जस्ता पदमा काम गराएर नियम उल्लंघन गरेको पाइएपछि सरकारले यस्तो कदम चालेको हो।

प्रधानमन्त्री अनवरले मलेसियाका नागरिकहरू आफैं सक्षम भएका साधारण र प्रशासनिक कामहरूका लागि विदेशी कामदार ल्याउने तर्क स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। अब उप्रान्त भिसा स्वीकृत गर्ने विभिन्न एजेन्सीहरूले आफ्नो मनोमानी ढंगले आवेदन स्वीकृत गर्न पाउने छैनन् र प्रत्येक आवेदनलाई कडा सर्तहरू अन्तर्गत राखेर सूक्ष्म रूपमा जाँच गरिनेछ।

सरकारको यो नयाँ नीतिको मुख्य उद्देश्य डिजिटल इकोसिस्टम र प्रविधिको क्षेत्रमा वास्तविक अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मात्र स्वागत गर्दै स्थानीय युवा तथा नागरिकहरूका लागि रोजगारीका अवसरहरू सुरक्षित गर्नु रहेको छ। यसका साथै, मलेसिया सरकारले नियम कानुन पालना गर्ने कानुनी विदेशी कामदारहरूलाई पूर्ण संरक्षण दिने प्रतिवद्धता जनाएको छ।

तर, अनुमति बिना व्यवसाय चलाउने, भिसाको नियम उल्लंघन गर्ने वा गैरकानुनी रूपमा बस्ने विदेशीहरू र उनीहरूलाई प्रश्रय दिने स्थानीय नागरिकहरूमाथि समेत कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। नियम विपरीत सञ्चालन गरिएका व्यावसायिक परिसरहरू समेत जफत गरिने उल्लेख गर्दै प्रधानमन्त्री अनवरले देशको कानुनी प्रणाली र राष्ट्रिय सुरक्षामा कुनै सम्झौता नगरिने प्रस्ट पार्नुभयो।