गुल्मीदेखि हिँड्दै तीन दिनमा पोखरा

पोखरा । नुवाकोट ककनीका प्रवीण तामाङसहित चार युवा मंगलबार बिहान पोखरा महानगरपालिका—३३ बाघमारास्थित सुनसान सडकमा हिडिरहेका थिए । गुल्मीदेखि हिँडेका ती युवाको अन्तिम गन्तव्य भने नुवाकोट जिल्लाको ककनी हो । गुल्मीमा घर बनाउने काम गर्दै आएका उनीहरू बन्दाबन्दीका कारण मजदूरी रोकिएपछि समस्यामा परेका हुन् । बन्दाबन्दी शुरु भएपछि पनि केही दिन त उनीहरूलाई खुल्छ कि भन्ने आसा थियो । बन्दाबन्दी खुल्ने छाटकाट नदेखिएपछि अन्ततः हिडेरै भएपनि घरसम्म पुग्ने टुंगोमा पुगेको उनीहरूको भनाइ छ ।

‘शनिबार बिहान ८ बजे गुल्मीबाट हिडेका हौं, अब तीन दिनसम्ममा ककनी पुग्छौं कि भन्ने लागेको छ,’ प्रविण तामाङले भन्नुभयो, ‘खुट्टा दुःखे पनि सहेर हिडेका त छौं, ठाउँ ठाउँमा सुरक्षाकर्मीले रोक्ने भएकाले डराउँदै हिड्नु परेको छ ।’

गुल्मीबाट हिड्दा आफूहरू १२ जनाको समूहमा रहेको अर्का सहभागी कृष्ण तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन पर्वतको कार्कीनेटा आइपुगेका उनीहरू त्यहीँको जङ्गलमा रात कटाएका थिए । ‘महामारीको बेला गाउँमा जाँदा पनि त्यहाँका स्थानीयवासीले के भन्छन्, के ठान्छन्, होला जस्तो लाग्यो, त्यसैले जंगलमा नै रात कटायौं,’ उहाँले भन्नुभयो, ‘पानी परेको भए समस्या हुन्थ्यो, धन्न परेन ।’

आइतबार बिहानै हिड्ने क्रममा पर्वतको कार्कीनेटामा सुरक्षाकर्मीले रोकेपछि भने आफूहरू थप समस्यामा परेको उहाँले सुनाउनुभयो । जेनतेन त्यहाँबाट फुत्किएर वैकल्पिक बाटो हुँदै अघि बढे पनि १२ जनाको समूहमा हिड्दा अझै समस्या पर्ने देखेर आफूहरू छुट्टाछुट्टै समूह बनाएर हिडेको उहाँले बताउनुभयो । समूहमा सहभागी सबै जना नुवाकोटका भएको बताउँदै उहाँले मंगलबार कास्की र तनहूँ जिल्लाको सीमाना कोत्रे आसपासमा भेट्ने योजना रहेको जानकारी दिनुभयो ।

आइतबार दिनभर वैकल्पिक बाटो हिड्दै उहाँहरूको समूह स्याङ्जाको फेदीखोलास्थित जिरो किमी आइपुग्यो । त्यहाँ भने उहाँहरूलाई ढुङ्गा खोज्दा देवता मिले जस्तै भयो, स्थानीयवासी एवम् निर्माण व्यवसायी रमेशकुमार शर्माले दाल चामल लगायतको खाद्यान्न जुटाइदिएर खाने तथा सुत्ने सबै व्यवस्था गरिदिनुभयो ।

सोमबार बिहानै हिडेका उहाँहरू बेलुका पोखरा महानगरपालिका वडा नं ३३ स्थित बागमारा आइपुग्नुभयो । हिँड्दा हिँड्दै थाकेको शरीर, छिप्पिइसकेको रातमा पानी परिरहेका बेला कहाँ ओत लागौं भन्ने चिन्ता रहेका अवस्थामा उहाँहरूलाई बागमारा युवा संगम समूह, पानी ट्यांकी बरेली चोक टोल विकास संस्थामा आवद्ध युवाहरूले बस्ने व्यवस्था गरिदिएपछि भने निकै राहतको अनुभव भएको अर्का युवा युकेस तामाङले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणबाट जोगिने कुरामा आफूहरू सचेत बनेको बताउँदै उहाँले हिड्ने क्रममा अनिवार्य माक्स लगाउनुका साथै सामाजिक दूरी कायम गरी हिडेको बताउनुभयो ।

हिड्दा कतै राम्रो त कतै नराम्रो सबै किसिमका व्यवहार देख्दै र भोग्दै अघि बढेको उहाँको अनुभव छ । आफूहरू अझै न्यूनतम तीन दिन हिड्नुपर्ने बाध्यतामा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हिड्नुपर्ने धेरै छ, ठाउँठाउँमा विभिन्न अवरोध पनि छन्, के गर्नु यसरी हिड्नु हाम्रो रहर हैन बाध्यता हो ।’