चितवन राइनोज फाइनलमा

पोखरा । चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मंगलबार आफ्नो लिग चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो । 

साविक उपविजेता राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको टोली चितवनले लिग चरणका पाँचै खेलमा अपराजित समूहको शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेको हो । चितवनसँगको पराजयसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली प्लेअफ खेल्नका लागि बुधबार बुटवल ब्लास्टर र विराटनगर टाइटन्सबीचको खेलको नतिजामा निर्भर रहनुपर्ने भएको छ । 

खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरै ओभर खेल्दै चार विकेट गुमाएर १६७ रनको स्कोर खडा गरेको थियो । प्लेअफमा स्थान सुरक्षित गर्नका लागि १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं २० ओभरमा पूरै विकेट गुमाउँदै १०७ रनमा समेटियो । 

काठमाडौंका कप्तान मल्लले ३९ बलमा ४० रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै पवन सर्राफले १९ बलमा २७ तथा पृथु बास्कोटा २३ बलमा १८ रन बाहेक अन्य आठ ब्याट्स म्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।

सुरुवाती ब्याट्स म्यान जयकृष्ण कोल्सावाला र अमित श्रेष्ठले एक दशमलव चार ओभरमा मात्र दुई रन जोडेपछि काठमाडौं दबाबमा आएको थियो । चितवनका सन्नी पटेलले चार ओभर बलिङमा एक मेडन ओभर राख्दै १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, रोहन मुस्ताफाले दुई तथा करण केसी, भुवन कार्की, रामनरेश गिरी र पारस खड्काले एक–एक विकेट लिए । चितवनका सुरुवाती ब्याट्स म्यान रोहन मुस्ताफा तथा तेस्रो क्रममा इनिङ्स सम्हाल्न आएका बाबर हायातले अर्धशतकीय पारी खेले । खेलको ‘म्यान अफ दी म्याच’ मुस्ताफाले अविजित रहँदै ५२ बलमा ५९ रन जोडे । हायातले ४७ बलमा ७० रन जोड्दै टोलीको इनिङ्स उकासे । दोस्रो विकेटका लागि उनीहरूले ११९ रनको साझेदारी गरेका थिए । प्रतियोगिताअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेल समूहमा दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सबीच हुनेछ । बुटवलले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने विराटनगरलाई प्लेअफमा पुग्न फराकिलो अन्तरको जीत आवश्यक हुनेछ । 

पुस १२ सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हँुदैछ । पोखरा पल्टन, चितवन राइनोज, धनगढी ब्लुज, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अघिल्लो संस्करणमा जस्तै यस संस्करणमा पनि उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । मोस्ट भ्यालुएबल खेलाडीले १ लाख र इमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्रदान गरिनेछ ।