मलेसियामा जनउद्धार केन्द्रद्वारा तीज विशेष “दर खाने” कार्यक्रम आयोजना हुँदै।

क्वालालम्पुर (मलेसिया):= सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा ‘तीजको दर खाने तथा विशेष सांस्कृतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ।

मलेसियामा रहेका नेपाली दिदीबहिनीहरूलाई सम्मानस्वरूप आयोजना गर्न लागिएको उक्त कार्यक्रम आगामी १३ सेप्टेम्बर २०२६ (तदनुसार २०८३) का दिन बिहान ११:०० बजे पेनाङस्थित Sunshine Square Hall (Level-4), Bayan Baru मा सम्पन्न हुने आयोजक संस्थाका अध्यक्ष केशु थापाले जानकारी दिनुभयो।

कार्यक्रममा उपस्थितिको लागि आयोजक संस्थाका तर्फबाट नेपाली राजदूतावास मलेसियालगायत यहाँ अवस्थित विभिन्न संघसंस्थालाई निमन्त्रणा समेत पठाईसकिएको छ । कार्यक्रम सफलताका लागि सहयोग गर्ने सहयोगी हातहरूलाई आयोजक जनउद्धार केन्द्रले हार्दिक धन्यवाद व्यक्त गर्दै भावी दिनहरूको सफलताको शुभकामना समेत दिएको छ।

“श्रमिकको हित हाम्रो चाहना, पीडितको उद्धार हाम्रो कामना” भन्ने मूल नाराका साथ क्रियाशील यस संस्थाले मलेसियामा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई उत्सवलाई भव्य र सभ्य बनाइदिन हार्दिक अपिल गरेको छ।