थ्रीस्टारमाथि आर्मीको जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत बुधबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे । खेलको पहिलो हाफमा कुनै गोल नभएपनि आर्मीले दोस्रो हाफमा दुवै गोल ग¥यो । खेलको ५४औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । यस्तै ७९औं मिनेटमा सन्तोष तामाङले आर्मीका लागि दोस्रो गोल गरे । 

४५ दिनको प्रतिबन्धपछि मैदानमा फर्किएको पहिलो खेलमै सन्तोषले गोल गरेका हुन् । कुवेतविरुद्ध विश्वकप छनोट खेल्न भुटान प्रस्थान गर्नुअघि उनीसहित चारजना नेपाली खेलाडी नाइट क्लबमा भएको भेटिएपछि एन्फाले अनुशासनको कारबाही गर्दै प्रतिबन्ध लगाएको थियो । उनी खेलको म्यान अफ द म्याचसमेत चुनिए ।

खेलपछि सन्तोषले आफू एन्फाको प्रतिबन्ध पछि धेरै रोएको बताए । ‘म आफैंलाई निकै नराम्रो महसुस गर्दै धेरै रोए । आफ्नै गल्तिका कारण सुरुदेखि लिग खेल्न नपाउँदा फुटबललाई मिस गरे । युवा खेलाडीलाई यता÷उता केही नहेरी फुटबलमा फोकस हुन पनि आग्रह गरे ।’

नियमित कप्तान विक्रम लामाले अघिल्ला दुई खेलमा पहेलो कार्ड पाएको कारण थ्रीस्टारको कप्तानी अनन्त तामाङले गरेका थिए । खेलको ९०औं मिनेटमा थ्री स्टारले पाएको पेनाल्टीमा गोल फर्काउन सकेन । थ्री स्टारका रूपेश केसीको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।

त्यसअघि खेलको तेस्रो मिनेटमा नवयुग श्रेष्ठले मिलाएको पासमा कप्तान भरत खवासको शसक्त प्रहार थ्री स्टारका विदेशी गोलकिपर प्रिसोले बचाए । खेलको १८औं मिनेटमा नवयुगको प्रहार थ्री स्टारका खेलाडीले गोल लाइनबाट बचाउदा आर्मी अग्रता बनाउन चुक्यो । 

जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस्रो जित निकालेको आर्मी तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ । लिगमा पहिलो हार व्यहोरेको थ्री स्टार लिगको छैटौं स्थानमा छ ।

जितपछि आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले उपाधि होडका लागि यस खेलको अंक महŒवपूर्ण रहेको बताए । ‘हाम्रो हतियार नै खेलाडीको शारीरिक क्षमता हो । जसले आज फाइदा भयो । तर, पहिलो हाफमा धेरै अवसर गुमायौं । दोस्रो हाफमा सदुपयोग भयो,’ प्रशिक्षक न्यौपानेले भने, ‘लिगको उपाधिका लागि यस्तो खेलमा अंक लिनुपर्छ । सन्तोषको पुनरागमनले सजिलो भयो । आवश्यक खेलाडी आएको छ ।’

थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले आर्मीसँगको खेल खेल्न नसकेको बताए । उनले टिममा कप्तान विक्रमको अभाव खड्किएको समेत बताए । ‘आर्मीको अगाडी खेल्न सकेनौं । पेश नमिल्दा निरिह भयौं । हाम्रो फरवार्ड लाइनबाट जे हुनु पथ्र्यो त्यो भएको छैन,’ उनले भने, ‘विक्रम टिममा नहुँदा गाह्रो भयो । आर्मी धेरै बलियो देखियो ।’

 पुलिसको जित

यस्तै बुधबार भएको अर्को खेलमा नेपाल पुलिस क्लबले संगटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको छ । जितसँगै पुलिसले ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

पुलिसको जितमा दुवै गोल सुमन लामाले गरे । खेलको १५औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको १८औं मिनेटमा संगटाका अमित तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । पुलिसका डिफेण्डरले डिबक्स एरियाभित्र हृयाण्ड गरेपछि संगटाले पेनाल्टी पाएको थियो ।

खेलमा एक÷एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन । खेलको ३३औं मिनेटमा सौजन राईको पासमा पुलिसका सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । खेलमा सुमन लामा म्यान अफ दि म्याच घोषित भए । पराजित संकटाले चार खेलमा चार अंक जोडेको छ । संकटा अंक तालिकाको दशौं स्थानमा छ । 

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता छ । गत वर्ष रेलिगेसन सिस्टम नराखेपनि यस वर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीका लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचांैले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकिपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउनेछ ।