बालिका गरिमा चौधरी हत्या घटनामा १५ थारू संघसंस्थाको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग।

बारा:= बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७, सिमरामा तीन वर्षीया गरिमा चौधरीमाथि भएको भनिएको बलात्कारपछि हत्या घटनाप्रति विभिन्न १५ वटा थारू संघसंस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

थारू संघसंस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याएर कडा कारबाही गर्न नेपाल सरकार तथा गृह प्रशासनसँग जोडदार माग गरेका छन्। साथै, मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

विज्ञप्तिमा बालिकामाथि भएको अमानवीय तथा जघन्य अपराधले समाजको सुरक्षा र संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै घटनालाई कुनै पनि हालतमा सामान्य रूपमा नलिन आग्रह गरिएको छ। घटनाको वास्तविकता बाहिर ल्याउन निष्पक्ष अनुसन्धान तथा पीडित परिवारलाई न्याय दिलाउन प्रभावकारी कदम चाल्न पनि माग गरिएको छ।

त्यसैगरी, मृतक बालिकाको परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घटनाको सत्यतथ्य बुझ्न तथा परिवारसँग सहानुभूतिपूर्वक संवाद गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था र कानुनी कार्यान्वयनमा जोड दिनुपर्ने संघसंस्थाहरूको माग छ।

संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने संघसंस्थाहरूमा:

१. थारू कल्याणकारिणी सभा केन्द्रीय समिति
२. थारू कल्याणकारिणी सभा काठमाडौं उपत्यका समिति
३. थारू महिला सभा केन्द्रीय समिति
४. थारू महिला समाज केन्द्रीय समिति
५. नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ केन्द्रीय समिति
६. बर्दियाली थारू विकास मञ्च काठमाडौं
७. थारू विद्यार्थी समाज केन्द्रीय समिति
८. थारू विद्यार्थी समाज उपत्यका समिति
९. थारू विद्यार्थी सभा केन्द्रीय समिति
१०. थारू संस्कृति विकास मञ्च केन्द्रीय समिति
११. नेपाल आदिवासी जनजाति चलचित्र महासंघ
१२. थारू आर्टिस्ट समाज केन्द्रीय समिति
१३. प्रभुनारायण स्मृति प्रतिष्ठान
१४. नेपाल थारू पत्रकार संघ केन्द्रीय समिति
१५. थारू महिला सभा काठमाडौं उपत्यका समिति रहेका छन्।

संघसंस्थाहरूले पीडित परिवारलाई न्याय, राहत र क्षतिपूर्ति उपलब्ध गराउनुका साथै घटनामा संलग्न दोषीलाई कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी कानुनअनुसार कडा सजाय दिन सरकारसँग आग्रह गरेका छन्।