पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश अब ‘ग्रीन जोन’ भएको घोषणा गर्नुभएको छ । उहाँले शनिबार पत्रकारहरुसँग कुरा गर्दै गण्डकी प्रदेशको बागलुङमा देखिएका दुवै संक्रमित पूर्ण रुपमा स्वस्थ भई घर फर्केकाले प्रदेश ‘ग्रीन जोन’ भएको बताउनुभएको हो ।
मुख्यमन्त्री गुरुङले दुवैजना विरामी डिस्चार्ज भएको खबरले आफुलाई अत्यन्तै खुशी तुल्याएको पनि बताउनुभयो । उहाँले उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिंदैँ कोरोना विजेतालाई बधाई दिनुभएको छ । उहाँले गण्डकी प्रदेश कोरोना इपिसेण्टरको रुपमा रहेकोमा अब त्यो पनि हटेको बताउनुभयो ।
गत चैत ४ गते बेल्जियमबाट नेपाल आएका बागलुङका दुई महिलामा कोरोना संक्रमण भेटिएपछि प्रदेशमा ठूलो त्रास फैलिएको थियो । कमजोर उपकरण र सीमित स्रोतका बीचबाटै दुवै जनाले कोरोनालाई परास्त गरेपछि मुख्यमन्त्री गुरुङ शनिबार प्रफुल्ल मुद्रामा प्रस्तुत हुनुभएको हो ।
त्यसो त कोरोनाका लागि भनेर उनीहरू दुवैलाई छुट्टै औषधि गर्नु नपरेको पनि पत्रकारसम्मेलनमा उहाँले जानकारी दिनुभयो । उहाँले दुवै जनाले चिकित्सकको निगरानीमा तातोपानी, सादा खाना र नियमित औषधिकै भरमा स्वास्थ्यलाभ गरेको जानकारी दिनुभयो । संक्रमित भनिएका दुवैको स्वास्थ्यअवस्था सुरुदेखि नै सामान्य रहेको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बताएका छन् ।
यसैबीच, मुख्यमन्त्री गुरुङले शनिबार नै लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा प्रदेशका सरोकालवालासँग छलफल गर्नुभएको छ । उहाँले गण्डकी प्रदेशका ११ वटै जिल्लामा अहिले कोरोना संक्रमण नभएकाले सीमा नाका बन्द गर्दै आन्तरिक रुपमा लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने प्रस्ताव गर्नुभएको हो ।
लकडाउनको आगामी रणनीतिबारे उहाँले पत्रकार र बुद्धिजिवीसँग पनि सुझाव लिनुभएको छ । खासगरी निर्माण र कृषिका क्षेत्रमा लकडाउन खुकुलो बनाउने पक्षमा मुख्यमन्त्री देखिनुभएको छ ।
गण्डकी प्रदेशको बाग्लुङमा कोरोना भाइरस रोगबाट संक्रमित दुई जना उपचार गराएर घर फर्किएपछि लकडाउनलाई कसरी अगाडी बढाउने भन्ने बारेमा उहाँले सुझाव लिनुभएको हो । मुख्यमन्त्री गुरुङले संघ सरकारको निर्णयपछि गण्डकी प्रदेशभित्र लकडाउन खुकुलो बनाउने संकेत दिनुभएको छ । हालसम्म गण्डकी प्रदेशमा करिब ५ हजार जनाको द्रुत परीक्षण, साढे ५ सयको पिसीआर टेष्ट गरिएकोमा दुई जनामा मात्रै कोरोना संक्रमित देखिएको थियो ।
सरोकारवाहरूले जिल्ला र प्रदेश बाहिर आवतजावत गर्न नदिने तर उद्योग धन्दा, कलकारखाना र केही आवश्यक सेवा क्षेत्रलाई खुकुलो बनाउनु पर्ने सुझाव दिएका छन् । लामो समय कडा लकडाउन गर्दा अर्थतन्त्र डगमगाउने अवस्थामा पुगेको उनीहरूले बताएका छन् ।



















