भरतलाल र पुष्करलालका नाममा अवार्ड दिइने

काठमाडौं । समाजसेवी तथा व्यवसायी स्व. भरतलाल श्रेष्ठ र पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्डको आयोजना गर्ने भएको छ । सो अवार्ड यही पुस १९ गते सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीमा हुने गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ समारोहमा प्रदान गरिने बताइएको छ । 

भरतलाल हृयुम्यानिटेरियन अवार्ड तथा पुष्करलाल मिडिया अवार्ड क्रमशः समाज सेवा र नेपाली मिडियाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिŒवहरूलाई प्रदान गरिने बताइयो । भरतलाल श्रेष्ठ तथा पुष्करलाल श्रेष्ठ नाताले पिता–पुत्र हुन् । लायन्स क्लबलगायत समाजसेवी संस्थामा रहेर आजीवन सेवा पु¥याएका भरतलाल २०७२ सालमा दिवंगत भए भने कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा मिडिया उद्यमी एवं सिर्जनशील पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्षको अल्पायुमै गत वैशाख ४ गते निधन भएको थियो । 

भरतलाल पहिलो नेपाली फिल्म अवार्डका प्रणेता तथा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर थिए भने पुष्करलाल निजी क्षेत्रमा प्रकाशन गृह तथा मिडिया समूह सञ्चालन गरेर खासगरी छापा माध्यममा अपूर्व योगदान दिँदै चलचित्र र मनोरञ्जनको विधामा पत्रकारिताको थालनी गर्ने व्यक्तित्व, जसले नेपालमा २०४१ सालमै यस कार्यको प्रारम्भ गरेका थिए ।

भरतलाल हृयुम्यानिटेरियन अवार्ड पाउनेहरूमा समाजसेवामा निरन्तर लागिरहेका एवं मानवीय कार्यमा समर्पित व्यक्तित्व हुनेछन् । त्यसैगरी, पुष्करलाल मिडिया अवार्डका हकदारमा नेपाली मिडिया क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका तथानेपाली सञ्चार क्षेत्रमा स्वदेशी पुँजी, श्रम र सोचको सम्मान र प्रवद्र्धन गर्दै यस क्षेत्रमा विशिष्ट योगदान दिएका मिडियाकर्मी हुनेछन् । मिडियाकर्मीभित्र सञ्चार उद्यमी तथा प्रकाशन, प्रसारण, अनलाइन, फोटो पत्रकारिता, व्यंग्यचित्र कलाकारितालगायतका विधामा समर्पित पत्रकारलाई समेटिने पनि जानकारी गराइन्छ । 

दुवै स्मृति अवार्डका लागि प्रशंसायुक्त ताम्रपत्रका साथ एक–एक लाख रुपैयाँ प्रदान गरिनेछ । अवार्ड पाउने व्यक्तित्वको नाम सम्मान समारोहमै घोषणा गरिने छ । गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ समारोहको तयारी अन्तिम चरणमा चलिरहेको बताइएको छ ।