सुर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउनुपर्छ

सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनबाट नेपाललगायत विश्वमा हरेक वर्ष लाखौंको मृत्यु हुने गरेको छ । सुर्ती तथा सुर्तीजन्य पदार्थलाई क्यान्सरको स्रोत मानिएको छ । सुर्तीजन्य पदार्थको सेवन घटाउन कर वृद्धि नै सबैभन्दा प्रभावकारी रहेको भए पनि नेपालमा सुर्ती तथा सुर्तीजन्य पदार्थमा सरकारले न्यून कर लगाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले हालै सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरू कोरोनाको समेत उच्च जोखिममा रहेको उल्लेख छ । प्रतिवेदनका अनुसार चुरोटमा लाग्ने कर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको कम्तिमा ७० प्रतिशत हुनुपर्नेमा नेपालमा २७ प्रतिशतमात्र रहेको छ । नेपालले सुर्तीजन्य पदार्थमा खुद्र्रा मूल्यको १५.५ प्रतिशतमात्रै कर लगाएको छ । जुन दक्षिण एशियाली देशमध्ये सबैभन्दा कम हो । सरकारले विद्यमान कर प्रणालीको सट्टा आगामी बजेटमा ५५ देखि ७५ प्रतिशतसम्मको वैज्ञानिक कर प्रणालीे लागू गर्नुपर्ने प्रतिवेदनले सिफारिससमेत गरेको छ । प्रस्तावित कर वृद्धिले करिब ४ अर्बको राजश्व संकलन हुनुकासाथै ४३ करोड ३० लाख चुरोट खपतमा कमी आउने दाबी गरिएको छ । कर वृद्धि गरिएमा आधाभन्दा बढी सुर्तीजन्य वस्तुका उपभोक्ताले सुर्ती सेवन कम गर्ने वा सुर्तीजन्य पदार्थको मूल्य दुई गुणा गरेमा पूर्णरूपमा छोड्न सक्ने पनि प्रतिवेदनले औँल्याएको छ । प्रस्तुत छ, विश्व धुम्रपानरहित दिवसको अवसरमा नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)का कार्यकारी निर्देशक डा जयकुमार गुरुङसँग लेखनाथ पोखरेलले गरेको कुराकानीः

नेपालमा सुर्ती तथा सुर्तीजन्य पदार्थको प्रयोगको अवस्था कस्तो छ ?

नेपालमा सुर्ती तथा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो छ । यसको असरले पनि विकराल रुप लिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्ती तथा सुर्तीजन्य पदार्थका कारण करिब १५ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । यस हिसावअनुसार वार्षिक २७ हजारभन्दा बढी मानिसको सुर्ती तथा सुर्तीजन्य पदार्थकै कारण मृत्यु हुने गरेको देखिएको छ । एक अध्ययनअनुसार पछिल्लो समय नेपालमा युवा पीढिमा सुर्ती तथा सुर्तीजन्यको सेवन गर्ने क्रम डरलाग्दो रुपमा बढिरहेको छ ।

यस वर्षको नारा कत्तिको सान्दर्भिक छ ?

यस वर्षको विश्व स्वास्थ्य संगठनको नारा युवालाई उद्योगहरूको चलखेलबाट जोगाउँदै सुर्तीजन्य पदार्थ र निकोटीन प्रयोगबाट रोकौं भन्ने रहेको छ । जुन नारा नेपालको सन्दर्भमा पनि एकदमै सान्दर्भिक छ । किनभने सुर्ती तथा सुर्तीजन्य उद्योगहरूले खासगरी युवाहरूलाई सुर्ती तथा सुर्तीजन्य पदार्थतर्फ आकर्षित गर्न विभिन्न रणनीति अख्तियार गर्ने गरेका हुन्छन्् । युवाहरूलाई लतमा फसाइयो भन्ने वर्षौंसम्म फाइदा लिन सकिन्छ भन्ने उनीहरूको सोच हुन्छ । एउटा १५ वर्षे युवा–युवतीलाई लतमा फसाउन सकियो भने ऊ ६५ वर्षसम्म बाँच्यो भने ५० वर्षसम्मको स्थायी ग्राहक बन्नसक्छ भन्ने हुन्छ । त्यसैले नवप्रवेशीलाई भिœयाउने काममा सुर्ती तथा सुर्तीजन्य उद्योगीहरू एकदमै स्मार्ट हुन्छन् र लागिरहेका पनि छन् । सोही कारण पनि यस वर्षको नारालाई सान्दर्भिक भनिएको हो । हाम्रोजस्तो देशमा युवाहरूको संख्या अन्य विकसित मुलुकको तुलनामा बढी छ । जुन नेपालका लागि एकदमै राम्रो पक्ष हो, यो देशको ठूलो सम्पत्ति हो, जसलाई जोगाउन जरुरी पनि छ । यस्ता युवाहरू लतमा फसे भने स्वास्थ्यमा ठूलो रकम खर्च हुनुका साथै ज्यानको जोखिमसमेत हुन्छ । आर्थिक गतिविधिमा पनि सक्रियता रहँदैछ । सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनले चौतर्फी जोखिम तिम्त्याउँछ ।

युवाहरूमा सुर्तीजन्य पदार्थको प्रयोग किन बढ्दो छ ?

एउटा साथी–संगतको लहै लहैमा लागेर पनि हुन्छ । यसमा नियन्त्रणका लागि सरकारले कानुन त बनाएको छ तर कार्यान्वयन हुन सकेको छैन । सरकारले १८ वर्षभन्दा कम उमेरले बेचबिखन र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाएको छ तर स्कूल जाने बालबालिकाले अभिभावकका लागि पसलहरूबाट सुर्ती तथा सुर्तीजन्य पदार्थ खरिद गरिरहेको देखिएको छ । पसलेहरू पनि निर्वाधरुपमा विक्री गरिरहेको देखिएको छ । ग्रामीण क्षेत्रमा मात्रै नभइ सहरी क्षेत्रमासमेत यसको दवदवा छ । शहरी क्षेत्रका शिक्षकहरूमा यसको प्रयोग अझै बढी छ । यसमा नियन्त्रण र अनुगमन प्रायः सून्य नै छ । ग्रामीण क्षेत्रमा चेतनाको कमी भएको छ भने शहरी क्षेत्रमा चेतना हुँदा हुँदै पनि यसको प्रयोग गरिरहेको पाइन्छ । रेष्टुरेन्ट कफी हाउसहरू सुर्ती तथा सुर्तीजन्य पदार्थविना चल्नै सक्दैनन् भनिन्छ, रेष्टुरेन्ट तथा कफी हाउसहरूमा खान जाने भनेको धनीमानी वर्ग हुन् । विद्युत चुरोटदेखि विभिन्न किसिमको फ्लेवर दिएर ग्राहकलाई तान्ने प्रवृत्ति देखिएको छ । अर्को प्रवृत्ति के छ भने घोषणा नगरी सेवन गर्ने अर्थात् अघोषित सेवक । उदाहरणका लागि म खान्छु तर कसैलाई भन्दिन । यस्तोमा नेता, मन्त्रीदेखि उच्च ओहदाका बढी छन् । रोलमोडल हुनुपर्नेहरूले नै खाइदिँदा अरु पनि यस्तो लतमा लाग्ने पनि देखिएको छ ।

चिकित्सा क्षेत्रमा चाहि कस्तो छ ?

चिकित्सा क्षेत्रमा लाग्नेहरू पनि करिब ६० प्रतिशतले धुम्रपान गर्छन् भनिन्छ । उनीहरूले चेतनाको अभावमा धुम्रपान गरेका होइनन् । विश्व विद्यालय, कलेजमा प्राध्यापन गर्ने प्राध्यापक, डाक्टर, नर्सहरूसमेत धुम्रपान गर्छन् । यसलाई रोक्न जरुरी छ ।

कसरी रोक्ने त ?

सार्वजनिकरुपमा धुम्रपानलाई परित्याग गर्ने अभियान सञ्चालन गर्न सकिन्छ । राजनीतिक व्यक्तित्व, मन्त्री, सरकारी सेवामा रहेका अधिकारीहरू, समाजसेवीहरूले विभिन्न अवसरमा धुम्रपान परित्यागकोे घोषणा गर्न सक्छन् । विगतमा यस्तो भएको पनि थियो । अहिले नेपाल सरकारका तर्फबाट भएको छैन । नेपाल अर्बुद रोग निवारण संस्था यस्तो अभियानको सुरुवात गरेको छ । यसलाई राष्ट्रिय अभियानकै रुपमा अगाडि बढाउन सके राम्रो हुन्थ्यो भन्ने लाग्छ ।

सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरणमा सरकारी प्रयास कस्तो छ ?

कानुन छ तर कार्यान्वयन छैन । सार्वजनिकस्थलमा धुम्रपान गर्न पाइदैन भनिएको छ तर सार्वजनिकस्थलको व्याख्या नगरिएकोले अन्यौलपूर्ण अवस्था छ । एयरपोर्ट र फाइभस्टार होटलमा चुरोट सेवनका लागि छुट्टै व्यवस्था गरिएको होला, अन्यत्र त्यस्तो छैन । सडक, सार्वजनिक यातायात पनि धुम्रपान गरिरहेको हुन्छ । यसमा अनुगमन हुनसकेको छैन । नयाँ संविधानअघि सहायक सिडियोलाई अनुगमनको जिम्मेवारी दिएको थियो नयाँ संविधानले स्थानीय निकायलाई दिएको छ । स्थानीय निकाय अन्य काममै व्यस्त रहेकोले सुर्तीजन्य पदार्थको इन्स्पेक्टरका रुपमा काम गर्न सकेको छैन, भ्याएको पनि छैन । कतिपय स्थानीय निकायलाई त आफू सुर्ती पदार्थको इन्स्पेक्टर हुँ भन्ने पनि थाहा छैन ।

स्थानीय निकायलाई जिम्मेवार बनाउन के गर्नुपर्ला ?

स्थानीय निकायलाई बढी जिम्मेवार बनाउन सरकारले परिपत्र गर्नुपर्ने हो कि के गर्नुपर्ने हो, स्वास्थ मन्त्रालयले गर्नुप¥यो । वास्तवमा विश्वका धेरै देशहरूमा सुर्ति तथा सुर्तीजन्य पदार्थलाई कर प्रणालीबाट नियन्त्रण गर्ने प्रचलन रहेको छ । हरेक वर्ष कर वृद्धि गरेर सुर्ती तथा सुर्तीजन्य वस्तु किन्नलाई निरुत्साहित गर्न सकिन्छ । नेपालमा त्यस्तो प्रयास भएकै छैन । विश्व स्थास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा ७० प्रतिशतभन्दा बढी कर लगाइनुपर्छ भनेको छ तर नेपालमा २७ प्रतिशतमात्रै छ । सुर्तीजन्य पदार्थमा धेरै कम कर तिर्नेमा सूचीमा नेपाल रहेको छ । यो लज्जास्पद कुरा हो । ७० प्रतिशत कर वृद्धि गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौं । कर वृद्धिले एकातिर सुर्तीजन्य पदार्थ निरुत्साहित पनि हुन्छ र राजश्व पनि बढ्छ । हाम्रो अध्ययन प्रतिवेदनले पनि यही देखाएको छ ।

सुर्तीजन्य पदार्थका कारण हुने हेल्थ कष्टको अवस्था कस्तो छ ?

सुर्ती तथा सुर्तीजन्य पदार्थको कारोबारबाट हुने फाइदाभन्दा सुर्तीजन्य पदार्थबाट हुने रोगको स्वास्थ्य उपचारमा हुने खर्च कयौं गुणा बढी छ । यदि सुर्तीजन्य पदार्थका कारण क्यान्सर भयो भने क्यान्सरले एउटा पुस्तामात्रै होइन, तीन पुस्तासम्म जान्छ । क्यान्सर भनेको जेनेरेसन किलर हो । क्यान्सर भयो भने न मान्छे रहन्छ, नत पैसा नै बाँकी रहन्छ, सारा परिवारलाई जोखिमपूर्ण बनाउँछ ।

 क्यान्सर बिरामीलाई सरकारले दिने एक लाख रुपैयाँले राहत हुन्छ ?

क्यान्सर रोगीलाई सरकारले दिने एक लाख रुपैयाँको कुनै अर्थ छैन । लाखांै खर्च हुने क्यान्सर रोगीको उपचारमा एक लाख केही होइन तर सरकारका लागि भने यो ठूलो रकम हो । बरु यो रकम सुर्तीजन्य पदार्थको न्यूनीकरणमा लगाइयो भने प्रभावकारी हुन्छ ।

विद्युतीय चुरोटले हानी गर्दैन भन्ने सुनिन्छ नि ?

विद्युतीय चुरोटले हानी गर्दैन भनेर कतै प्रमाण भेटिएको छैन तर उत्पादक र बिक्रेताहरूले भने विद्युतीय चुरोटले हानी गर्दैन भनेर प्रयोगकर्तालाई प्रोत्साहित गर्ने काम गरिरहेका छन् । विभिन्न फ्लेवर लगाएर युवा युवतीलाई फसाउने काम भइरहेको छ । 

यस वर्ष विश्व धुम्रपानरहित दिवस कसरी मनाइदैछ ?

अहिले कोरोना महामारी छ, सुर्ती सेवन गर्नेमा कोरोनाको संक्रमण बढी देखिएको छ । शनिबार र आइतबार युवा केन्द्रित कार्यक्रम अघि सारेका छौं । युवा नामक संस्थासँगको सहकार्यमा सोसियल मिडियामार्फत सचेता फैलाउने काम हुनेछ । विभिन्न तथ्यांकसहित सचेतना फैलाउने काम हुनेछ । वास्तवमा सुर्तीजन्य पदार्थ कहिल्यै प्राथमिकतामा परेन । यसलाई दोश्रो दर्जामा राखियो, जलवायु परिवर्तनलगायत वहसको विषय बन्यो तर सुर्तीजन्य पदार्थ वहसको विषय बनेको छैन । जबसम्म सुर्तीजन्य पदार्थको प्रयोगको सवाललाई पहिलो प्राथमिकतामा राखिँदैन, तबसम्म समाजमा विभिन्न किसिमका क्रोनिक रोगहरू दवदवा बढ्न जानेछ भने आर्थिकरुपमा पनि मुलुक कमजोर रहनेछ ।