तपाईं हामी धार्मिक कि आध्यात्मिक ?

कट्टर धार्मिकहरू सम्पूर्ण मानवजातिलाई प्रेम गर्दैनन् । आफ्नै वर्ग, आफ्नै जाति र आफ्नै समूहलाई भने असाध्यै प्रेम गर्दछन् । आफ्नो समूहभन्दा पृथकलाई घृणाको दृष्टिले हेर्छन् र त्यस्तै ब्यवहार गर्छन् । आध्यात्मिक ब्यक्तित्वहरू आफ्नो धर्म, आफ्नो समूह, आफ्नै जातपातबाट धेरै माथि उठेर सम्पूर्ण प्राणी जगतलाई प्रेम र आदरभाव प्रकट गर्दछन् । हरेक धर्ममा आध्यात्मिक ब्यक्तिहरू त धेरै भेट्न सकिन्छ तर सबै धार्मिकहरू आध्यात्मिक हुँदैनन् । यसबाट यस्तो निष्कर्ष निकाल्न सकिन्छ ‘सबै आध्यात्मिकहरू धार्मिक हुन्, सबै धार्मिकहरू आध्यात्मिक होइनन ।’ 

आध्यात्मिक चिन्तनले सम्पूर्ण मानव जगतलाई जोड्ने काम गर्दछ भने कट्टर धार्मिक विचारले एक आपसमा मतभेद र मनभेद सिर्जना गर्दछ । यो धर्म ठूलो, यो धर्म पुरानो, त्यो धर्म अनुशरण गर्नेहरूको संख्या ठूलो, त्यो धर्म अनुशरण गर्नेको संख्या कम आदि इत्यादि । कहिलेकहीँ त धर्म विवादमा युद्धसमेत हुने गरेको छ । आध्यात्मिक चिन्तनले यस्तो अपराध कर्म स्वीकार गर्दैन ।

आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुँदैन । तपाईं हाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो । कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिइँदैन । आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन । 

धर्मले सत्य बताउँछ । यसो गर्नु हुन्छ र यसो गर्नु हुँदैन । आध्यात्मले अन्वेषण गर्दछ कि यी सम्पूर्ण भनाइहरू नै अन्तिम सत्य हुन् त ? अर्थात प्राणी र पृथ्वीको कसरी उत्पत्ति भयो भन्ने कुरा हरेक धर्मले अलग अलग ब्याख्या गरे पनि आध्यात्मिक चिन्तन एउटा सत्यको नजिक पुग्ने प्रयाश गर्दछ ।

असल कर्म र सजायको व्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्दछ । यस्तो यस्तो कर्म ग¥यो भने सजाय मिल्छ भनेर धर्ममा उल्लेख गरिएको हुन्छ । आध्यात्मिक चिन्तनमा असल कर्मप्रति आकर्षणको ब्याख्या गरिएको हुन्छ । सदैव असल कर्म ग¥यो भने नर्कको डर मान्नु नै पर्दैन । धर्म त एउटा कानुनजस्तो मात्र प्रतित हुन्छ, धारण गरिएन भने ठूलो सजाय मिल्छ । आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो ।

आध्यात्म स्वतन्त्र छ । पुराना कहावत वा भगवानहरूको अर्ती उपदेशमा मात्र आफूलाई समाहित बनाउनुपर्छ भन्ने छैन । आफैँले स्वतन्त्र चिन्तनद्वारा आफ्नै लागि आध्यात्मिक बाटो निर्माण गर्न सकिन्छ । यद्यपि त्यस्ता अर्ती र उपदेशलाई उत्प्रेरणास्वरूप ग्रहण गर्न सकिन्छ । सदैव त्यही नै अन्तिम सत्य हो भन्ने होइन । समयसापेक्ष आत्म समीक्षासहितको निर्णय नै आदर्श जीवनशैली हो । 

तसर्थ हामीले विश्वास गर्ने विभिन्न राजनीतिकवादहरू प्रजातान्त्रिक समाजवाद, साम्यवाद, माक्र्सवाद, माओवादजस्तै रहेछन् विभिन्न धर्महरू पनि । आफूले अनुशरण गरेको सधैँ सत्य अरू सबै गलत भनेजस्तै । तर, स्वतन्त्र ब्यक्ति सदैव असल कुराहरू मात्र विभिन्न वादहरूबाट ग्रहण गर्दै आफ्नो स्वतन्त्र आदर्श जीवनशैलीको अनुशरण गर्दछ । यो समभावसहित सामाजिक सद्भाव कायम गर्न रुचाउँछ आध्यात्मिक व्यक्तिसरह ।

अन्त्यमा हामी के हौँ त धार्मिक या आध्यात्मिक ? भनेर बहसका लागि मार्ग प्रशस्त गर्दै भद्र सहमति वा विमतिको सदैव स्वागतको अपेक्षासहित यो छोटो आलेखको बिट मार्ने अनुमति चाहन्छु ।

(लेखक दाहाल शिष्टाचार अभियान नेपालका अध्यक्ष हुनुहुन्छ ।)