काठमाडौं := नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (FEAN) को आह्वानमा आजदेखि देशभरका म्यानपावर कम्पनीहरूले आफ्ना सेवा तथा कारोबार बन्द गरेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगीले एक विज्ञप्ति निकाल्दै सोमबारबाट वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा ठप्प पारिएको बताएका छन्। भिसा आएर विदेश उड्न ठिक्क परेका श्रमिकलाई समेत सोमबारबाट विदेश पठाइने छैन।
व्यवसायीहरूले सरकारसँग राखेका १५ बुँदे माग सम्बोधन नभएको भन्दै पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन, अन्तर्वार्ता, भिसा स्ट्याम्पिङलगायतका प्रक्रिया रोकेका हुन्।
यसको प्रत्यक्ष असर विदेश जाने तयारीमा रहेका नेपाली श्रमिकहरूमा परेको छ। भिसा र श्रम स्वीकृति प्राप्त गरिसकेका कतिपय श्रमिकसमेत निर्धारित समयमा विदेश जान नपाउने अवस्था बनेको छ।
आइतबार राति १२ बजेसम्म विमानस्थलको प्रक्रिया पूरा गरिसकेकाबाहेक आजदेखि तय भएका उडान रोक्ने संघले जनाएको छ।
व्यवसायीहरूले भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको विषयमा ७७१ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने, १० हजार रुपैयाँ सेवा शुल्कको व्यवस्था पुनरावलोकन गर्नुपर्ने, सेवा शुल्क एक महिनाको तलब बराबर हुनुपर्ने, वैदेशिक रोजगार शुल्कमा १३ प्रतिशत VAT हटाउनुपर्ने तथा हवाई टिकटको कालोबजारी नियन्त्रण गर्नुपर्ने माग अघि सारेका छन्।
पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको विषय भएकाले सरकार, मन्त्रालय, विभाग तथा सम्बन्धित निकायसँग समाधानका लागि संवाद, समन्वय र वार्ताका ढोकाहरू खुला राखेको संघको दाबी छ। जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म संघर्ष फिर्ता वा स्थगित नहुने व्यवसायीहरूको अडान छ।
आन्दोलन लम्बिँदै गएमा विदेश जान ऋणधन जुटाइसकेका हजारौँ श्रमिकको रोजगारी, आर्थिक लगानी र पारिवारिक योजना प्रभावित हुन सक्ने चिन्ता बढेको छ। अब सरकार र व्यवसायीबीचको वार्ताले कस्तो निकास निकाल्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।




















