अमेरिका:= फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेमाथि सामाजिक सञ्जालमा गरिएको जातीय टिप्पणीले विश्व फुटबलमा नयाँ विवाद निम्त्याएको छ। पाराग्वेकी राजनीतिज्ञ सेलेस्टे अमरिल्लाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एम्बाप्पेको पारिवारिक पृष्ठभूमि र शिक्षामाथि लक्षित गर्दै अपमानजनक अभिव्यक्ति दिएपछि एम्बाप्पेले सार्वजनिक रूपमा कडा प्रतिक्रिया जनाएका हुन्।
अमरिल्लाले एम्बाप्पेलाई ‘उपनिवेशवादी क्यामरुनी’ भन्दै घृणास्पद शब्द प्रयोग गरेकी थिइन्। एम्बाप्पेका बुबा क्यामरुनका मूल निवासी हुन् भने उनकी आमा अल्जेरियाली मूलकी हुन्। यद्यपि एम्बाप्पेको जन्म भने फ्रान्समै भएको हो।
यसप्रति प्रतिक्रिया दिँदै एम्बाप्पेले लेखेका छन्, ‘म्याडम सेलेस्टे अमरिल्ला, तपाईं एक घृणित महिला हुनुहुन्छ र आफ्नो पदको लागि अयोग्य हुनुहुन्छ। तपाईं पाराग्वेको प्रतिनिधित्व गर्नुहुँदैन, त्यो देश जसले प्रतियोगिताभरि जोश र सम्मान प्रदर्शन गरेको थियो।’
उनले थपेका छन्, ‘तपाईंको लापरवाही र निर्लज्ज जातिवादका कारण संसारले पाराग्वेका खेलाडीहरूको ऐतिहासिक प्रयासलाई बिर्सिसकेको छ। म उनी जस्ता मानिसहरूलाई संसारभरि घृणा र जातिवाद फैलाउने स्वतन्त्रता कहिल्यै दिनेछैन।’
यस घटनापछि फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले अमरिल्लाको अभिव्यक्तिलाई ‘पूर्ण रूपमा घृणित र अस्वीकार्य’ भन्दै निन्दा गरेको छ। महासंघले ती टिप्पणीलाई आपराधिक र निन्दनीय ठहर गर्दै सार्वजनिक अभियोजकको कार्यालयमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, फ्रान्सेली राष्ट्रिय टोलीका खेलाडीहरूले फ्रान्सको प्रतिनिधित्व गर्ने भएकाले यस्तो अभिव्यक्ति देशकै अपमान भएको महासंघको भनाइ छ।
यसअघि पनि विश्वकपअघि पूर्व पाराग्वेली गोलकिपर जोस लुइस चिलाभर्टले फ्रान्सेली टोलीलाई ‘अफ्रिकाको टोली’ भनेका थिए। त्यसबेला पनि एफएफएफ अध्यक्ष फिलिप डायलोले उक्त अभिव्यक्तिको कडा विरोध गरेका थिए।
यता आइतबार भएको खेलमा एम्बाप्पेले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्याएका थिए। अब फ्रान्सले शुक्रबार बोस्टनमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। सात गोलसहित एम्बाप्पे हाल विश्वकपका सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्।




















