क्वालालम्पुर:= मलेसिया क्वालालम्पुरस्थित नेपाली राजदूतावासले श्रमिकहरूको राहदानी (पासपोर्ट) नियन्त्रणमा लिने रोजगारदाता कम्पनीहरूविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ।
दूतावासले शुक्रबार आफ्नो साप्ताहिक लाइभ कार्यक्रममार्फत श्रमिकको राहदानी रोजगारदाता वा कम्पनीले जफत गर्नु आधुनिक दासत्व तथा बाध्यकारी श्रमको अवस्थासँग जोडिएको गम्भीर विषय भएको स्पष्ट पारेको हो। यस्तो कार्य गर्ने रोजगारदाता कम्पनीको नयाँ नेपाली कामदार भर्नाका लागि पेश गरिने मागपत्र (डिमाण्ड लेटर) पूर्ण रूपमा रोक्ने दूतावासले जनाएको छ।
दूतावासका अनुसार राहदानी आफैंसँग राख्नु प्रत्येक श्रमिकको आधारभूत तथा नैसर्गिक अधिकार हो। त्यसैले श्रमिकहरूले आफ्नो राहदानी सधैं सुरक्षित रूपमा आफैंसँग राख्न र रोजगारदाता वा अन्य पक्षले राहदानी नियन्त्रणमा लिएमा तत्काल दूतावासमा जानकारी गराउन आग्रह गरिएको छ।
त्यस्तै, कुनै समस्या परेमा दूतावासको आधिकारिक हटलाइन तथा ह्वाट्सएपमार्फत गुनासो दर्ता गराउन सकिने दूतावासले जनाएको छ। मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई स्थानीय नियम तथा कानुनको पूर्ण पालना गर्न, नवीकरण भएका राहदानी समयमै संकलन गर्न तथा कार्यस्थलमा उत्पन्न हुने कानुनी समस्यालाई समयमै सचेततापूर्वक समाधान गर्न पनि आग्रह गरिएको छ।
दूतावासका महत्वपूर्ण सम्पर्क नम्बर
📞 मुख्य हटलाइन: +६०१६-२४७२७७७
📞 राहदानी सोधपुछ: ०३-२३८८१९३५
📱 ह्वाट्सएप: ०१२-४१७५३९२
📱 श्रम सम्बन्धी समस्या: ०१६-२४७२७७७
📱 जेल तथा हिरासत सम्बन्धी मामिला: ०१२-४२९६९४०
📍 नेपाल राजदूतावास, मलेसिया
Embassy of Nepal, Wisma MCA, Level 1, 163 Jalan Ampang, 50450 Kuala Lumpur, Malaysia




















