चित्रकलामा उनको यति धेरै रुचि थियो कि विद्यालयको परीक्षामा पनि वरपरका सबै साथीहरूको कापीमा अमिर महर्जन नै चित्र कोरिदिन्थे । शिक्षक यताउता लागेका बेला पारेर सुटुक्क कापी साटेरे खुरुखुरु चित्र बनाइ दिन्थे । यसो गर्दा उनलाई अपार आनन्द मिल्थ्यो ।
‘बायोलोजी विषयमा धेरै चित्र बनाउनु पथ्र्यो, साथीका नोट कापीमा पनि मैले नै चित्र बनाउँथेँ,’ यति वेला ५३ वर्ष उमेरका अमिर बाल्यकाल र विद्यार्थी जीवन सम्झँदै थिए । चित्र बनाउन पाएपछि उनलाई केही चाहिँदैन थियो । खान र सुत्नसमेत बिर्सन्थे उनी । बालुवा र धुलौटे माटोमा उनी जस्तोसुकै जटिल आकृतिको पनि दुरुस्त चित्र उतार्थे । उनको यो क्षमता देखेर अमिरका परिवार छक्क पर्थे । आफन्त र साथीसंगी उनको क्षमता देखेर प्रभावित हुन्थे ।
पाटन, ढालाछेँ (सुन्धारा) का अमिरले चित्रकलामा अझै निखार ल्याउन सन् १९८७ मा कलाकार हरेराम जोजुबाट यस सम्बन्धी ‘बेसिक’ कक्षा लिए । पोखराका कलाकार हरेरामसँग लिएको त्यो कक्षाले उनलाई चित्रकलामा डुब्न सजिलो भयो । चित्रकलालाई नजिकबाट बुझ्ने अवसर मिल्यो । व्यवस्थापनका विद्यार्थी अमिरलाई त्यो कक्षा वर्षौ पढेको भन्दा धेरै उपयोगी बन्यो ।
चित्रमा डुब्दै बिताउँछन् दिन
बिहान सबेर उठ्नु, चित्रकलाका बारेमा केही बेर घोत्लिनु र त्यसपछि क्यान्भासमा कुची र रङको सहायताले आफ्ना भावना मिसाएर चित्र दुरुस्तै उतार्नु उनको दिनचर्या हो । कहिले त उनलाई साँझ परेको र बिहान भएको पनि थाहा पाउँदैनन् । चित्रमा डुब्नुको रमाइलो नै बेग्लै हुन्छ, यस्तो रमाइलो जोसुकैलाई कहाँ थाहा हुन्छ र ¤ बतितको तीन दशकदेखि उनी यसमै रमाएका छन् ।
चित्र बनाउँदा उनी गीत सुन्न भने छुटाउँदैनन् । गीतसंगीतले एकाग्र हुन सहयोग गर्ने उनको अनुभव छ । यस्तो दिनचर्याले अमिरलाई कहिलेकाहीँ ‘सम्बन्धहरूमा परिचय खोज्नुपर्ने’ जस्तो हुन्छ । साथीभाइ, आफन्त र परिवारभित्र समेत कहिलेकाहीँ त आफूलाई चिनाउनु पर्ने जस्तो हुन्छ उनलाई । व्यस्तताले आफू रङ, चित्र, कुची र क्यान्भासको संसारमा रमाएको उनको अनुभव छ । उनको जीवन नै चित्र बनाउनका लागि हो ।
क्यान्भासमै रमाउने निर्णय
अमिर कुनै समय होटेल एसोसिएसनमा लेखापालका रूपमा कार्यरत थिए । रुचि थियो चित्रकलामा नै डुब्ने । रुचिको काम एकातिर रोजगारी अर्कोतिरको भइदियो । यस्तो अवस्थाले उनलाई सकस प¥यो । उनले दुईमध्ये एक रोज्ने पर्ने भयो– चित्र बनाउने कि जागिर खाने ¤ उनले एक दिन आफ्नै मस्तिष्क र हृदयलाई सोधे अनि निर्णय गरे– चित्रकलामा डुब्ने जुन निर्णयले उनलाई यसैमा समर्पित गराइदियो । उनले लेखापालको जागिर छोडे । एउटा ग्यालरी खोले । पाटनको क्वाल्खुमा खोलिएको गोल्डेन टेम्पल आर्ट ग्यालरी व्यवस्थापनको जिम्मा पत्नी शर्मिला सिंहले लिइन् । शर्मिलाले ग्यालरी र घरको जिम्मेवारी नलिदिएको भए अमिरलाई अहिलेकोे सफल प्राप्त गर्न त्यति सहज कहाँ हुन्थ्यो र ¤
शर्मिला ग्यालरीमा नै व्यस्त हुँदा अमिर घरकै एउटा कोठामा चित्र उतार्नमै व्यस्त हुन्थे । चित्रकलामा हिँड्दै गरेका अमिरलाई ग्यालरीले दौड्न पर्ने बनायो । त्यहाँ राखिएका चित्रकलाले धेरैलाई आकर्षित ग¥यो । देशभित्र मात्रै होइन, विदेश पनि पुग्यो उनले कोरेको चित्र । त्यसपछि ‘अमिरको ग्यालरी कता हो’ भन्दै खोज्दै आउनेको संख्या हृवात्तै बढ्यो । ‘टेन टु फाइब’ को जागिर छोडेर कलामै समर्पित भएका अमिर अहिले आत्मसन्तुष्टिको सागरमा चुर्लुम्मै डुबेको अनुभव गर्छन् । भन्छन्, ‘मलाई यो पेशाले दाम र नाम दुबै दिएको छ ।’
आफ्नो निर्णय, काम र दाममा उनी सन्तुष्ट छन् । जागिरे जीवनले दाम थोरै दिन्थ्यो । सिमित त्यो दामले सुखदुःख परिवार चल्थ्यो होला । परिचय नाममा मात्रै सिमित हुन्थ्यो होला । अहिले त्यस्तो छैन । आफ्नो निर्णयले दिएको सन्तुष्टिमा एकदमै खुशी छन् उनी । यो पेशाले जीवन नरहँदा पनि परिचयलाई जीवित राख्ने उनको भनाइ छ । भन्छन्, ‘परिचयलाई अमर बनाएको अनुभूति हुन्छ, त्यसमा खुशी छ ।’ उनको सबैभन्दा सन्तुष्टिको कुरा पनि यही हो ।
त्यो अवस्मरणीय क्षण
चित्र बनाउने, चित्रमै रमाउने मनको इच्छा र त्यसकै अभ्यासले उनी प्रायःजसो प्रतियोगितामा अब्बल ठहरिन्थे । कुराकानीकै प्रसंगमा उनले एउटा यस्तो प्रतियोगिताको बारेमा सुनाए, जसलाई उनी जीवनभर बिर्सन सक्दैनन् । प्रतियोगिताको नाम थियो, अधिराज्यव्यापी खुला चित्रकला प्रतियोगिता । भिजिट नेपाल १९९८ को अवसरमा आयोजित उक्त प्रतियोगितामा उनी सर्वश्रेष्ठ भए । भक्तपुरको दत्तात्रेय मन्दिर पछाडिको गल्ली उनले आफ्नो चित्रमा उतारे । जल रङको प्रयोग भएको त्यो चित्र यस्तो मनमोहक थियो कि अहिले पनि अमिरको आँखामा त्यो चित्र आउँछ । बिर्सन सकेका छैनन् । उक्त प्रतियोगिताको मूल्यांकनले चित्रकलामा समर्पित हुने हौसला थपिदियो उनमा । भन्छन्, ‘म त्यो क्षण बिर्सन सक्दिनँ ।’
चित्रकलामा पनि उनको विधा हो ल्याडस्केप अर्थात दृश्यचित्र । दृश्यचित्र बनाउन सम्बन्धित स्थानमा नै पुग्नुपर्छ । उनले हिमशृंखलाहरू भएकै ठाउँमा पुगेर उनले तिनलाई हेर्दै धेरै चित्रहरू बनाएका छन् । माछापुच्छ«े, अन्नपूर्ण, सगरमाथालगायत । पाटन दरबार क्षेत्र जस्ता ऐतिहासिक र पुराताŒिवक महŒवका ठाउँहरूलाई पनि उनले दुरुस्तै उतारेका छन् । कुन चित्र बनाउन कति समय लाग्छ ? त्यो चित्रको प्रकृति, आकारमा भर पर्छ । अनि रङको कुरा ।
कुन रङ धेरै प्रयोग गर्नुहुन्छ ? कलाकारलाई सातै रङ उत्तिकै महŒवपूर्ण हुन्छ । अवस्था र समय हेरेर रङको प्रयोग गर्छ । रङ संयोजनामा कला देखिनुपर्छ । रात र बिहानको अवस्था बुझाउन पर्दा रातो रङ प्रयोग गर्नुपर्छ । दिउँसो बुझाउँदा हल्का, अर्थात आकाशे रङ प्रयोग गर्नुपर्ने उनी बताउँछन् । व्यक्तिगत रूपमा उनलाई मनपर्ने रङ हो निलो । भन्छन्, ‘मलाई स्काई कलर खुबै मनपर्छ, नेबी ब्लु पनि राम्रो लाग्छ ।’ उनी प्रायः निलो रङका लुगा लगाउँछन् । भन्छन्, ‘खै किन हो, मलाई निलो रङ खुबै मनपर्छ । निलै लुगा लगाउँछु ।’
घरमा पेन्टिङ
पुराना कलाकारलाई बजारको समस्या छैन । नयाँ जो स्थापित हुँदै छन् तिनका लागि बजार साँघुरो छ । अब प्रत्येक नेपाली आफ्नो घरमा चित्रकलालाई स्थान दिने हो भने नयाँ पुस्ताको सिर्जनाले बजार पाउने निश्चित देख्छन् अमिर ।
विदेश पर्यटक जो नेपाल घुम्न आउँछन्, उनीहरूको घुमघामको तरीका बदलिएको अनुभव गरेका छन् अमिरले । विदेशीहरू लजिङ र फुडिङको लागि मात्रै खर्च गर्छन् । पेन्टिङ लगायतमा खर्च गर्न उनीहरूमा रुचि घट्दै गएको छ ।
अमिर चित्रकला खरिदमा नेपालीको रुचि बढेको बताउँछन् । विदेशमा रहेका आफन्त, छोराछोरी र परिवारलाई उपहार पठाउनका लागि चित्र किन्नेहरू धेरै छन् । आफ्नो देशलाई सम्झनालाई चित्रले ताजा बताउने बताउँछन् । भन्छन् , त्यसका लागि चित्र किन्ने हो, नेपाललाई माया गर्नेहरूले उपहार दिँदा घर सजाउनका लागि समेत चित्रको साथ लिने गरेको उनी बताउँछन् ।
अमिरले बनाएको चित्र नेपालका नाम चलेका धेरै होटेलमा पुगेका छन् । सोलुखुम्बुको ग्यालरीमा समेत अमिरले धेरै पटक चित्र पठाइसकेका छन् । अहिले पनि धेरै ठाउँबाट चित्रको अर्डर आएको बताउँछन् । पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालयमा उनले बनाएका चित्र सजिएका छन् । नौ वटा चित्र त्यहाँ राखिएका छन् ।
पाटन दरबार क्षेत्र लगायतको ठाउँको चित्र उनी क्यान्भासमा उतार्दै छन् । भन्छन्, ‘अर्डरको काम गर्न नै भ्याई नभ्याई हुन्छ ।’ उनी अहिले पाटन दरबार क्षेत्रको चित्र क्यान्भासमा उतार्दैछन् । साघुँरिदै गएको कलाको क्षेत्रलाई फराकिलो बनाउन सरकारले विशेष निर्णय र व्यवस्थाहरू गर्नुपर्ने बताउँछन् । कलाकारको ऊर्जा बढाउन सम्मान र पुरस्कारको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । भन्छन्, ‘कला भनेको साधना हो, यसमा अनवरत खट्नुपर्छ, जसका लागि धैर्य चाहिन्छ ।’
कलाको सम्मानमा सरकारले विशेष दृष्टि पु¥याउनुपर्छ । कलाको माध्यमबाट नेपाललाई देशभित्रमात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत परिचित बनाउन हरदम क्रियाशील अमिरको कलाकारिताले फड्को मार्दैै जाओस् । हार्दिक शुभकामना ।




















