भगवान् ! तपाईं किन मन्दिरमै ?

अलिकति लेखपढ गर्न थालेपछि सबैले जान्ने देख्छन्, स्वाभाविकै हो । 

साँच्चै, स्वाभाविक भन्नाले ? ‘स्वभाव’ भनेको के हो ? हामी दैनिक हिसाबमा यति धेरै शब्द अर्थ नबुझी प्रयोग गर्छौं, त्यसको कुनै लेखाजोखा हुँदैन, अनि अर्थ जानिराख्नुपर्ने आवश्यकता पनि हुँदैन । सबैले प्रयोग गरेका भरमा हामी पनि प्रयोग गर्छौं, त्यसको अर्थ त्यसैगरी लाग्छ, जसरी अरूले प्रयोग गर्दा । नेपाली शब्दकोशानुसार स्वभावको अर्थ यस्तो छ : १) आफ्नो वा निजी भाव, २) प्राणी वा पदार्थमा सधैँ एकनासले रहने, जन्मजात तथा प्राकृतिक गुण वा विशेषता, सहज वा स्वाभाविक प्रकृति ३) आनीबानी, चालचलन, आदत र ४) मानसिक प्रवृत्ति, मिजास ।

‘स्वभाव’ शब्दमा व्याकरण छिरायो भने के होला ? व्याकरणको स्वभाव नै यस्तै हुन्छ, जोडिएको टुक्राउने, टुक्रेको जोड्ने । पाणिनीले व्याकरण ‘भगवान्सँग साक्षात्कार’ गर्न बनाएको रे । व्याकरणमा शब्द टुक्र्याउँदा टुक्र्याउँदा टुक्र्याउने ठाउँ सकिएको अवस्थालाई ‘धातु’ भनिन्छ । जसरी धातुबाट धेरै औजार बन्छन्, उदाहरणका लागि एउटै फलामले हँसिया, कुटो, कोदालोमात्रै नभएर कैंची इत्यादि बन्छन्, त्यसरी नै व्याकरणका धातुले पनि धेरै किसिमका शब्द बन्छन् । 

कहिलेकाहीँ विपरीतधर्मी औजार अथवा प्रयोगसमेत एउटै धातुबाट बन्छ, जस्तै हथौडा र ली । पाणिनीको जोड भनेको जसरी एउटै धातुबाट बनेका विभिन्न औजारको सामान्य अवस्थामा धातुगत व्यवहार उस्तै भए पनि प्रयोगगत व्यवहार फरक–फरक हुन्छन्, त्यसरी नै जम्मा ५२ अक्षरको संयोजन वियोजनबाट बन्ने धातुबाट असंख्य वाणी, कथा, कविता, भाषा इत्यादि बन्छन्, मूल एउटै धातु हो । त्यसैगरी, यो रूपको जगतको अधिष्ठाता एउटै ईश्वर हो । 

यो टुक्र्याउने र जोड्ने क्रियालाई व्याकरणमा विग्रह र समास भनिन्छ । सन्धि र समासमा के फरक हुन्छ भने सन्धि भनेको जोडिएको स्थानमात्रै हो भने समास भनेको पूरै शब्दको संयोजन ।

रूपस्वरूपको ‘आडम स्मिथ’ नेपाल पस्दा नेपाली कांग्रेस भयो भने ‘कार्लमाक्र्स’ नेकपा । यो पूरा वाक्यको प्रयोग भयो । यसभित्र छिरेर समास, सन्धि र विग्रह अनि धातु केलाऔँ ।

‘क्यापिटालिज्म’ अर्थात् धनको वितरण गच्छेअनुसार, कर्मअनुसार र लगानीअनुसार हुनुपर्छ भन्ने अवधारणा कांग्रेस पार्टीको ‘धातु’ हो । यो धातुले बनेको कांग्रेसभित्र धेरै औजार (गुटउपगुट इत्यादि) छन् । सन्धि भनेको देउवा र पौडेलको ‘पार्टी सभापति’ बन्ने होडले ठेलामठेल गर्दा बन्ने सहमति हो । विग्रह भनिराख्नु परेन । कहिले तान्त्रिक कांग्रेस र मान्त्रिक कांग्रेस अनि अहिले तान्त्रिकले निलेको हान्त्रिक कांग्रेस । हाँकमात्रै लगाउने र काम चाहिँ माखो नमार्ने तर खानेबेलामा ‘हाम् हाम्’ गर्दै ठूलो मुख बाउने व्यवहारलाई ‘हान्त्रिक’ भनेको । छत्तीसे, बहत्तरे इत्यादि जुन रूपमा देखिएको भए पनि समग्रमा कांग्रेस ‘क्यापिटालिष्टिक’ धातुबाट बनेको पार्टी हो । 

‘कम्युनिज्म’ अर्थात् धनको वितरण जन्मका आधारमा, सहभागिताका आधारमा अथवा कर्मका आधारमा समान र ‘न्यायोचित’ हुनुपर्छ भन्ने अवधारणा नेकपाको ‘धातु’ हो । यहाँ ‘न्यायोचित’ शब्दले महŒवपूर्ण अर्थ राख्छ, विस्तार भयले अहिले यसलाई व्याख्या गरिँदैन । आलोपालो प्रधानमन्त्री बन्न बनेको ओली र दाहालबीचको सम्झौता ‘सन्धि’ हो । प्रयोगगत विशिष्ट धातुविपरीत विविधता ‘कम्युनिष्ट’ भित्र मजाले देख्न पाइन्छ । विप्लव, वैद्य, मैनाली, सिंह कति हो कति । सबै एउटै धातुले बनेका भए पनि प्रयोगगत व्यवहार विपरीतधर्मी देखिन्छ, एउटै धातुले बनेको हथौडा र लीजस्तो, कहिले ढाडमा टेकेर टाउकामा हान्ने, कहिले काँधमा बोकेर परिक्रमा गर्ने ।

फेरि, कुरो व्याकरणकै गरौँ । ‘स्व’ भनेको आफ्नो हो भने ‘भाव’ भनेको परिचय अथवा अभिव्यक्ति । आफ्नोपनाको प्राकृतिक अभिव्यक्तिलाई ‘स्वभाव’ भनिँदो रहेछ । यसो हुँदा, स्वभाव बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न उठ्छ । यहाँ छोटकरीमा यस प्रश्नको निदान गरिन्छ, ‘स्वभाव’ वर्तमान हुन्छ । अब फेरि कुरो घुमेर व्याख्यामै पुग्लाजस्तो देखिन आयो । 

यो ‘वर्तमान’ भनेको चाहिँ के हो नि ? वर्तमान भनेको अहिलेको अवस्था हो । कांग्रेस फुट्ने कि जुट्ने दोधार भएको अवस्था, नेकपाभित्र कार्यकर्ताको बेमेल साम्य भएको अवस्था । भविष्यमा के हुन्छ त्यो अड्कलमात्रै हो, अहिले जे छ त्यो ‘वर्तमान’ हो । यसरी हेर्दा ‘स्वभाव’ बदलिन पनि सक्छ भन्ने कुराको आधार तयार हुन्छ । के स्वभाव बदलिँदा यसको धातु पनि फेरिन्छ ? धातु फेरिँदैन, प्रयोगको रूपमात्रै फेरिन्छ । हिजो हानाहान गर्ने गच्छदार र देउवा, ओली र दाहाल आज एकैठाउँमा बसेर मानामान र छामाछाम गरेजस्तो । 

होइन यो भगवान् मन्दिरमा नै बस्नुपर्ने कारण चाहिँ के रहेछ ? 

एकजना ‘नजान्ने’ भाइले म ‘जान्ने’ दाइलाई फ्याट्टै सोधे । खासमा यो ‘जान्ने’ र ‘नजान्ने’ बीचमा केही अन्तर नहुँदोरहेछ । धातु उही, वर्तमान स्वभाव फरक । जान्नु र नजान्नुको स्वभाव भनेको जान्ने भन्नेले ‘मैले जानेको कुरो मिल्यो कि मिलेन’ भनेर आफ्नोभित्रको कुरो किताब र व्यवहारमा खोजेर ‘दाँज्न’ खोजिँदोरहेछ भने ‘नजान्ने’ ले पनि ‘मैले नजानेको कुरो मैले नजानेका जसरी मिल्यो कि मिलेन’ भनेर बाहिर अरूसँग सिक्ने निहुँमा ‘दाँज्न’ नै खोजिँदोरहेछ । 

नत्र, नजान्ने मान्छेको ‘चित्त बुझ्नेगरी’ उत्तर किन दिनुपथ्र्यो र ? यसै जानेको छैन, त्यसै जानेको छैन । जान्नेले जे भनेको छ, मन परे पनि नपरे पनि खुरुक्क माने भइहाल्ने । तर, व्यवहारमा त्यसो हुँदैन । नजान्नेले जान्नेको भन्दा धेरै जानेको हुन्छ ।

उसबेलामा भए अर्कै तरिकाले उत्तर दिन्थेँ होला तर अहिले ‘जान्ने’ भएपछि त्यसै फ्याट्टै जे पायो त्यही उत्तर दिने कुरो आएन । हुन त भगवान्को कुरो भगवान् नै जानून् तैपनि म जान्ने भएको पत्याएर भाइले सोधेका बेलामा मैले उत्तर दिइनँ भने ‘आ सबै जान्ने जान्ने भन्थे, दाइ पनि हावा पो रहेछन्, के को जान्ने हुनु र’ भन्दिए अवगाल फैलिने डर । एउटा नजान्ने मान्छेले जान्ने मान्छेलाई ‘हावा’ भन्न सक्ने ‘नजान्ने’ समाज छ, हाम्रो । 

मन्दिरमै भगवान् किन बस्दा हुन् भन्ने कुराको भेउ म आफैँले पाएको छैन, भाइलाई उत्तरमात्रै होइन ‘चित्त बुझ्ने’ गरी उत्तर कसरी दिऊँ त ? साह्रै आपत् आइलाग्यो । एकछिन आँखा चिम्लिएँ । चिम्लिएझैँ के गरेको, भाइ फेरि भन्न थाले, ‘सजिलो पाराले, नघुमाई छोटकरीमा भन्नु है दाइ । आँखा खुलै हुँदा त लामो जवाफ आउने, आँखै चिम्लिएपछि झन् २–४ घण्टाको त के कुरो भयो र ! कुरो नसकिएर ‘भोलि आऊ अनि अरू कुरो गरम्ला’ भनेर दाइले आज चाहिँ भूमिकामै समय सक्ने हुन् कि भन्ने पिरलो परेछ बिचरा भाइलाई । मेरो ‘जान्ने’ बानीसँग सबै परिचित छन्, कुरो सुरु हुन्छ, टुंगिने छेकछन्दै आउँदैन ।

वास्तवमा कुनै पनि प्रश्नको जवाफ भनेको बढीमा २ वाक्य हुन्छ । तर, त्यो दुई वाक्य भन्न अरू कति वाक्य खर्च गर्नुपर्छ । प्रजातान्त्रिक मुलुकमा भाषण सामान्य कुरा हो । एउटा भाषण कार्यक्रममा गएर ‘वक्ता’ का ‘दुई शब्द’ सुनेर आउने मान्छेले केही हदसम्म यो ‘दुई वाक्य’ को मर्म बुझ्न सक्छन् । ‘नजान्ने’ मान्छे ‘जान्ने’ भन्दा ‘जान्ने’ हुन्छ भन्ने भय यो नजान्ने मान्छेले म जान्ने मान्छेलाई पनि आउँदो रहेन छ भन्ने कुराको भेद जान्यो भने के हुन्छ ?

मन्दिरमा भगवान् किन बस्दा हुन् त ? उहिले ऊ बेला काठमाडांै बस्दा बिहान–बिहान पशुपतिनाथको मन्दिर जाने गरिन्थ्यो । बेरोजगार भएका बेलामा यो क्रम अलिक बढी हुन्थ्यो । एकदिन बिहानै पशुपतितिर जाँदै गर्दा बाटोमा एक मित्र भेटिए ।  मैले मन्दिर जाऊँ भन्दा मानेनन् । उनले भने, ‘हिजो रुवाबासी डाँडामा एउटालाई मुर्गा हानेर मज्जाले तुईंक्याएको छ क्या, हृवास्सै वास्ना आउँदा बुढा जुरुक्कै उठेर ‘बोतल खोई ?’ भने भने क्या’र्नु ! पैसो छैन । 

गँजडीको त टुंगो ‘नि हुन्न यार । म’नि मागेर खाने, बुढा’नि मागेरै चलाउँछन् । सबै माग्नैमात्र जान्चन् । नहुँदाका बेलामा माग्दाको पिरलो कि त मैले बुझ्या छु कि त बुढाले । म त जान्न यार, तिमी जाऊ । ‘मेरो आस्थाको भगवान्मा मेरै साथीले गरेको टिप्पणी । म ट्वाँ ! जागिर माग्न जान लाग्या’थ्येँ, जाऊँ कि नजाऊँ भयो । 

के भगवान्को घर हो त मन्दिर ? 

मन्दिर भगवान्को घर हो कि अफिस ? उहिले हृवाकुमा छँदा खानेबेलामा बुबालाई बोलाउनुपथ्र्यो । बुबा कामले बाहिरतिर खेतमा अथवा गाउँतिर निस्किनुभएको छ भने बाहिर गारामाथि उभिएर कस्सिएर कराउनुपथ्र्याे, ‘ए बुबा, बुबा हाओ’ । मैले वा भाइबहिनी जसले कराए पनि सबै एकैठाउँमा उभिएर उसै गरेर कराउने गरिन्थ्यो । यस्तै मन्दिरमा पनि भगवान्लाई बोलाउन कराउने ढुंगो पो हो कि ! अहिलेसम्म मन्दिर गएर बोलाउनेले भगवान् आएको खबर ल्याएका छैनन् । भने’सी बोलाउने ढुंगोको पनि टुंगो लागेन, मन्दिर ।

घरमा सधैँ बसिँदैन (डेरालाई पनि यहाँ घर नै बुझौँ) । कहिले बाहिर, कहिले बजार । सबै कामका लागि बाहिरै जानुपर्छ । तैपनि वास बस्न र सामान्य व्यवहार सञ्चालनको केन्द्र घर नै हो । ‘अफिस’ गएको मान्छे घर आउँछ, घर गएको मान्छे फेरि अफिस । अफिस नहुने मान्छे पनि घरबाहिर जान्छ । साधारणतया कसैलाई खोज्ने खास ठाउँ कि घर कि त अफिस । ‘ओए कान्छा, भरे दिउँसो तेरा काकालाई यहाँ पठाइदे ल ! घर र अफिस दुइटै नहुने मान्छेलाई भेट्नुप-यो भने चाहिँ ‘भगवान् भरोसे’ संयन्त्र प्रयोग गर्नुपर्दो रहेछ । 

भगवान्को आफ्नै घर छ, वैकुण्ठमा नारायणको, कैलाशमा शिवको, गोलोकमा कृष्णको । यहाँ मन्दिरलाई ‘भगवान्को घर’ भन्न मिलेन । त्यसो भए ‘डेरा’ हो त ? विभिन्न सिलसिलामा स्थानान्तरण हुनु जीवनको एउटा पाटो हो । हामी काठमाडौंमा डेरा बस्दा हाम्रो ‘घर’ नै नभएको होइन । घर टाढा भएर डेरा बस्नुपरेको । घरै नभएर डेरा बस्ने पनि धेरै छौँ । भगवान्को घर छ । मन्दिर चाहिँ डेरा हुन सक्ने झिनो सम्भावना देखियो । 

तर, त्यो पनि भरपर्दो जवाफ भएन । हामीलाई पो हृवाकुदेखि काठमाडौं आउन ट्याम लाग्छ र डेरा बस्नुपर्छ त, भगवान् त मिलिक्कै ! किन डेरा बस्नु र ? फेरि अर्को कुरो आयो । यो याक्सो पो हो कि क्या हो ? याक्सो हुन सक्ने सम्भावना प्रबल देखियो । किनभने आवतजावत गर्न सकिने ठाउँ भए पनि त्यही ठाउँमा केहीबेर अलमल गर्दा घामपानी छल्न, बाँदर, चराचुरुंगीबाट बालीनालीको सुरक्षा गर्न बनाइएको ‘टेम्पररी’ छाप्रो याक्सा हो ।  

यसो मन्दिर हेरेँ, यो त ‘टेम्पररी’ होइन, सदियौँदेखि यहीँ छ । अनि फेरि ठानँे, मान्छेलाई याक्सा ‘टेम्पररी’ भए नि कमिलालाई त जन्मजन्मान्तरको ‘पर्मिनेण्ट’ हो नि ! त्यस्तै हाम्रा लागि ‘पर्मिनेण्ट’ देखिएको मन्दिर भगवान्का लागि त ‘टेम्पररी’ नै हो नि । यो तर्क पनि तुरुन्तै तुहियो । कोही कसैलाई खोज्न घरमा जान्छ कि याक्सामा ? हामी चौबीसै घण्टा मन्दिरमा भगवान् छन् भन्छौँ । त्यै भएर याक्साको ‘कन्सेप्ट’ ले नजान्ने भाइको प्रश्नको ‘चित्त बुझ्दो’ जवाफ धान्ने देखिएन ।

अहिलेसम्म भगवान्को अफिसका बारेमा चर्चा सुनिएको छैन । मन्दिर भगवान्को अफिस हुने सम्भावना अलिक पुष्टि हुने खालको देखियो । अफिस, अ ‘फिस’ । फिस भनेको माछो । कसैले समाउन सक्ने होइन । फिस भनेको शुल्क पनि हो । अफिसमा जस्तै मन्दिरमा पनि भगवान्को चाकडी, चाप्लुसी, फिस, इत्यादि धेरै कुरामा समानता पाइयो । यो अफिस शब्द चाहिँ काइदाको देखेर नै मैले आफ्नै हुकुमी सत्ताको प्रयोग गरेर अंग्रेजीलाई नेपाली बनाएको । अ फिस (एउटा माछो) अफिस (कार्यालयमा) मा बसेर फिस (घुस) खाँदाखाँदा ‘अ बिग फिस’ बन्ने हुँदा ‘अख्तियार’ को व्यवस्था गरिएको हुन सक्छ । यस्तो बहुगुणी अफिस नेपालीकरण गर्न मलाई कुनै किसिमको हिच्किचाहट भएन, बरु गर्व छ । 

अफिसमा दुवै किसिमका ‘फिस’ अथवा एकमात्र फिस बुझाएपछि आफ्नो उन्नतिको रूपरेखा कोर्न पाइन्छ । त्यसरी नै मन्दिरमा पनि ‘फिस’ बुझाएपछि आफ्नो उन्नतिको रूपरेखा कोर्न पाइयो । यो पनि त्यति उपयुक्त देखिएन । अफिसमा फिस लिने मान्छेले प्राप्त फिस आफैँले ग्रहण गर्ने व्यवस्था हुन्छ, कहिलेकाहीँ खेताला लगाएर पनि फिस ग्रहण गर्ने गरेको देखिन आउँछ तर त्यो केन्द्रमा निर्विरोधरूपमा पुग्छ । खेतालाले हिसाबशान्ति भाग पाउँछ, त्यो अलग्गै कुरो हो । मन्दिरमा जाने सबै फिस खेताला अथवा पुजारीका भागमा मात्रै जाने हुँदा ‘मन्दिर’ भगवान्को अफिस हुने तर्क पनि साबित गर्न सकिएन ।

‘आ, दाइ कति सोचेर बसी’रा ? दाइलाई आउँछ भनेर पो सोधेको त’ भनेर मेरो जवाफको ध्यान प्रक्रिया भाइले भंग गरिदिए । फसाद प-यो ! 

‘भाइ यार तिमी पनि बीचैमा प्वाक्क बोल्छौ । भगवान्को कुरो भगवान्लाई नै नसोधी कसरी भन्नु भनेर यसो ध्यान लगाउन खोजेको । मलाई आउँदैन । कि त मलाई सोध्न देऊ होइन भने भगवान्को कुरो उनैलाई सोध’ भनिदिएँ ।

मैले कसैलाई हिम्मत गरेर आफ्नो ‘जान्ने’ पनाको इज्जतको ख्याल गर्दागर्दै पनि धान्न नसकेर ‘मलाई आउँदैन’ भनेको पहिलोपटक । भनिसकेपछि बडो शान्ति महसुस भयो ।

‘हे भगवान् ! अब चैँ बुढा नि खुस्केछन् भन्दै भाइ हिँडे । म भगवान्लाई सोध्न खोज्दै छु, ‘साँच्ची तपाईं किन मन्दिरमै बस्नुहुन्छ ?’, भनेर ।

(अष्ट्रेलियाबाट)