क्वालालम्पुर (मलेसिया):= मलेसियाको मानव संसाधन मन्त्रालय (Kesuma) ले विदेशी कामदारको कोटा आवेदनमा लागू हुँदै आएको ‘केस-बाइ-केस’ (Case-by-Case) स्वीकृति प्रणाली पूर्ण रूपमा खारेज गरेको छ। अबदेखि सबै आवेदन विदेशी कामदार केन्द्रीय व्यवस्थापन प्रणाली (Foreign Workers Centralised Management System – FWCMS) मार्फत अनलाइन दर्ता र प्रक्रिया गरिनेछ।
मानव संसाधन मन्त्री दातुक सेरी आर. रमणनले मन्त्रिपरिषद्को निर्णयअनुसार विदेशी कामदार व्यवस्थापनसम्बन्धी वन स्टप सेन्टर (OSC) अब केशुमा अन्तर्गत सञ्चालन हुने जानकारी दिए। “अब **केस-बाइ-केस प्रणाली छैन। म फेरि दोहोर्याउँछु, अब यस्तो प्रक्रिया पूर्ण रूपमा समाप्त भएको छ,” उनले कुआलालम्पुरस्थित विस्मा HRD Corp मा आयोजित विशेष पत्रकार सम्मेलनमा भने।
उनका अनुसार रोजगारदाताले अब FWCMS प्रणालीमार्फत आवेदन पेश गर्नेछन्। त्यसपछि सम्बन्धित नियामक निकायहरूले आवश्यक मूल्याङ्कन गरी आफ्नो सिफारिस OSC मा पठाउनेछन्। “अब कुनै लामो लाइन, भीडभाड वा व्यक्तिगत भेटघाटको आवश्यकता रहने छैन। म, उपमन्त्री, सचिव, उपसचिव वा मेरो कार्यालयसँग भेट्न, आवेदन छिटो गरिदिन वा कोटा स्वीकृत गरिदिन अनुरोध गर्नुपर्ने अवस्था अब रहने छैन। “सबै प्रक्रिया प्रणालीमार्फत हुनेछ, जुन अत्यन्त पारदर्शी र स्पष्ट छ,” उनले बताए।
अनलाइन प्रणालीबाट समय र झन्झटको अन्त्य
रमणनले उदाहरण दिँदै भने, पहिले भारतीय रेस्टुरेन्ट सञ्चालकले विदेशी कामदार राख्न गृह मन्त्रालय (KDN) मा व्यक्तिगत रूपमा समय लिएर उपस्थित हुनुपर्ने व्यवस्था थियो। उनका अनुसार जोहोर, केदाहलगायत टाढाका राज्यबाट आएका रोजगारदाताले लामो लाइन बस्नुपर्थ्यो,।
तर त्यही दिन पालो पाउने कुनै सुनिश्चितता हुँदैनथ्यो। कतिपयलाई पालो सकिएको भन्दै अर्को दिन फर्काइन्थ्यो।अब भने रोजगारदाताले अनलाइन आवेदन दिएपछि FWCMS मार्फत मिति र समयसहितको भेटघाट तालिका प्राप्त गर्नेछन्। त्यसपछि सम्बन्धित निकायको मूल्याङ्कन र OSC को स्वीकृतिपछि प्रक्रिया अघि बढ्नेछ।
पहिले मलेसियालीलाई रोजगारी दिनुपर्ने
रमणनले विदेशी कामदार आवेदन दिनुअघि रोजगारदाताले MYFutureJobs मा रोजगारीको विज्ञापन प्रकाशित गरी रोजगार ऐन १९५५ को धारा ६०के (Section 60K) अन्तर्गत स्वीकृति लिनुपर्ने बताए। “यदि मलेसियाली कामदार उपलब्ध भएनन् भने मात्र विदेशी कामदारका लागि आवेदन दिन सकिन्छ। पहिलो प्राथमिकता मलेसियाली नागरिकलाई नै दिनुपर्छ,” उनले स्पष्ट पारे।
५४८ कम्पनीका २२ हजारभन्दा बढी आवेदन प्रक्रिया सुरु
केशुमाले पहिले म्यानुअल रूपमा प्राप्त भएका ५४८ कम्पनीका २२ हजार ४७६ वटा कोटा आवेदन नयाँ प्रणालीमार्फत प्रक्रिया गर्न सुरु गर्ने जनाएको छ। रमणनले FWCMS को स्रोत कोड (Source Code) र सुपर एडमिनिस्ट्रेटर अधिकार दुवै केशुमासँग रहेकाले प्रणाली पारदर्शी रहेको दाबी गरे।
रोजगार अनुमति दिने अन्तिम अधिकार गृह मन्त्रालयमै
विदेशी कामदारको कोटा आवेदनको जिम्मेवारी अब केशुमाले सम्हाले पनि रोजगार पास र कार्य अनुमति (Work Permit) जारी गर्ने अन्तिम अधिकार भने सुरक्षा कारणले गृह मन्त्रालय (KDN) मै रहने उनले बताए।
विदेशी कामदारका लागि ट्रान्जिट सेन्टर स्थापना गर्ने तयारी
रमणनले मन्त्रिपरिषद्ले नयाँ आएका विदेशी कामदारका लागि विदेशी कामदार ट्रान्जिट सेन्टर (Foreign Worker Transit Centre) स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्न पनि स्वीकृति दिएको जानकारी दिए।
उनका अनुसार उक्त केन्द्रमा मलेसिया आइपुगेका कामदारलाई रोजगारदाताले लिन नआउञ्जेल अस्थायी रूपमा राखिनेछ, जसले विमानस्थलको भीडभाड कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रारम्भिक अनुमानअनुसार उक्त केन्द्रमा एकै समयमा १,००० देखि २,००० जना विदेशी कामदार राख्न सकिनेछ। तर उनले यो केन्द्र स्थायी आवास वा हिरासत केन्द्र (Detention Centre) भने नहुने स्पष्ट पारे।




















