काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा राम्रो संकेत नदेखिएको टिप्पणी गरेका छन् । शुक्रबार भक्तपुरमा कम्युनिष्टका संस्थापक नेता नारायणविलास जोशीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानको भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरू सत्तामा पुगेपछि बिग्रिने गरेको बताए ।
कम्युनिष्ट पार्टीका नेताहरू आन्दोलन तथा क्रान्तिमा हुँदा निकै ठूलो त्याग गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, जनता जहाँ र जसरी बस्छन् त्यसरी नै बस्न र खान सक्ने तर सत्ता प्राप्त गरिसकेपछि त्यो आदर्शबाट विचलित भएका थुप्रै अन्तर्राष्ट्रिय घटना देखिने गरेको उनले बताए । उनले भने ‘नेपालको इतिहासमा पनि त्यसका संकेतहरू, लक्षणहरू देखिने गरेका छन् ।’
दाहालले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेर कुरा गरेको सुनिने एउटा श्रव्य सामग्री सार्वजनिक भएपछि पदत्याग गर्नु परेको घटना र देशमा भ्रष्टाचार बढेको भन्ने बढ्दो टिप्पणीका सन्दर्भमा उक्त कुरा बताएका हुन् ।
क्रान्ति तथा आन्दोलनका बेलामा मृत्युलाई समेत सामना गरेर जस्तोसुकै त्याग र तपस्या गर्ने नेताहरू सत्तामा पुगेपछि जनताका काम गर्न छाड्ने, कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको दाहालको भनाइ थियो ।
‘त्यहाँ (सत्तामा) गइसकेपछि पद, प्रतिष्ठा, लोभलालचमा अनि विभिन्न खालका विसंगति, विकृति भ्रष्टाचारजन्य क्रियाकलापहरू देखिन जाने,’ उनले भने, ‘हिजो मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने मान्छेहरू शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै, जनताबाट अलिकति कटेको जस्तो, भावनालाई सम्मान गर्न नसकेको जस्तो देखिने गर्छ ।’
विश्व कम्युनिष्ट आन्दोलनमा देखिएका कमी कमजोरीबाट पाठ सिक्नुपर्ने उनले बताए । ‘यसो हे¥यो भने हाम्रो पनि त्यही नियति,’ उनले भने, ‘त्यतै जाने खतराका संकेतहरू, त्यति राम्रा देखिएनन् । आजभोलि यसो घटना हे¥यौं भने मान्छेहरू बिग्रनेतिर गएको जस्तो देखिँदै छ ।’
कम्युनिष्ट आदर्शबाट च्युत हुँदा शासन सत्ता ढलेका अन्तर्राष्ट्रिय उदाहरण पनि उनले प्रस्तुत गरे । ‘कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको लडाइँमा झण्डै दुई करोड, सोभियत संघकै मानिसहरूले बलिदान गरेर कम्युनिष्ट सत्ता जोगाए, फाँसिजमबाट,’ उनले भने, ‘कति निर्मम लडाइँ थियो त्यो । पछि नलडीकन गयो त्यो । पुँजीपतिहरूले बडो चलाखीका साथ लगे ।’ कम्युनिष्ट पार्टीका नेताहरू आफ्नो आदर्शबाट च्युत भएका कारण नै त्यो सम्भव भएको उनको भनाइ थियो ।
सोभियत संघको समाजवादी सत्ता विघटनको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘पुँजीपति पनि चाहिँदो रहेनछ, सेना पनि चाहिँदो रहेनछ, बन्दुक पनि चाहिँदो रहेनछ । आफैंले आफूलाई सिध्याउने रहेछन् ।’
यस प्रकारको खतराको संकेत नेपाली कम्युनिष्ट आन्दोलनमा पनि देखिएको उनले बताए । ‘खतराका संकेतहरू मात्रै हुन्, भइसक्यो भन्या होइन, मेरो भनाइलाई बढी नबुझियोस्,’ उनले भने, ‘तर संकेत त त्यति राम्रा देखिएनन् नि आजभोलि ।’
उनले कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीले जहानियाँ राणा शासनको बेलामा कम्युनिष्ट पार्टी गठन गरेर जनतामा राजनीतिक जागरण ल्याउन योगदान गरेको बताए ।



















