क्वालालम्पुर (मलेसिया):= मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन” ले एक विशेष अपरेसनमार्फत इन्डोनेसियाली आप्रवासी तस्करीमा संलग्न संगठित गिरोहलाई नियन्त्रणमा लिएको छ।
गोंबाक र दक्षिण टर्मिनल क्षेत्रमा गरिएको धरपकड र छापामारीको क्रममा मानव तस्करीमा प्रयोग हुने सवारीसाधनसहित १० जनालाई पक्राउ गरी नियन्त्रणमा लिइएको हो।
विभागका अनुसार यो गिरोहले सिंगापुर र थाइल्यान्डको नयाँ रुट प्रयोग गरी प्रति व्यक्ति आरएम ३,५०० देखि आरएम ४ हजार रिंगेटसम्म पैसा असुलेर अवैध रूपमा मलेसिया भित्र्याउने गरेको खुलेको छ।
पक्राउ परेकाहरूमाथि मानव तस्करी तथा आप्रवासन ऐनअन्तर्गत कडा कारबाही प्रक्रिया अगाडि बढाइएको छ। विभागले मलेसिया आउने विदेशीहरूलाई अवैध मार्गको प्रयोग नगर्न र कानुनी प्रक्रियाबाट मात्र यात्रा गर्न सबैमा आग्रह गरेको छ।




















