बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ वर्षमा चमत्कारको आश गर्नु कल्पना मात्र हुने बताएका छन् ।
नयाँ संविधानअनुसार चुनाव भएर सरकार बनेको दुई वर्ष नपुग्दै धेरै नकारात्मक टिप्पणी हुनु गलत भएको उनको भनाइ थियो ।
बिहीबार तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उदघाटन गर्दै प्रचण्डले भने, ‘दुई वर्ष पनि भएको छैन । एक थरी मान्छेहरु डेढ वर्षमा धेरै चमत्कार भइसक्नुपर्थ्यो भन्या जस्तो गरी नकारात्मक टिप्पणी गर्छन् ।’
उनले राष्ट्रिय पूँजीलाई प्रोत्साहन र दलाल पूँजीलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर रहेको र बजेटसम्बन्धी सैद्धान्तिक पक्षमा छलफल गरेर खरीद ऐनलाई सरलीकरण गर्नेतर्फ ध्यान दिइएको बताए ।
उनले प्रदेश नं– ५ मा पर्यटन विकासको ठूलो आधार रहेकाले पर्यटन पूर्वाधारको काममा ध्यान दिन सुझाव दिँदै भने–“गौतमबुद्धको जन्मभूमि भएका कारण यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ ।”
अध्यक्ष दाहालले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेकाले हाम्रो सोच र शैलीमा परिवर्तन आवश्यक रहेको विचार व्यक्त गरे । उनले हिजो जेलनेल भोगेका व्यक्ति आज सत्तामा पुग्दा जनताका अप्ठ्यारा विर्सने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए । “२५० वर्ष लामो तानशाही र निरङ्कुताले जर्जर बनाएको समाजलाई डेढवर्षमै चमत्कार हुनुपर्छ भनेर सोच्ने मानसिकतालाई म केही भन्दिन, तर यतिका वर्षको फोहर सफा गर्न समय लाग्छ ।” उनले भने ।
अध्यक्ष दाहालले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयता ल्याउनेमाथि प्रहार हुने भएकाले यसप्रति सचेत हुन उनले आग्रह गरे । “जनताप्रति जिम्मेवार र जवाफदेही भएर स्थानीय तह ठिक भन्ने सन्देश देशभर जानुपर्छ, अनिमात्रै मुलुकमा गणतन्त्र ल्याउन ज्यान गुमाउने शहिदहरुको सपना साकार हुन्छ ।” उनले भने ।
लगानी सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, राजनीतिक दलका नेताहरु, विभिन्न प्रदेशका मुख्यमन्त्री, विभागीय मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारीहरु, राष्ट्र बैंकका गभर्नर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, डिएफआईडिका प्रतिनिधि, चिनीया प्रतिनिधि लगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको सहभागिता रहेको छ ।
स्वदेशी तथा विदेशी लगानीलाई तिलोत्तमामा आकर्षित गर्ने उद्देश्यले लगानी सम्मेलनको आयोजना गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।
नगरपालिकाले कृषि, पर्यटन, उद्योग, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिएर विभिन्न २२ परियोजनाका विषयमा प्रस्ताव तयार गरेको नगरप्रमुख घिमिरेले जानकारी दिए । लगानी सम्मेलनमार्फत ती परियोजनामा निजी क्षेत्रबाट ५० अर्बभन्दा बढी पुँजी भित्रिने आयोजकको अपेक्षा छ ।
लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, ढाक्रेवास पर्यटकीयस्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनेसहब, रेलवे रिङरोडजस्ता परियोजनामा लगानी भित्र्याउने मुख्य लक्ष्य राखिएको छ ।
यो वर्षलाई आधार वर्ष मानेर लगानी सम्मेलनमा सम्झौता गर्ने उद्योगलाई ५ देखि १० वर्ष सम्म निश्चित कर छुट दिईने छ । नगरपालिकाले सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने तथा सहकारिता, सहकार्य र सहअस्तित्वको अभियानको रुपमा समेत लगानी सम्मेलनलाई लिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेका कारण लुम्बिनीसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजनाअनुरुप ठूला–ठूला होटल खोल्नका लागि जग्गा भाडामा दिने योजनासमेत अघि सारिएको छ ।



















