साउदीमा कार्यरत नेपाली श्रमिकहरुलाई घर फर्किन कम्पनीको दवाव।

साउदीमा कार्यरत नेपालीहरुलाई कम्पनीले घर फर्किन दवाव दिएन थालेका छन् । कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा हाल साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुलाई आफू कार्यरत कम्पनीको कार्यवातावरण असुरक्षित भएको, कम्पनीले घरजाने फारम भराएको, खान नदिएको वा वास नदिएको लगायतका समस्याहरु आउने गरेको साउदीस्थित नेपाली दूताबासले जनाएको छ ।

दूताबासले आफू कार्यरत कम्पनीको नाम, कार्य गरेको अवधि, हालको समस्या र उपलव्ध भएसम्म त्यहाँ कार्यरत भई समस्यामा परेका नेपालीको संख्या समेत उपलव्ध अनुरोध छ।
साउदी अरबको नगर तथा ग्रामीण मामिला सम्बन्धी मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले कामदारहरुको आवास क्षेत्रका लागि नयाँ नियम ल्याएको जानकारी प्राप्त भएको छ ।
सो अनुसार रोजगारदाता वा उसको कामदार आवासको सुपरभाइजरले आवासमा रहेका कुनै कामदारमा कोरोना सम्बन्धी कुनै लक्षणहरु देखिएमा अनिवार्यरुपमा स्वास्थ्य अधिकारीहरुलाई जानकारी गराउनुपर्ने छ । साथै आवास क्षेत्र एवं खाना खाने क्षेत्रको अनिवार्य सरसफाइ गर्नुपर्ने छ । यी कार्यहरु जिम्मेवार भई नगरेमा साउदी रियाल ५ हजार देखि १० हजार सम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

तसर्थ, स्वास्थ्य सम्बन्धी समस्या भएमा आफ्नो सुपरभाइजरलाई अनिवार्यरुपमा रिपोर्ट गर्न दूताबासले अनुरोध छ । सहयोग र समन्वय गर्नु उनीहरुकाे कानूनी कर्तव्य हो । सहयोग गर्न आनाकानी वा वेवास्ता गरेमा नजिकको प्रहरी कार्यालय, आफ्नो कफिल वा मानव संशाधन मन्त्रालयको सेवाग्राही नंवर १९९११ वा नेपाली दूतावास रियाद वा जेद्दा स्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्न दूताबासले अपिल गरेको छ ।
साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७१४२ पुगेको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १०४९ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ८७ जना संक्रमितको मृत्यु भएको छ ।