व्यावसायिक संगठनमा पराजय झेल्दै नेकपा

काठमाडौं । पछिल्लो समय सरकारको आलोचना बढ्दै गएको छ । सरकारका काम कारबाहीविरुद्ध असन्तुष्टिहरू प्रकट भइरहँदा सत्तारूढ दलका नेता ‘प्रतिगमनकारीहरू परिवर्तनविरुद्ध सक्रिय हुन थालेको’ टिप्पणी गर्न थालेका छन् । 

हालै भएका केही व्यावसायिक संगठनका निर्वाचनमा भने सत्तारूढ दलनिकट समूह नराम्ररी पराजित भएबाट संघमा दुई तिहाइ बहुमत रहेको सरकारकै लोकप्रियता घटेको अर्थमा व्याख्या गर्न थालिएको छ । 

केन्द्रमा मात्रै नभई सातवटा प्रदेशमध्ये ६ वटामा सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यावसायिक संगठनहरूले धमाधम पराजय व्यहोरेका हुन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लादेखि अर्का अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लामा समेत नेकपानिकट व्यावसायिक संगठन पराजित हुनुलाई सामान्य रूपमा लिन नहुने विश्लेषकहरूको भनाइ छ ।

मंगलबार भएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा निकट प्यानल नै पराजित भएको छ । निर्वाचनमा लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरेसहितको प्यानल विजयी भएको छ । नेकपा र संघीय समाजवादी पार्टीनिकट व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सरोजकुमार पोखरेल पराजित भएका छन् । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भई सत्तारुढ नेकपाले विशाल आकार लिएको अवस्थामा अर्को सत्तारूढ घटक संघीय समाजवादी पार्टीको समेत समर्थनमा साझा प्यानल बनाएको अवस्थामा पोखरेलको टिम पराजित भएको हो ।

गैरे कुल ३३० मत प्राप्त गरेर विजयी हुँदा पोखरेलले २८३ मत पाए ।  

यसअघि, दमकमा भएको उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपानिकट प्रगतिशित व्यवसायी संगठनले हार व्यहोरेको थियो । भदौको दोस्रो साता भएको निर्वाचनमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ अध्यक्षमा विजयी भएका थिए । अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक समूह विजय हुँदा प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनमा पनि नेकपा निकट व्यवसायीले पराजय व्यहोरेका छन् । भदौ अन्तिम साता भएको नेपाल निर्माण व्यवसायी संघ चितवनको चुनावमा लोकतान्त्रिक प्यानलका उमानन्द कँडेल (बाबुराम) ले प्रगतिशीलका छवि गौतमलाई फराकिलो मतले पराजित गरेका थिए ।

यस्तै, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा पनि नेकपा निकट उम्मेदवारले पराजय व्यहोरेका छन् । भदौ तेस्रो साता भएको निर्वाचनमा कांग्रेस निकट खुमबहादुर सुवेदीले अध्यक्ष पदमा प्रगतिशील समूहका अञ्जान थापालाई पराजित गरे । 

वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्षमा पनि कांग्रेसनिकट उम्मेदवार नै विजयी भएका छन् । महासचिव र सचिवमा भने नेकपा निकट उम्मेदावार विजयी भए । 

यसैगरी ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा पनि प्रजातान्त्रिक समूहका उम्मेदवार नै विजयी भए । जेठ अन्तिमतिर भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशनरसिंह राणाले नेकपाका उम्मेदवार अर्जुनलाल प्रधानलाई पराजित गरेका थिए ।

व्यावसायिक संगठनमा आफूनिकट समूहको लगातार पराजयपछि नेकपाभित्र बहस सुरु भएको छ । व्यावसायिक संगठनमा पराजय हुनुको कारण पार्टीभित्र खोज्न थालिएको स्रोतले बताएको छ ।

नेकपाका एकजना स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीभित्र अन्तर्घातका घटनाहरू बढ्न थाले । नेताहरूले आफू निकटलाई उम्मेदवार बनाउँदा पनि यस्तो अवस्था आयो । यो विषयमा समीक्षा हुनु जरुरी छ ।’

नेकपा नेता रघुजी पन्तले यो विषयमा संगठन विभाग प्रमुखको प्रतिक्रिया लिन सुझाव दिए । ‘मलाई यो विषयमा नसोध्नुहोस्,’ हिमालय टाइम्ससँग कुरा गर्दै उनले भने, ‘संगठन विभागका साथीलाई सोध्नुस्, व्यावसायिक संगठनका चुनावको मतपरिणामका विषयमा उहाँले बताउनुहुन्छ ।’

नेकपाका अर्का नेता शेरबहादुर तामाङले पछिल्ला केही व्यावसायिक संगठनका मतरिणामको गम्भीर समीक्षा गर्दै पराजयको कारण पत्ता लगाउनुपर्ने बताए । ‘अहिले जनतामा निराशा छाएको छ । हामी सबैले सच्चिनु जरुरी देखिन्छ । शीर्ष नेतृत्वदेखि वडा तहसम्म र सरकारले समेत आत्मसमीक्षा गर्दै अगाडि बढ्न सकिएन भने भोलि ठूलो दुर्घटना हुन सक्ने सम्भावना छ,’ उनले भने ।