कड्किए देउवा : प्रतिपक्षलाई हेप्ने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शालीन भूमिका निर्वाह गरेकै आधारमा प्रतिपक्षलाई नहेप्न चेतावनी दिएका छन् । सडक आन्दोलनका नाममा तोडफोडको राजनीति कांग्रेसले नगर्ने भएकैले कमजोर नठान्न उनले सरकारलाई चेतावनी दिएका हुन् ।

गणेशमान सिंह तथा जनआन्दोलनका शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘रेलिङ त भाँचेका छैनौं नि, कुर्सी त तोडेका छैनौं नि । त्यो नगरेको हुनाले हेप्ने हामीलाई ?’ संविधानको मर्म र भावनाअनुसार अघि बढ्न सरकारलाई सुझाव दिँदै उनले संविधानको मर्मविपरीत ल्याइएका विधेयकहरू कांग्रेसलाई स्वीकार्य नहुने प्रष्ट पारे ।

उनले संविधानको सफल कार्यान्वयन र संविधान जोगाउन सबै पार्टी एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘संविधानको सफल कार्यान्वयन र संविधान जोगाउन सबै पार्टी एक भएर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘हामी सबै एक होऊँ, संसारको कुनै पनि तागतले हामीलाई केही पनि गर्न सक्दैन ।’ संविधानको मर्म र सिद्धान्तअनुसार चले संसारको कुनै पनि तागतले केही पनि गर्न नसक्ने उनको आशय थियो । 

बहुलवादमा आधारित संविधानले महिला, दलित, मधेसी, आदिवासी जनजाति, पिछडिएका क्षेत्रको अधिकार सुरक्षित गरे पनि संविधान कार्यान्वयन पक्ष चिन्ताजनक रहेको बताए । सरकार लोकतन्त्रका मूल्यमान्यताको विरुद्धमा उत्रिएको आरोप लगाउँदै उनले संविधानविपरीतका सरकारका गतिविधि कांग्रेसलाई स्वीकार्य नभएको प्रष्ट पारे । ‘सरकार संविधानको स्पिरिटविपरीत जनताको मौलिक अधिकारमाथि अंकुश लगाउँदै छ । यस्ता कामहरु भए नेपाली कांग्रेसले कुनै पनि हालतमा स्वीकार्दैन,’ देउवाले चेतावनीपूर्ण भाषामा भने । 

उनले सेना, प्रहरी र कर्मचारीले जनताको करबाट सेवासुविधा पाउने भन्दै उनीहरूलाई जनताको सेवामा लाग्न आग्रह गरे । सरकारलाई सेना, प्रहरी र कर्मचारीलाई नियन्त्रणमा लिने काम नगर्न सुझाव दिँदै उनले भने, ‘पुलिस होस, सेना होस्, कर्मचारी होस, जुनसुकै होस सबले जनताको सेवा गर्नुपर्छ । जनताको सेवा गर्नलाई आएको हो, उनीहरूको कर्तव्य जनताको सेवा गर्ने हो, जनताले तिरेको ट्याक्स खाने हो । कुनै पार्टीप्रति बफादार हुने होइन । उनीहरूलाई हातमा लिने काम छैन ।’

संविधान कार्यान्वयनका क्रममा यसका मूलभूत सिद्धान्तहरू बचाएर राख्नुपर्ने भन्दै देउवाले संविधान कार्यान्वयनमा सरकारलाई सघाउन कांग्रेस तयार रहेको स्पष्ट पारे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूमाथि नै विश्वास नगरेको भन्दै मन्त्रीमाथि विश्वास गर्न नसक्नेले देश बनाउन नसक्ने टिप्पणी गरे । ‘प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूमाथि विश्वास नै छैन । यस्ताले देश चलाउन सक्छ ?,’ उनले प्रश्न गरे ।

कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपरोस् भनेर नै संविधान लचिलो बनाइएको बताए । परिवर्तनका लागि आगामी दिनमा आन्दोलन गर्न नपरोस् भनेर संशोधनको व्यवस्था राखेर संविधानलाई लचिलो बनाइएको उनको भनाइ थियो ।  

उनले विगतमा भएका आन्दोलनलाई पृष्ठभूमिमा राखेर संविधान निर्माण गरिएको स्मरण गराए । संविधान कार्यान्वयनमा केन्द्रित हुन उनले सबै राजनीतिक दलहरूलाई आग्रहसमेत गरे । 

नेम्वाङले अहिलेको संविधानको स्रोत जनता भएको जिकिर गर्दै यसअघिका सबै संविधानमा शासकहरू स्रोत रहेको बताए । ‘संविधानको स्रोत जनता छन् । ०४७ र त्यसअघिका संविधानका स्रोत शासक थिए,’ नेम्वाङले भने । संविधानमा मधेसवादी दलहरूको असन्तुष्टि भए सम्बोधन गरेर अघि बढ्न सकिने प्रष्ट पार्दै उनले कुनै सुधार गर्नु परे त्यसमा खुलेर बहस गर्न सकिने बताए ।

उनले संविधान अपरिवर्तनीय दस्तावेज नभएको तर जनआन्दोलनको जगमा उभिएर बनेकोले परिवर्तनका लागि जनताको भावना जित्नुपर्ने बताए । उनले  संविधानको मुख्य स्रोत नेपाली जनता भएकाले जनताको इच्छा र चाहनाअनुरूप संविधान परिवर्तन गर्न सकिने बताए ।