फेरि शीर्षमा मछिन्द्र

काठमाडौं । मछिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको फेरि शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्षमा उक्लिएको हो ।

आर्मीलाई २ अंकले पछि पार्दै मछिन्द्र शीर्षमा उक्लिएको हो । जितसँगै मछिन्द्रले ९ खेलमा १९ अंक जोडेको छ । दोस्रो स्थानको आर्मीको १७ अंक रहेको छ । थ्री स्टारले ९ खेलमा १४ अंक जोडेको छ । थ्री स्टार लिगको चौथो स्थानमा रहेको छ ।

मछिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राईले गोल गरे । खेलको ३८औं मिनेटमा सब्सिच्यूड खेलाडी रेजिनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । रेजिन २८औं मिनेटमा दीपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यसपछि खेलको ९०औं मिनेटमा विशालले गोल गर्दा मछिन्द्र २–० ले विजयी भयो ।

खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आफूहरूले ३ अंकका लागि खेलेको र त्यो पाउँदा खुसी व्यक्त गरे । ‘खेलमा सोचेजस्तो प्रदर्शन भयो । जित्ने भनेर आएका थियौँ, जित्यौं । अहिलेसम्मको खेलकै राम्रो प्रदर्शन भयो,’ उनले भने ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेल खेलेपछि प्रतिस्पर्धात्मक खेल भएकोमा सन्तुष्टि व्यक्त गरे । ‘खेल राम्रो खेलेको हो । खेलअनुसारको स्कोर भएन । मछिन्द्रले पनि राम्रो मुभ बनाएन । स्कोरमात्रै निस्कियो,’ केसीले भने, ‘प्रदर्शनबाट खुसी छु ।’ उनले आफ्नो टोली उपाधि होडबाट बाहिरिएको र अब आफूहरू शीर्ष स्थानका लागि खेल्ने बताए ।

पुलिसको जित

यस्तै, अर्को खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । विभागीय डर्बी भिडन्तमा पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले निर्णायक गोल गरे । खेलको १३औं मिनेटमा भोलाले पेनाल्टिमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् ।

रवि पासवानको कर्नरमा भरत शाहलाई एपीएफका खेलाडीले डिबक्सभित्र फउल गर्दा पुलिसले पेनाल्टी पाएको थियो । जसमा भोलाले सहजै गोल गरे । खेलमा पुलिसका सौजन राई म्यान अफ द म्याच चुनिए । एपीएफलाई पराजित गरेसँगै पुलिस लिगको पाँचौँ स्थानमा उक्लिएको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।

पराजित एपीएफ ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस हारसँगै एपीएफलाई रेलिगेसनको दबाबसमेत बढेको छ ।

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहको छ । गतवर्ष रेलिगेसन सिष्टम नराखे पनि यसवर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनका लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौँले ७ लाख र छैटौँ स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्नेछन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त गर्नेछन् । खेल बराबरीमा रोकिएमा १५÷१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ ।