घटस्थापना
हिन्दुधर्म दर्शनमा चार नवरात्रि– माघशुक्ल, चैत्रशुक्ल, आषाढशुक्ल र आश्विन शुक्लपक्षका नवरात्रिमध्ये शारदीय रात्रिका रूपमा देखिने आश्विन शुक्लपक्षको नवरात्रिलाई विशेषरूपमा मानिएको छ । शक्ति उपासनाको दृष्टिले अत्यावश्यक देखिएको यो नवरात्रिको पहिलो आकर्षण हो ‘घटस्थापना’ । घटस्थापनाका दिन सुरुमै आवश्यक पर्ने सामग्रीहरू जमरा राख्ने राम्रो, चोखो, शुद्ध, बालुवा या माटो, तामा र माटोको घडा र तामाको थाली, पूजासामान, राम्ररी तयार पारिएको जौ, पूmल, दूबो, माला, शंख, घण्ट, डमरु, गोकुलधूप, कपुर, नौसूते बत्ती, वस्त्र, पानमसला, कुभिण्डो, नरिवल, गोबर, पञ्चगव्य, खड्ग, उखु, बेल, चामल– दियो, कलश, गणेश आदि र दसदिनसम्म आवश्यक विशेष सरसामग्रीहरू तयार पारिन्छ ।
घडामाथि तामाको थालीमा अष्टदल, श्रीयन्त्र लेखी नवदुर्गा स्थापना गरी विशेष पूजा गरिने देवीका तीन मूलस्वरूप श्रीमहाकाली, श्रीमहालक्ष्मी र श्रीमहासरस्वती हुन् । उनलाई भुवनेश्वरीदेवी पनि भनिन्छ । मणिद्वीप निवासिनी देवीको चर्चा नवरात्रिमा विशेष पारायण गरिने देवीभागवत, कालिका पुराण, दुर्गासप्तशती आदिमा गरिएको पाइन्छ ।
आश्विनशुक्ल प्रतिपदामा आरम्भ गरी घटस्थापना गरेर पहेँला जमरा ग्रहण गरी शुभआशीर्वाद लिई मर्यादापुरुषोत्तम श्रीरामले रावणमाथि विजयप्राप्त गर्न सकेको स्मरणस्वरूप मनाउँदै आएको शुभविजयोत्सव सबैका लागि सजिलो होस् भनी शारदीय नवरात्रिका रूपमा मानिएको हो । अघि नारदकै श्रापका कारण श्रीविष्णुले मनुष्य अवतार लिनु परेको र नारद गुरुकै उपदेशअनुसार लंकाका राजा रावणबाट अपहृत सीतालाई सकुशल फिर्ता ल्याउन र रावणमाथि विजय प्राप्त गर्न घटस्थापनाको विधि बताइएको हो ।
घटस्थापनामा प्रयोग हुने जौ अन्नमध्ये सर्वाधिक शक्तिशाली नै हो । जौमा अत्यन्त पोषणतŒव रहेको र जुनसुकै बिरामीलाई पनि सेवनयोग्य भएको कुरा वैज्ञानिक पुष्टि भएको छ । गाईको गोबर अत्यन्त पवित्र मानिन्छ । यसमा रोगका किटाणुहरू बस्न नसक्ने हुन्छ । माटाको घडामा गोबर टाँसी जौ रोप्ने र त्यसरी उमारिएको जौको जमरा शिरमा ग्रहण गर्नाले मन मस्तिष्क स्वच्छ, पवित्र भई आशीर्वाद योग्य हुन्छ । जौको जमरा मालाबाट देवी प्रशन्न हुने र इच्छासिद्धिको वरदान दिने कुरा शास्त्रहरूले पुष्टि गरेका छन् ।
घटस्थापनाको दिन विशेष वैदिक मन्त्रद्वारा स्थापित जमरा वेदीमा नवदुर्गाको विशेष पूजा गरिन्छ । नौ दिन पूजा गरिने देवी शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् । सुरुको दिन नवदुर्गा उपासना गर्नुअघि देवीको स्वर्णप्रतिमालाई पञ्चामृतले पखालेर, आगोमा सेकाई प्राणप्रतिष्ठा गर्ने क्रममा तिल जौ राखी तामाको थालीमा अष्टदल श्रीयन्त्रमाथि मध्यभागमा स्थापना गरिन्छ । कुश, पूmल, अक्षता, जौ, तिल, जलसहित वेदमन्त्रले प्राणप्रतिष्ठा गरिन्छ ।
आवाहन मुद्राले देवीको आवाहन गरेपछि ध्यान मुद्राले विशेष प्रार्थना गरिन्छ । सकेसम्म षोडशोपचार विधिले पूजा गरी अङ्गपूजासमेत गरिन्छ । अङ्गपूजा गर्दा पाउदेखि शिरसम्म क्रमशः दुर्गा, महाकाली, मङ्गला, कात्यायनी, भद्रकाली, कमला, शिवा, स्कन्दा, महिषासुरमर्दिनी, उमा, विन्ध्यवासिनी आदि देवीको विशेष पूजा गरिन्छ ।
निराजन, पुष्पाञ्जलि गर्दै चण्डमुण्ड विनाशिनी देवीले मेरा सम्पूर्ण इच्छाहरू सिद्धि गरिदिऊन् भनी स्तुतिपुकार गरिन्छ । दुर्गा, क्षमा, स्वाहा, स्वधा, धात्री आदि देवीले मेरो सर्वत्र विजय गराऊ, आरोग्य प्रदान गर, सर्वत्र कल्याण गराई सुख र सम्पूर्ण मनोरथका साथै पुरुषार्थ प्राप्तिमा सहयोगी बन भनेर बन्दना गरिन्छ । सप्तशतीस्तोत्र पाठ गर्दै जगत्जननी माताले मेरा तनमा कान्ति र मनमा शान्ति प्रदान गर, म मेरो परिवार र मेरा सबै वातावरण अनुकूल बनाऊ भन्दै जगत्माता जगत् जननी अम्बाले मेरो सुकीर्ति बढाई सर्वत्र सिद्धि देऊ भनी विशेष उपासना गरिन्छ ।
देवीउपासनालाई नित्य र काम्य गरी दुई प्रकारमा विभाजित गरिएको छ । नित्य उपासनाअन्तर्गत पाञ्चायन पूजामा पाँच देवतामध्ये देवी शक्तिस्वरूपा प्रमुखरूपमा मानिएकी छिन् । कामना पूरा होस् या निष्कामनापरक देवीको आराधना गर्ने चलन पूर्वीय पद्धतिमा सृष्टिको उषाकालदेखि नै भएको हो । जलशायी सृष्टिकर्ता सर्वेश्वर श्रीविष्णु अघि देवीरूपमा नै रहेको र देवीको कृपा प्रसादले श्रीविष्णु महापुरुष बनेका हुन् ।
देवीका उपासकहरू सात्विक, राजसी र तामसी तीन थरिका हुन सक्छन् । पूजा, प्रक्रिया र विधान फरक भएपनि सबै प्रकारका मानिसहरूले देवीको आराधना यथोचित रूपमा गरेकै हुन्छन् । छल, प्रमाद र आलस्ययुक्त भएर देवी उपासनामा निष्क्रिय रहनेहरूद्वारा देवी क्रुद्ध भई श्राप गर्छिन्् भनी कालिका पुराणले उल्लेख गरेको छ । विष्णुधर्माेत्तर ग्रन्थले सूर्याेदयदेखि १० घडी अर्थात् ४ घण्टासम्मको समयलाई प्रातः बेला बताएको छ ।
घटस्थापना काल प्रातः बेला हो । औंशीसहितको प्रतिपदा भने घटस्थापनाको लागि निषिद्ध छ । नित्य प्रातःस्नान नित्यकर्मपछि प्रातः समयमै नवरात्रिभर देवीको विशेष पूजा सम्पन्न गर्दै देवीभागवत, दुर्गाकवचसहितको दुर्गा सप्तशती पाठ एवं बेलुकी सन्ध्यावन्धन तथा देवीको आरति आराधना गर्ने विधान छ ।
घटस्थापनाले जीवनको आरम्भ र स्थापनाको संकेत गर्छ । मानिसको पूर्णआयु १०० वर्ष हो । एक दिनलाई १० वर्षको संकेत गर्दै यवांकुर गरेर जीवनलाई जीवन्त बनाउन सुरुमा सिर्जनाको संकेत अन्नको राजा जौ छर्ने, जलपूर्ण घडा स्थापना गरी स्थापित जीवनको आरम्भको संकेत दिने समय हो यो । जीवनमा शक्तिपुञ्ज हरघडी आवश्यक पर्ने हुनाले शक्तिको पूजा गरी आपूm विजयी हुने र सकेसम्म कालजयी हुने प्रयास प्रारम्भको संकेत पनि हो ।
कन्या÷ कुमारीपूजा
पूर्वीय चिन्तनमा कुमारी÷कन्यालाई देवीदुर्गाका रूपमा पूजा गर्ने चलन आदिमकालदेखि नै रहेको छ । हिमालयपुत्रीका रूपमा जन्मिएकी उमा स्वयं धर्तीरूपा मातृशक्ति हुन् । नवरात्रिमा कन्याको पूजा अधिक महŒवको रहेको छ भने अष्टमी र नवमीका दिनमा यसको सर्वाधिक महŒव रहेको छ । कुमारीका प्रमुख ९ स्वरूपमध्ये– कुमारी, त्रिमूर्ती, कल्याणी, रोहिणी, काली, चण्डिका, साम्भवी, दुर्गा र सुभद्रा हुन् । स्वरूप फरक भए पनि कार्य एकै देखिने कन्या बालसुलभा हुन् ।
राजर्षि जनकको संरक्षणमा हुर्केकी कन्या जानकी सीता रासेश्वरी श्रीकृष्णकी बालसखा श्रीराधारानी वृन्दावनका गोपकन्या, देवहुतीपुत्रीका रूपमा धर्ती अवतरित नवधाभक्ति स्वरूपिणी नवदुर्गा स्वयं देवीका अनेकौं विभूतिरूपहरू हुन् ।
कन्या वा कुमारी पूजाबाट कुलदेव इष्टदेव दुर्गासमेत प्रसन्न रही मनोकामना पूरा हुने, सम्पूर्ण आफ्ना कलुषित भावना दूर हुने हुनाले कुमारी पूजाको लागि सर्वप्रथम संकल्प गरिन्छ । गुरुवन्दना, दीपकलशपूजा, गणेशकोे पूजासहित कुमारीको प्रार्थना गर्दै– जगत्की माता जगत्द्वारा पुजित सर्वशक्तिस्वरूपिणी कुमारीदेवी मेरो पूजा ग्रहण गर भन्दै प्रार्थना गरिन्छ ।
जल, अघ्र्य, आसन, रक्तवस्त्र, सिँगारका सामान, चन्दन, सिन्दूर, गाजल, फलपूmल, धूपबत्ती, नैवेद्य, भेटी, पानमसला अर्पण गरिन्छ । सुरुमा कुमारीको पाउ धोई शिरमा जलमार्चन गरिन्छ । उत्तमवस्त्र, गहना, माला, सौभाग्य आदि उपहार अर्पण गरी विधिविधानले कन्या÷कुमारी पूजा गर्नाले जीवनका सबै अरिष्टहरू नाश हुन्छन् । कुमारको पनि पूजा गर्ने चलन भएका स्थानहरूमा कुमारको समेत पूजा गरी उनीहरूबाट टीका र प्रसाद ग्रहण गर्ने विधान रहेको छ । स्वामीकुमार कात्र्तिकेयको शक्तिलाई कौमारी र कन्या÷कुमारीलाई योगमायाका रूपमा पनि हेर्ने चलन छ ।
कुमारीपूजामा सर्वसिद्धिका लागि ब्राहृमणकन्या, यश र कीर्तिका लागि क्षत्रियकन्या, धनप्राप्तिका लागि वैश्यकन्या र सन्तानप्राप्तिका लागि शुद्रकन्या पूजा गर्ने विधान छ । उग्रसाधना र इच्छा मनोरथ पूर्ति गर्नेले चाण्डालकन्या पूजा गर्नुपर्ने विधान रहेको छ । शिष्टाचारअनुसार आपूmभन्दामाथिको जातको कन्या सर्वयोग्य मानिन्छ ।
सुकर्म गर्नेका लागि देवीस्वरूपाकन्याले शुभफल दिने र दुष्कर्म गर्नेका लागि उनै देवीले दुर्बुद्धिका रूपमा अन्तर्हृदयमा बसी कन्या सामान्य नारी मात्र नभएर लंकाजस्तो शक्तिसम्पन्न ऐश्वर्य र वैभव खरानी पार्ने रावणजस्ता क्रोधीहरूलाई संहारकारी गुण सम्पन्न पनि गर्ने गर्छिन् । माता यशोदाको गर्भबाट बालसुलभा पुत्रीरूपमा जन्मिएर दुष्ट स्वभावको दुराचारी कंशको कालको संकेत गर्ने तिनै कन्या कंशले मार्न लाग्दा दुष्टको हातबाट छुटी आकाशमार्गमा धावा बोल्दै सर्वकल्याणका लागि विश्वपुजिता विन्ध्यवासिनीका रूपमा पनि स्थापित बन्न पुग्छिन् ।
मनु महाराजले जहाँ स्त्रीको सम्मान र पूजा हुन्छ त्यहाँ सबै देवताहरु प्रशन्न हुन्छन् भन्नुभएको छ । अभिभावकले गुन्युचोलो दिएर सर्वप्रथम नै देवीकारूपमा परिवारमा कुलको संरक्षिकाको रूपमा स्थापित देवीस्वरूपा कन्यालाई बिहे गरी कन्यादान गर्दा सम्पूर्ण २१ कुलसम्मका कुलपितृहरू उद्धार हुने बताइएको छ । छोरीबेटीहरूको आत्मसम्मानलाई कदर गर्नुपर्ने अत्यन्त राम्रो चलन पूर्वीय दर्शनमा रहेको छ जसलाई सबैले अनुकरण गर्नुपर्ने देखिन्छ । नारी पूज्या हुन्, बन्दनीया हुन् उनलाई ढोग गर्ने चलन पूर्वीय दर्शनको अनुपम उदाहरण हो ।
काली र चण्डिका अनि किल्ला रक्षणका नामले दुर्गाका रूपमा चिनिएकी कन्या महिषमर्दिनीको अर्काे रूप हो । आपूmमाथि पत्नीभावले हेरेपछि युद्धको हाँक दिने महिषासुर, उसका सेना चण्ड, मुण्ड, रक्तबीजदेखि शुम्भ, निशुम्भ र धुम्रलोचनसम्म विजय प्राप्त गरी एकछत्र सत्ता सञ्चालन गर्ने देवीलाई घोररूपा, रुद्रायणी, बज्रयोगिनी, दक्षिणकाली, उग्रतारा, शैलेश्वरी, मनकामना, गोरखकाली, ज्वालामुखी, बगलामुखी, गुहृयेश्वरी, शोभाभगवती, भैरवी, भद्रकाली, पञ्चकुमारी, संकटा, महाकालेश्वरी, दन्तकाली आदि नामले पुकारिन्छ ।
देवीदुर्गाको व्याख्या लंकामा रावणका सभास्थलमा शिवरूपी हनुमानले खुलेर गरेका छन् । जब जब मानिसलाई बिपत्, विरह आइलाग्छ तबतब नारी हृदय कालरात्रि, उग्रचण्डी, महागौरीको साधना गरी शक्तिसम्पन्न, शक्तिसञ्चय गर्ने पूर्वीय परम्पराको थालनी सृष्टिको उषाकाल सत्ययुगबाटै आरम्भ भएको हो । हिरण्याक्ष हिरण्यकश्यपुरूपी मानवमा भएको क्रोध, आवेग, तनाव र रावणरूपी लोभमाथि विजय प्राप्त गर्न शक्तिकै उपासना जरुरी छ ।
स्यमन्तक मणिको प्रसंगमा कृष्णपिता वसुुदेव, देवकीबाट नवरात्रिको उपासना भै कालीसाधना भएको थियो भने दाशरथी रामले सीताको मिलनका लागि नवरात्रिभर देवीउपासना गरेका थिए । द्वापरयुगमा गुप्तवास बसेका बेला र वनवासका बखत धैर्यधारण गर्नसक्ने शक्ति देवीबाटै प्राप्त गरेका थिए । गुप्तवासमा युधिष्ठिरले शक्तिसञ्चय गरेको प्रसंग महाभारतको उद्योगपर्वमा व्याख्या भएको छ ।
आद्यगुरु शंकराचार्यले दुर्गापूजाबारे विशद् चर्चा गरेका छन् । शंकराचार्यले देवीलाई ललितत्रिपुरासुन्दरीका रूपमा पूजन गरेको अनेकौं स्तुतिवन्दना गरेको चर्चा स्तुतिसाहित्यमा यत्रतत्र सर्वत्र पाइन्छ । शंकराचार्यका अनेकाँै देवीस्तुतिमध्ये नवरात्रिमा हर घर घरमा र शक्तिपीठहरूमा ‘देव्यापराधक्षमापनस्तोत्र’ पाठ गरिन्छ जुन निकै सरल र भावुक मन्त्र देखिन्छ । यी मन्त्रहरूमा सन्तान कुसन्तान हुन सक्छन् तर देवी स्वरूपा आमा कहिल्यै कुमाता हुन सक्तिनन् भनिएको छ ।



















