उपत्यकाका खोलामा धमाधम करिडोर निर्माण

काठमाडौं । नेपाल सरकारले केही वर्षदेखि उपत्यकाभित्रका खोलाको संरक्षण तथा नियन्त्रण गर्न थालेको छ । अधिकार सम्पन्न वाग्मती सम्यता एकीकृत विकास समितिले विगत लामो समयदेखि खोला नियन्त्रण, करिडोर सडक र सजावटको काम गरिरहेको छ । उपत्यकाभित्र भएका खोलामध्ये ६ वटा खोलाको करिडोर निर्माणको काम भइरहेको छ । यी खोलामा लगभग ५० प्रतिशत काम सकिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए । उनले वाग्मती, धोविखोला, विष्णुमती, हनुमन्ते, मनोहरा, बल्खु, नख्खु, कर्मनाशा, महादेव खोलालगायतमा करिडोर निर्माण भइरहेको बताए । उनले सुरुमा ६ वटा खोलामा करिडोर निर्माण सुरु गरिएको भए पनि अहिले थप ३ खोलामा पनि निर्माण सुरु गरिएको बताए ।

उनले भक्तपुरको हनुमन्ते खोलाको राधेराधेदेखि थिमिपुलसम्म ६० प्रतिशत करिडोर निर्माणको काम पूरा भइसकेको बताए । बाँकी भाग चालु आर्थिक वर्षमै सल्लाघारी पुलदेखि राधेराधे, मध्यपुर थिमिको पुलदेखि बालकुमारीपुल सम्मको ठेक्का दुई चरणमा निकालिएको बताए । यो काम ३० महिनामा पूरा गर्ने योजना रहेको छ ।

उपप्रमुख चित्रकारले विष्णुमती खोला करिडोरको काम चालु आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न हुने बताए । उनले वाग्मती–विष्णुमती दोभानदेखि नयाँबसपार्क पुलसम्मको काम तीव्र गतिमा भइरहेको बताए । उनले २०७२ सालमा सुरु भएको यो करिडोरका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ । २०७५ सालमा करिडोर निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न सामाजिक समस्याका कारण एक वर्ष ढिला भएको जानकारी दिए । 

यसैगरी, धोविखोलाअन्तर्गत वाग्मती–धोवीखोलाको दोभानदेखि बालुवाखानी सम्मको  दायाँ–बायाँ ९÷९ किलोमिटर गरी १८ किलोमिटर ढल हाल्ने काम सम्पन्न भइसकेको छ । धोबीखोला करिडोर सुधार आयोजनाले नदी नियन्त्रण र सडक बनाउने काम गरिरहेको छ । २÷३ किलोमिटर ढल, सडक  र नदी नियन्त्रण गर्ने काम बाँकी छ । ढल राख्नका लागि मात्र ५० करोड खर्च भएको आयोजना उपप्रमुख चित्रकारले जानकारी दिए । 

अर्को करिडोर बल्खुखोलाअन्तर्गत कीर्तिपुरभन्दा तल कान्तिपुर कोलनीदेखि कलंकी पुलसम्म काम भइरहेको छ । गत वर्षदेखि उक्त खोलाको काम सुरु भएको हो । यस खोलाको काम ५० प्रतिशत भइसकेको छ । यसका लागि चालु आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन भएको छ । गत वर्षमा ३ करोड बजेट छुट्याइएको थियो । उक्त खोला निर्माणका लागि ५५ करोड रुपैयाँ लाग्ने अनुमान छ । 

यता, वाग्मती खोलामा करिडोर सडक बनाउने काम बाँकी छ । धोवीखोला वाग्मती दोभान पुलदेखि बुद्धनगर पुलसम्मको खण्ड र थापाथलीपुलदेखि टेकुपुलसम्मको खण्ड, सिनामंगल पुलदेखि मिनभवन पुल दायाँ किनाराको करिडोर सडक बनाउने काम बाँकी छ । ढलको काम लगभग पूरा भइसकेको छ । चालु आर्थिक वर्षमा १५ करोड बजेट छुट्याइएको छ । तर, वाग्मती खोलामा विवाद मुआब्जा विवाद छ । हालसम्म काम नै सुरु नभएको चालु आर्थिक वर्षमा थप गरिएको मनहरा, कर्मनासा, महादेवखोला हुन् । यसको सर्वेक्षण र अध्ययनको काम भइरहेको छ । साथसाथै डिपिआर तयार गर्ने काम पनि भइरहेको छ ।