क्वालालम्पुर (मलेसिया):= सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा आगामी ६ सेप्टेम्बर २०२६ का दिन क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टीनेन्टलमा भव्य रूपमा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुने भएको छ।
सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुनेछ।
आयोजकका अनुसार कार्यक्रममा माननीय दीपक बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ भने नेपाल राजदूतावास मलेसियाको विशेष उपस्थिति रहनेछ। समारोहमा राष्ट्रिय कलाकार जे. आर. भट्टका साथै मलेसियामा रहेका स्थानीय तथा प्रतिभावान् कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू दिनेछन्।

मलेसियामा रहेका नेपाली समुदायबिच आपसी एकता, सद्भाव र भाइचारालाई अझ मजबुत बनाउँदै आफ्नो मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने लक्ष्य राखिएको समाजका अध्यक्ष दिनेश खड्का “खप्तडी” ले जानकारी दिनुभएको छ।
सुदूरपश्चिमको सांस्कृतिक पहिचान झल्काउने यस विशेष कार्यक्रममा मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई सहयोग गरिदिन समाजले हार्दिक अनुरोध गरेको छ।




















