काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति कुनै पनि दलको प्रभावमा रहन नपाउने बैकल्पिक व्यवस्थाबारे नयाँ बहस गर्न माग गर्नुभएको छ ।
राष्ट्रपतिको गतिविधि संविधानको मर्म र भावना अनुकूल पटक्कै नरहेको, पार्टी र गुट विशेषको पक्षमा प्रष्ट देखिएको भन्दै राणाले मंगलबार सामाजिक संजालमार्फत यस्तो प्रस्तावको माग गर्नुभएको हो । ‘राष्ट्रपतिले प्रदर्शन गर्दै आउनु भएको पार्टी पक्षधरताको क्रम अध्यादेश जारी र खारेजी प्रकरणबाट गुट तहसम्म कायम रहेको प्रमाणिक रूपमा पूनःपुष्टि भएको छ । तसर्थ राष्ट्राध्यक्ष कुनै पनि पार्टीको प्रभावमा रहन नपाउने बैकल्पिक व्यवस्थाबारे छलफल र बहस प्रारम्भ होस् भन्ने आग्रह गर्दछु,’ अध्यक्ष राणाले ट्वीटरमा लेख्नुभएको छ ।
उहाँले नेपालको संविधानले राष्ट्रपति पदलाई संविधानको संरक्षक एवं कुनै पार्टी विशेषप्रति कुनै मोह नराख्ने अभिभावकीय संस्थाको रूपमा परिभाषित गरेको पनि उहाँले स्मरण गराउनु भएको छ । ‘तदनुरूप आचरणको अपेक्षासमेत राखेको छ,’ उहाँले भन्नुभएको छ, ‘तर, राष्ट्रपतिको आचरण र क्रियाकलाप संविधानको मर्म र भावनाअनुरूप पटक्कै देखिएको छैन ।’
महामारीको संकटमा समेत सत्तारूढ नेकपा र सरकारलाई आम जनताको चासो नभएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले शक्तिसंघर्षका कारण जनता अभिभावकविहीन बनेको भन्दै आपत्तिसमेत जनाउनुभयो ।
राणाले ‘सत्तासंघर्षका कारण नेकपा र सरकारको सम्पूर्ण ध्यान र उर्जा बालुवाटार, कोटेश्वर, भैंसीपाटी, खुमलटार वरिपरि घुमिरहेको’ भन्दै राज्यसत्ता नै शक्तिसंघर्ष र व्यवस्थापनमा एकोहोरो लागेपछि कोभिड–१९ विरुद्धको लडाई अभिभावकविहीन बनेको आरोप लगाउनुभयो । उहाँले महामारी, जनसरोकार प्राथमिकता नबन्नु, चिन्ताको विषय भएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराउनुएको छ ।




















