मेरा गुरु साह्रै सिपालु !

टिनले छाएको लामो घरको माथिल्लो तलामा काठको रेलिङ्ग लगाइएको दुई फिट चौडा बार्दली हुने गथ्र्यो । धानखेतको बीचमा पश्चिम फर्केर उभिएको त्यो घरमा, गर्मीयाममा हर..र.. हावा चल्ने भएकाले हामीले घरको नाम हावामहल राखेका थियौं । निरु दिदीको त्यो घर मेरोलागि ऐतिहासिक विषयबस्तु सरह हो । कारण हो, त्यहीँ बसेको बेला मैले मेरा गुरुको अभूतपूर्व दर्शन पाएको थिएँ ।

मोरङ कलेज विराटनगरमा आइएस्सी पढ्दै गरेको बेला केमेस्ट्री प्रयोगशालामा भारतबाट आयातित कायस्थ थरका एकजना इन्स्ट्रक्टर हुने गर्थे । उनी पान, खैनी खान र नाता जोडेर गफ गर्नमा जति उस्ताद मानिन्थे, त्यत्तिकै उस्ताद थिए विद्यार्थीलाई फकाएर ट्युसनमा तानेर थप कमाइ गर्न । यिनले कुन ढोकाबाट छिरेर कसरी र कहिले नेपाली नागरिकता फेलापारे, त्यो कुरा दैव जानोस् । उल्टोपाल्टो लेखपढ गर्न र झगडा लगाउन सिपालु हुने भएकाले त्यो बेला मधेशका मानिस कायस्थहरूदेखि टाढा बस्न रुचाउँथे । बाठो यति धेरै कि समुद्रको छाल गन्ने काममात्र पाए पनि उनीहरूले रुपैयाँ कमाउने बाटो निकाल्छन् भन्ने उखान मधेशमा चर्चित थियो ।

जागिर सुरु गरेको केही वर्षपछि सरुवा भएर म विराटनगर पुग्दा कायस्थ गुरु निर्माण कार्यका ठेकेदार बनेका रहेछन् । मेरो कार्यक्षेत्र अन्तर्गत परेका दुई ठेकेदार मध्येका एक थिए मेरा कायस्थ गुरु, दोस्रो थियो दौलतराम । ‘आँख बन्द डिब्बा गायब’ को खेलमा उस्ताद मानिने दौलतराम कामको गुणस्तर चोर्नमा अब्बल थियो र चोरी फेलापरेको बेला ‘दो जुती सर पे मारिए हजुर, यह काम होने दिजिए’ भन्दै खुट्टा समातेर ढोग्नसमेत तयार हुन्थ्यो । कंगालरामको ब्यबहार भएको ऊ नामले मात्र दौलतराम थियो ।

ठेकेदार बनेका मेरा कायस्थ गुरु झन् के कम हुन्थे, गुरुको नाता लगाएर, ‘बेटा’ भन्दै, हुने नहुने सबैखाले काम मसँग लिन्थे । मेरोलागि भनेर खल्तीमा हात पु¥याउने काम भने पटक्कै नगर्ने उनी, जे जति नगद हात लाग्थ्यो, त्यो सबै आफ्नो एकलौटी गुरुदक्षिणा ठानेर खल्तीमा भित्र्याउने गर्थे ।

पानको बुजो मुखमा हालेका उनी, हातमा खैनी मोल्दै मसँगै निर्माणस्थलमा आउने–जाने गर्थे । अरुका गुरुले ज्ञान दिन्थे, मेरा गुरुले भने मलाई खैनी दिने गर्थे । उनले मोलेर दिएको खैनीको फाँको मुखमा हाल्ने प्रयास गर्दा, सुरु सुरुमा त नाकभित्र खैनी पसेर आधी घण्टासम्म हाच्छिउँ आउने गथ्र्याे । प्रयास गर्दा नहुने कुरा के नै हुन्छ ¤ खैनीको फाँको तल्लो ओठमा च्यापेर थन्काउने बानी पर्न बेर लागेन । ‘पचपन्न घुस्सा, त्रिपन्न ताल’ दिएर बनेको खैनीको फाँको मुखभित्र हु¥याएर पिच्च भुईमा थुक्नुको मज्जै अर्कै ! गुरुले सिकाएको त्यस्तो गुणी कुरा कसरी छोड्ने ? व्यहोरा सप्रिन सकेन र त्यो फोहोरी धन्धा अहिलेसम्म पनि चालु छ ।

मधेसका मानिस नाता जोड्न बिछट्ट सिपालु हुन्छन् भन्ने कुरा त मैले बुझेको थिएँ । तर मेरा कायस्थ गुरु, नाता लगाएर काम पट्याउन त्यत्ति धेरै सिपालु होलान् भन्ने चाहिँ मैले ठानेको थिइनँ । जेठीसासुको नातिको मितछोरा पनि आफ्नो नभए को हुन्छ त ? भन्दै नाता पर्गेलेर काम फत्ते गर्ने उनको खुबी थाहा पाउँदा म तीन छक्क परेको थिएँ । उनले नजानेको भन्ने कुरा केही छैन होलाजस्तो लाग्थ्यो मलाई ।

चेलाको धर्मबाट बिचलित भएर मेरा पाइला पछाडि पो सर्ने हुन् कि भन्ने रोइलोले उनलाई भित्रभित्रै पिरोल्ने गथ्र्याे सायद । त्यही कारणले होला, बेला मौकामा धार्मिक प्रसंगको उठान गर्न चुक्दैनथे र, गुरु–चेलाको सम्बन्ध सधैंभरी सुमधुर हुनुपर्छ भन्दै पौराणिक आख्यानहरू सुनाउन पनि पछि पर्दैनथे । एक दिन उनले उमेरमा आफुलाई नास्तिक भन्न रुचाउने मानिस, बुढाबुढी भएपछि किन सत्संगतिर लाग्छन् भन्ने बारेमा गजबको गुहृय जानकारी दिएका थिए । धर्मका धाममा प्रवचन दिने वाचाल पण्डितहरूले गजबका शब्दहरू प्रयोगमा ल्याउने गर्छन् । आश्रमभित्र छिर्ने प्रत्येक व्यक्तिलाई उनीहरूले ‘सन्त’, ‘महात्मा’, ‘प्रभु’ जस्ता शब्दले सम्बोधन गर्ने गर्छन् ।

घरमा बस्दा छुच्चो, कचकचे, अल्छीजस्ता शब्दबाट विभूषित बुढाबुढी ‘सन्त’, ‘महात्मा’, ‘प्रभु’ जस्ता शब्द सुन्न पाउँदा गद्गद् नहुने कुरै हुँदैन । त्यस्ता शब्दले दंगदास परेका बुढाबुढीबाट सोचेकोभन्दा बढी दक्षिणा झर्नु सामान्य कुरा भइहाल्यो । सन्त, महन्त नगदनारायण हात पारेर मक्ख पर्ने, बुढाबुढी ‘महात्मा र प्रभु’ जस्ता सम्बोधन सुनेर दंग पर्ने । सत्संगको तीनचार घण्टाको त्यो अवधिमा घरका जहानले चैनको सास फेर्ने मौका पनि पाउने । तेहेरो फाइदा, काइदै काइदा ।

मलाई कसरी खुशी पार्न सकिन्छ भन्ने कुरा हर समय मनमा खेलाई बस्ने मेरा उनै कायस्थ गुरुले एक दिन ‘बेटा ! पता है कि नहीं, फारबिसगंज मे मेला लगा हुवा है’ भने । त्यो मेलामा सायरा बानो अभिनित ‘आई मिलन कि बेला’ भन्ने नयाँ हिन्दी फिल्म चल्दै गरेको कुरा पनि उनैले सुनाएका थिए र सायरा बानोको फिल्म त्यो पनि नयाँ ¤ छोड्ने कुरै हुदैनथ्यो । मेला हेर्न जाने रहरले बेस्सरी चिलाउने लुतोको स्वरूप लिन बेर लगाएन र त्यो दिन त्यस्तैउस्तै गरि बित्यो । अर्को दिनदेखि त चिलाएर उखरमाउलो नै हुनथाल्यो ।

बजार घुमिन्थ्यो । सिनेमा हेरिन्थ्यो । मिठाइ र चटपटे खाइन्थ्यो र साथीहरूसँग खुब हो–हल्ला पनि गरिन्थ्यो । ती सब नियमित प्रक्रिया अन्तर्गतका कुरा थिए । तर मेला जात्राको खानपिन र मोजमस्तीको कुरै अर्कै । गुरुले तय गरेको तिथिमितिमा होहल्ला गर्ने ग्रुपलाई अगाडि लगाएर, मोहन भट्टराई र म पनि मेला हेर्न फारबिसगंज पुग्यौं । मालसामान किन्ने, बाइस्कोप हेर्ने, रोटेपिङ खेल्ने, जादू, नौटंकी, सर्कस र सिनेमा हेर्ने मानिसको घुइँचो थियो । घन्टौंसम्म हो–हल्ला गर्दै मेला घुमेर सिनेमा हेर्न पसेका हामी हलबाट बाहिर निस्किँदा बिहानको दुई बजेको थियो । जोगबनी जाने रेल आउने बेला हुन लागेकोले रेल्वे स्टेशनतर्फ लाग्यौं ।

त्यतातिर चल्ने रेल कहिले तीनदेखि ६ घण्टासम्म लेट हुन्थ्यो । एकाध घन्टाको ढिलो हुनु भनेको सामान्य कुरामा पथ्र्यो । त्यो दिनको बिहानको पहिलो रेल भने समयमै आइपुगेको थियो । फारबिसगंजको मेला हेरेर जोगबनी फिर्ने यात्रीको बाक्लो भिडमा हामीहरू पनि सामेल भयौं । जोगबनी पुग्दा बिहानको चार बज्दै थियो । जाडोको रात । उज्यालो हुन निकै समय बाँकी थियो । स्टेशनमा ओर्लिएका, नेपालतर्फ जाने यात्रीहरू उज्यालोको पर्खाइमा यताउता गर्दै थिए । स्थानीय यात्री भने गम्छाले मुख छोपेर बेन्चमा लम्पसार परे । रेलगाडी त्यहाँ भएका यात्री बोकेर सिट्ठी बजाउँंदै कटिहारतर्फ फर्किसकेको थियो । एकक्षण अगाडिको स्टेशनको चहलपहल सुनसानमा परिणत भयो । हामीहरू टहलिंदै प्लेटफर्मको उत्तरतर्फको टी स्टलतर्फ लाग्यौं ।

रेल्वे लाइनको दुवैतर्फ खुला मैदान थियो । पारिपट्टीको चौरमा मिर्मिरे उज्यालो हुन पनि नपाउंदै घुम्टोले अनुहार छोपेर टाउको निहुराएका बाक्लै महिलाहरू टक्र्याक टुक्रुक बसेका देखिन्थे । उज्यालो भुइँमा खस्न नपाउँदैदेखि सुरु हुन्थ्यो तिनीहरूको चटारो । लोटा लिएर मैदानतिर कुद्न हतार नहुने दिन हुँदैनथ्यो । भालेको पहिलो डाँकोमा नउठे नित्यकर्म भ्याउन धौ धौ पथ्र्यो । एक क्षणमात्र ढिलो भए पनि छोरा मान्छे मैदान कब्जा गर्न पुगिसकेका हुन्थे । देख्लान् भन्ने सधैंको पिरोलो, मैदानमा खाली ठाउँ भेट्न हतार भएको त्यस्तो बेलामा कताको लाज, लाज भन्ने कुरो आँखामा त बस्ने हो ।

यस्तै बेला आउने हो घुम्टोको काम । टाउकोदेखि चिउँड़ोसम्म नै छोपिनेगरी घुम्टो तान्न भ्यायोमात्र भने लाजभांड छोपिइहाल्थ्यो । तल्लो भाग खुला रहेर के हुन्छ ¤ सबैको उस्तै त हो । त्यसमा पनि, नाङ्गो मानिसलाई पछाडिबाट देख्दा को हो ? भनेर कसले पो ठम्याउन सक्ने र ! कसैको पनि घरमा शौचालय हुँदैनथ्यो । अँध्यारैमा नित्यकर्म नभ्याउने महिलाको दिन सकसपूर्ण बन्थ्यो । सौच गर्नको लागि रहरघारी या बाँसको झाङ् खोज्दै धेरै टाडासम्म पुग्नुपथ्र्यो ।

केहीबेर अगाडि आएको रेलले शन्टिङ्ग -याडमा फ्याँकेको आधाउधी डढेको कोइला रेल्वे लाइनको दुईतिर फ्याँकिएको हुन्थ्यो । हातमा बोरा लिएर अँध्यारैमा कोइलाका टुक्रा टिप्न त्यहाँ पुगेका गृहिणी र बच्चाहरूको बीचमा खोसाखोस चल्थ्यो । उनीहरूले चर्को र ठूल्ठुलो स्वरमा झगडा गरेको सुन्दा दुबैपक्ष बहिरा हुन् कि क्या हो भन्ने लाग्थ्यो । यथार्थ त्यस्तो होइन रहेछ । कानको सहनशक्तिभन्दा ठूलो आवाज निस्किने मिल्समा काम गर्ने मजदुर र रेल्वे लाइनको छेउछाउमा बसोबास गर्ने मानिसले एकापसमा ठूल्ठूलो स्वरमा बोल्नुपर्ने बाध्यता हुँदोरहेछ । उनीहरूको त्यो बाध्यता बिस्तारै स्वभाव बन्न पुग्थ्यो ।

उषाको आगमनसँगै स्टेशनको पूर्वपट्टीका, बोराको पर्दा लगाएर बन्द गरेका होटेल खुल्दै गए । होटेलको ओसारामा बनेका चुलोमा कोइला सल्किन थालेसँगै कुइरीमण्डल धुवाँ निस्किन थाल्यो । कोइलाको धुवाँ स्टेशनदेखि शन्टिङ यार्ड हुँदै रेल्वेलाइन पारीको चौरमा पुगेर तुँवालोको रुप धारण गर्दै गरेको देखिन्थ्यो । धुवाँले धमिलो बन्दै गएको वातावरणसँगै दतिउन घोट्दै छेउको ट्युबबेलमा हातमुख धुनेको आवाजाही बढ्न थाल्यो । रिक्साको ट्रीन.. ट्रीन.. र गाडीको भोंपू ..भोंपूको आवाजसँगै जोगबनी सीमानामा चहलपहल सुरु भएको थियो ।

एकक्षण अगाडिका अभूतपूर्व दृष्यको साक्षात्कारको अवसर प्रदान गरेर मलाई आत्मानुभूतितर्फ उन्मुख गराउने प्रयासमा जुटेका मेरा गुरु साह्रै सिपालु रहेछन् भन्ने कुरा बुझेको त्यो क्षणमा मैले उनलाई त्यहींबाट सलाम ठोकेको थिएँ ।