म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान अहिले असिनाका कारण नष्ट भएको तरकारी बालीलाई लिएर चिन्तित बनेका छन् । गत असोजमा भित्रयाउने बेलाको धान असिनाले चुटेर सखाप बनाएपछि रुनु न हाँस्नुको अवस्थामा पुगेका ज्यामरुककोटका किसानहरू सोमबार राति खेतबारीमा पाक्नै लागेको गहुँ पनि असिनाले चुटेर नष्ट पारेपछि अब के खाएर बाँच्ने भन्ने पीडाले थलिएका छन् ।
स्थानीय कृषक डम्मरबहादुर पोख्रेल सोमबार राति परेको असिनाका कारण रातभरी सुत्न नसकेको बताउनुहुन्छ । आफ्नो जीविकोपार्जनको मुख्य स्रोत नै असिनाले ध्वस्त बनाएको उहाँको गुनासो छ ।
पोख्रेल जस्तै यहाँका सबै स्थानीयको आम्दानीको मुख्य स्रोत भनेकै अन्नबाली र तरकारी हो । म्याग्दीको ज्यामरुककोटको फापरखेत, भकुण्डे, सानालेख, तमाने, गौश्वारा, भकिम्लीको तोराखेत, डाँडाखानी लगायत पश्चिम म्याग्दीका अधिकांश ठाउँमा ठूलो असिना पानी परेर गहुँ, जौ, उवा लगायतका खाद्यान्न र तरकारी तथा फलफूल बालीलाई ठूलो क्षति पु¥याएको स्थानीय कृषकहरूले बताएका छन् ।
बेनी नगरपालिका–२ सानालेखका कृषक हरिप्रसाद शर्माले असिनाका कारण खेतमा पाक्नै लागेको गहुँ र भर्खरै बतिला लागेको सुन्तला खेती असिनाले कामै नलाग्ने गराइदिएको बताउनुभयो । ‘कृषकहरू अब बहुलाउनमात्र बाँकी छ, यहाँका किसान अब के खाएर बाँच्ने हो भनेर चिन्तित छन्,’ शर्माले भन्नुभयो, ‘एकातिर कोरोना संक्रमणको महामारी छ, अर्कोतिर पाक्नै लागेको बाली असिनाले चुटेर भोकमरी हुने भयो ।’
ज्यामरुककोट क्षेत्रमा गत असोजमा दश वर्ष यताकै ठूलो असिना पानी परेर पाक्नै लागेको धानबाली पूर्ण रुपमा नष्ट गरेको थियो । असोजमा परेको भीषण असिनाले धानबाली नष्ट गरेपछि त्यहाँका किसानले यस वर्ष एक पाथी धान पनि भिœयाउन पाएका थिएनन् ।
सरकारले त्यहाँका २१६ जना असिना पीडित किसानलाई राहत स्वरुप ३८ लाख रुपैयाँ उपलव्ध गराएको र सो रकम सरकारी मापदण्ड अनुसार वितरण गर्ने तयारी गरिएकोमा लकडाउनका कारण किसानको हातमा पु¥याउन नसकिएको बेनी नगरपालिका–२ का वडअध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।
‘असिनाका कारण धानबाली नष्ट हुँदा समस्यामा परेका यहाँका किसानहरू पुनः गहुँबाली पनि नष्ट भएपछि ठूलो समस्यामा परेका छन्,’ अध्यक्ष थापाले भन्नुभयो, ‘लकडाउन खुल्ने बित्तिकै सरकारबाट प्राप्त राहत रकम किसानहरूलाई उपलब्ध गराउने प्रयास गर्ने छु ।’
असिनाले धान र गहुँमात्रै होइन यस क्षेत्रमा लगाइएका बेमौसमी तरकारी खेतीसहित मकैबाली पनि सखाप बनाइदिएको कृषकहरूले बताएका छन् । कृषक डिलबहादुर थापाका अनुसार निकै बाक्लो गरी झरेको असिनाले काउली, बन्दा, टमाटरलगायत तरकारी बाली नष्ट भएका छन् ।
सिमी, बोडी, घिरौँला, काँक्राका र फलफूलका झालहरू पूर्ण रूपमा नष्ट भएका छन् । ‘खेतमा लगाइएको अन्नजति सखाप भएका छन् । मान्छे र बस्तुभाउले अब के खाने ?,’ कृषक थापा भन्नुहुन्छ ।
‘लकडाउनका कारण बाहिर जान नपाउँदा किसानको ध्यान खेतबारीमै थियो, त्यसैले बालीसमेत राम्रो भएको थियो,’ अर्का कृषक धु्रब थापाले भन्नुभयो, ‘तर असिनाले सबै सखाप पारिदियो ।’
वडाअध्यक्ष थापाले गहुँ, तरकारी र फलफूल बालीको क्षतिको विवरण संकलन गरी नगरपालिकाबाट राहत उपलब्ध गराउन आफूले सक्दो प्रयास गर्ने आश्वासन दिनुभएको छ ।



















