सुर्तीजन्य पदार्थ प्रयोगको भयावह अवस्था

विश्वभरी वार्षिक ८० लाख मानिसको ज्यान लिने, सुर्तीजन्य पदार्थ एक मुख्य विश्वव्यापी जनस्वास्थ्य समस्या हो । यो एउटा रोकथाम गर्न सकिने असामयिक मृत्युहरूको कारकको रुपमा रहदै आएको छ । यो मृत्युमा मात्र सीमित नभएर, यसले घरका आधारभुत आवश्यकतामा हुने खर्चलाई सुर्तीजन्य पदार्थमा खर्च गरी, घरपरिवारलाई गरिबीतर्फ धकेल्न सहयोग गर्दछ । सुर्तीजन्य पदार्थको प्रयोगको कारणले नेपालले प्रतिवर्ष २७,१०० मानिसको मृत्यु र २३ अर्ब रुपैयाँको आर्थिक क्षति भोगिरहेको छ, जुन कुल ग्राहृयस्थ उत्पादनको ०.८% (२०७४÷७५) हुन्छ । सुर्तीजन्य पदार्थको स्वास्थ्य र आर्थिक क्षेत्रमा विनाशकारी असर भएता पनि, धेरै युवाले यसको प्रयोग दिनहँु गरिरहेका छन् । सुर्तीजन्य पदार्थको असरबाट नयाँ तथा भविष्यका पुस्ताहरूलाई बचाउनको लागि प्रभावकारी नीति र कार्यान्वयनको आवश्यकता छ । साथै कोभिड–१९ को संक्रमण धुम्रपान गर्ने व्यक्तिहरूमा बढी हुने प्रमाणहरू देखिएकोले, धुम्रपानको प्रयोग दर घटाउन बढी प्राथमिकता दिन पर्ने देखिन्छ ।

धेरैजसो सुर्तीजन्य पदार्थ प्रयोगकर्ता, मुख्यगरी धुम्रपान गर्नेहरूले धुम्रपानको शुरुवात किशोरावस्थामै गर्ने प्रमाणहरूले देखाएको छ । विश्व स्वास्थ्य संगठनको स्टेप्स सर्वेक्षणले पनि नेपालीहरूको सुर्तीजन्य पदार्थ प्रयोगको शुरुवात औषत उमेर १७ वर्ष रहेको पाएको छ । त्यसैले किशोरावस्थाको उमेर, जब व्यक्तिमा विभिन्न शारीरिक र मानशिक परिवर्तन हुन्छ, यो समय सुर्तीजन्य पदार्थ सेवन शुरुवात गर्नको लागि पनि एक महत्वपूर्ण अवधि हो । यो उमेर किशोरकिशोरीहरूले सुर्तीजन्य पदार्थको शुरुवात गर्ने समय हो र जब शुरुवात गर्दछन्, यसको लतको कारणले उनीहरूलाई यसको बानी त्याग्न कठिन हुन्छ । यो उमेर समुहका व्यक्तिहरू नराम्रो बानीहरू जस्तै सुर्तीजन्य पदार्थ सेवन गर्ने, मदिरा तथा ड्रगहरू सेवनको प्रयास गर्नको लागि साथीहरू र परिवारको सदस्यहरूबाट प्रभावित भएका हुन्छन् । त्यसैले सुर्तीजन्य पदार्थको प्रयोग दर घटाउनको लागि युवाहरूलाई सुर्तीजन्य पदार्थ शुरुवात गर्नबाट रोक्नुपर्ने हुन्छ । 

भर्खरको नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थमा गरिएको राष्ट्रव्यापी सर्वेक्षण एनसेप्ट २०२० ले १८ देखि ४० उमेर समूहका पुरुषहरूमा सुर्तीजन्य पदार्थको प्रयोग दर ४३% पाएको छ । त्यस्तैगरी १८ देखि ३० उमेर समूहका पुरुषहरूमा ३८.५% र यो बढेर ३१ देखि ४० को उमेर समूहका ५१.१% पाएको छ । सुर्तीजन्य पदार्थ प्रयोग गर्ने १८ देखि ४० उमेरका महिलाहरूमा ६%, १८ देखि ३० समूहमा ४.१% र ३१ देखि ४० समूहमा १०.७% रहेको छ । विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय विद्यालयस्तरीय स्वास्थ्य सर्वेक्षणको अनुसार १३ देखि १५ उमेर समूहका किशोरहरूमा सुर्तीजन्य पदार्थको सेवन दर ९.५% र किशोरीहरूमा ४.८% रहेको छ । यी तथ्यांकहरूले देखाउँछ कि सुर्तीजन्य पदार्थको प्रयोगदरमा लैंगिक अन्तर र पुरुषहरूको प्रयोगदरमा वृद्धि भएको छ । नेविअप्रले किशोरकिशोरीको सुर्तीजन्य पदार्थ सम्बन्धी मनोवृत्तिको बारेमा थाहा पाउनको लागि नेपालभरी १३ देखि १८ उमेर समूहका ३३० जना विद्यार्थीहरूमा गरेको लक्षित समूह छलफलले, किशोरकिशोरीमा सुर्तीजन्य पदार्थको प्रयोग दर सर्वेक्षणहरूले देखाएका तथ्यांकभन्दा बढी हुन सक्ने सुझाव दिएको छ । हामीले, सुर्तीजन्य पदार्थ सेवन गर्ने छात्र विद्यार्थीहरूले, उनीहरूले सेवन गरिरहेको तथ्य नस्वीकार्ने तर आफ्ना साथीहरूसँग चै भन्ने गरेको साथै विद्यालयका शिक्षक र छात्रा विद्यार्थीहरूले पनि छात्र विद्यार्थीहरूले, विद्यालयको शौचालय तथा विद्यालय हाता बाहिर सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको बताएका छन् । दुईजना कक्षा १० का छात्राले यसरी बताएका छन्, ‘खाजाको समयमा कक्षा ९ र १० का छात्रहरू विद्यालय बाहिर बजार तथा होटलमा गएर सुर्तीजन्य पदार्थ सेवन गर्ने गर्दछन् ।’ साथै अरु धेरै छात्रा विद्यार्थीहरूले उनीहरूको कक्षाका छात्रहरूले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको बताएका छन् ।

नेविअप्रको सर्वेक्षणले युवाहरू सुर्तीजन्य पदार्थले गर्दा स्वास्थ्यमा गर्ने असरहरूको बारेमा राम्ररी सचेत भएको पत्ता लगाएको छ । लगभग १० मा ९ जना युवाहरू सुर्तीजन्य पदार्थको प्रयोगले स्वास्थ्यमा पार्ने असरको बारेमा सचेत छन्, ७२% लाई अप्रत्यक्ष असरको बारेमा थाहा छ र ९५% युवाहरू, युवाहरूमा बढ्दो सुर्तीजन्य पदार्थको प्रयोगको बारेमा चिन्तित छन् तर पनि सुर्तीजन्य पदार्थ प्रयोग गर्ने दर भने बढी नै छ । यसरी सचेतनाको स्तर र सुर्तीजन्य पदार्थ प्रयोगको अनमेलको कारण भनेको सुर्तीजन्य पदार्थ प्रयोगको लागि साथीहरूको प्रभाव तथा दबाव, लत लाग्नु, सुर्तीजन्य पदार्थ सस्तो, सजिलै उपलब्ध र पहुँचमा हुनु आदि हुन् । 

युवाहरूमा सुर्तीजन्य पदार्थ, मुख्यगरी चुरोटको प्रयोग गर्नको लागि प्रोत्साहन गर्ने कारक तत्वहरूमा साथीहरूको प्रभाव तथा दबाव, र परिवारका सदस्यहरूको प्रभाव नै मुख्य रुपमा भएको पाइएको छ । नेविअप्रको सर्वेक्षण अनुशार २५ वर्ष मुनिका सतप्रतिशत चुरोट प्रयोग गर्ने युवाहरूले साथीहरू र परिवारका सदस्यहरूले प्रभाव पारेर प्रयोग शुरुवात गरेको जनाएका छन् । हाम्रो किशोरकिशोरीमा गरेको लक्षित छलफलले पनि यो तथ्यलाई समर्थन गरेको छ । एकजना १४ वर्षको ९ कक्षामा अध्ययनरत छात्रले भनेका छन्, ‘मैले यसको स्वाद थाहा पाउन र साथीहरूले प्रयोग गरेको देखेर शुरुवात गरेको हुँ ।’ त्यस्तै अर्को कक्षा ९ मा अध्ययनरत १६ वर्षको छात्र विद्यार्थीले बताएका छन्, ‘मलाई मेरो साथीहरूले विद्यालय बाहिर सुर्तीजन्य पदार्थ सेवन गर्नको लागि दबाव दिएपछि मैले यसको प्रयोग शुरुवात गरेको हुँ ।’ यिनीहरू अन्य धेरै जना प्रयोगकर्ता विद्यार्थीहरूका प्रतिनिधि पात्रमात्र हुन् । साथै सुर्तीजन्य पदार्थको लागिसकेको लतले गर्दा यसलाई छाड्न नसकिरहेका छन् । सर्वेक्षणले २६% युवा धुम्रपान सेवनकर्ताहरू र २५% धँुवारहित सुर्तीजन्य पदार्थ सेवनकर्ताहरूले विगत एक वर्षमा सुर्तीजन्य पदार्थको प्रयोग त्याग्न प्रयास गरेको तर धेरै जसोले त्यसको लतको कारणले त्याग्न नसकेको कुरा जनाएका छन् । यी तथ्यहरू किशोरकिशोरी विद्यार्थीहरूमा पनि मेल खान्छ, जहाँ केही विद्यार्थीेहरूले प्रयोगको केही महिनामा नै धेरै लत लागेर छाड्न नसकेको जनाएका छन् । 

सुर्तीजन्य पदार्थ किफायती, पहुच योग्य र सजिलै उपलब्ध गर्न सकिने विषयहरू किशोरकिशोरीहरू र युवाहरूको लागि ठुलो मुद्दा हैन । यस कुरामा सुर्तीजन्य पदार्थ उद्योगहरूको रणनैतिक खेलहरूको कुरा आउँछ । उनीहरूले सुर्तीजन्य पदार्थहरू जहाँ पनि बेचिरहेका छन् जस्तै खाद्यान्न तथा खुद्रा पसलहरूमा पनि, जहाँ युवाहरूले सजिलै देख्न सक्दछन् । चुरोटको बट्टा खोलेर एक खिल्ली चुरोट पनि किन्न सकिन्छ जसले गर्दा विद्यार्थीहरूलाई चुरोट सस्तो र किन्न सजिलो भएको छ । नेविअप्रको सर्वेक्षणले अहिलेको युवापुस्तासँग धेरै प्रयोज्य नगद हुन्छन् जसको कारणले पुराना पुस्ताको तुलनामा अहिलेको युवा पुस्तालाई सुर्तीजन्य पदार्थ किफायती हुँदै आएको छ । हाइस्कुलका विद्यार्थीहरूलाई पनि अहिलेको सुर्तीजन्य पदार्थको मूल्य र त्यसको पहुँच हुनु ठुलो विषय होइन किनभने उनीहरूले सुर्तीजन्य पदार्थ जहाँ पनि किन्न सक्दछन् र खाजाको पैसा चुरोट किन्नको लागि प्रशस्त हुन्छ । एकजना कक्षा १० मा अध्ययनरत छात्रले भनेका छन्, ‘म विद्यालय बाहिरको पसलबाट सुर्तीजन्य पदार्थ खरीद गर्दछु । मेरो अभिभावकले मलाई ३० देखि ५० रुपैयाँ खाजाको लागि दिनु हुन्छ र म सधै त्यही पैसा चुरोट किन्नको लागि प्रयोग गर्दछु । मलाई पसलहरूमा किन्न जादा कसैले पनि रोकेको छैन ।’ यसरी सबैजसो पसलमा सुर्तीजन्य पदार्थ पाउने हुनाले किशोरकिशोरी तथा युवाहरूलाई सुर्तीजन्य पदार्थ किन्नको लागि सजिलै पहुँच पुगेको छ । 

नेपालले सन् २००६, नोभेम्बर ७ मा विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि सम्मेलनलाई अनुमोदन गरेको थियो । त्यही सम्मेलनलाई सम्बोधन गर्न नेपाल सरकारले सन् २०११ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ल्याएको छ जसमा सुर्तीजन्य पदार्थ आयात, उत्पादन, विक्री र वितरण, खपत कम गर्न र नियन्त्रण गर्नको लागि कानुनी व्यवस्था गरेको छ । यो ऐनभित्र धेरै माग कम गर्ने तरिका छन् जुन प्रभावकारी तरिकाले लागु गरिएको खण्डमा युवाहरूलाई सुर्तीजन्य पदार्थको महामारीबाट जोगाउन सकिन्छ । उदाहरणको लागि १८ वर्ष मुनिका बालबालिकाहरूलाई बेच्न र खरीद गर्न निषेध गराउने, विद्यालय वरिपरि १०० मीटरभित्र कुनै पनि सुर्तीजन्य पदार्थ बेच्न नपाइने आदि । तरपनि, यी उल्लेखित नियमहरू प्रभावकारी तरिकाले लागु नभएको देखिन्छ किनकी हाम्रो सर्वेक्षणको क्रममा विद्यार्थीहरूलाई कुनै पसलमा पनि सुर्तीजन्य पदार्थ खरीद गर्न रोक लगाइएको पाइएन, यद्यपि, उनीहरू १८ वर्ष मुनिका थिए । साथै हाम्रो सर्वेक्षणको क्रममा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि नीति नियमहरू अझ राम्ररी कार्यान्वयन नभएको देखियो । 

युवाहरूमा भएको सुर्तीजन्य पदार्थको महामारी एक ठुलो चुनौती हो । सानै उमेरदेखि नै सुर्तीजन्य पदार्थ सेवनको शुरुवात गर्ने भएकोले युवाहरूलाई सुर्तीजन्य पदार्थको लतमा फस्नबाट जोगाउनु पर्ने कुरा अत्यन्तै जरुरी छ । सुर्तीजन्य पदार्थको नीति नियमहरूलाई कडाइका साथ कार्यान्वयन गरी सुर्तीजन्य पदार्थको उपलब्धता तथा पहुँचमा कमी ल्याउन अत्यन्त जरुरी छ । साथै सुर्तीजन्य पदार्थमा करको दायरालाई वृद्धि गरी त्यसको किफायतीपन घटाउन, मुख्यगरी युवाहरूको प्रयोगदर घटाउनको लागि एक लागत प्रभावकारी उपाय हो । नेपालमा युवाहरूको सुर्तीजन्य पदार्थ सेवनको भयाभह अवस्थामा, नेपाल सरकारले नीति नियमहरू कार्यान्वयन गराउन, जनचेतना बढाउन, र बानीव्यहोरामा परिवर्तन ल्याउनको लागि ध्यानाकर्षण गर्न जरुरी छ भने, प्रत्येक व्यक्तिले ती नियमहरूलाई पालना गर्नु आवश्यक पनि छ । 

(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम व्यवस्थापन तथा अनुसन्धानकर्ता हुनुहुन्छ ।)