काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तसँगको भेटका क्रमममा उनले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपालबाहिर गरेका गतिविधिप्रति चासो व्यक्त गर्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् । सोही अवसरमा संघका अध्यक्ष पन्तले संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको भन्दैै छिटै टुंगो लगाइने आश्वासन दिएका थिएको एनआरएनएले जनाएको छ ।
पन्तले दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलनबारे समेत जानकारी गराएका थिए । साथै, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बकोे सामूहिक लगानी कोषको तयारीका बारेमा पनि छलफल भएको एनआरएनएले जनाएको छ । अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकका हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति विशेष चासो व्यक्त गर्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरे । संघको भर्खरै पोखरामा सम्पन्न ७१औं बैठकका लागि नेपाल आएका अध्यक्ष पन्त हाल विभिन्न उच्च पदस्थ व्यक्तित्व तथा सरोकारवाला निकायसँगको भेटमा व्यस्त छन् । भेटका क्रममा गैरआवासीय नेपाली समुदायका विभिन्न माग तथा सरोकारका विषयमा छलफल भइरहेको उनले बताएका छन् ।




















