नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्, वातावरण अनुकूल बन्दै गएको छ्: अर्थमन्त्री वाग्ले।

ग्वाङ्झाउ (चीन):= वर्तमान नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

आज शनिबारदेखी चीनको ग्वाङ्झाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण क्रमशः अनुकूल बन्दै गइरहेको बताए।

उनले सरकारले लगानीमैत्री वातावरण निर्माणसँगै देशभित्र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिएको जानकारी दिए।

“सरकारले लगानीको माहोल बनाइरहेको छ। देशमै रोजगारीको वातावरण सिर्जना गर्ने गरी काम भइरहेको छ,” उनले भने, “एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेका छन्।”

अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापनका क्षेत्रमा लगानी गर्न विशेष आग्रह गरे।

“प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्,” उनले भने।

सरकारले परिणाम देखिने गरी तीव्र गतिमा काम गरिरहेको दाबी गर्दै वाग्लेले बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीका लागि सहज वातावरण निर्माण गर्ने प्रयास गरिएको बताए।

उनका अनुसार सरकारको प्राथमिकता देशमा सम्मानजनक रोजगारी सिर्जना गर्नु पनि हो। रोजगारीका अवसर विस्तार गर्दै युवालाई स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्न सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ।

सरकारको आम्दानी वृद्धि गर्न कर प्रणालीमा समेत सुधारको प्रक्रिया अघि बढाइएको उनले बताए। बजेटमार्फत आर्थिक नीतिको दिशामा महत्वपूर्ण परिवर्तनको सुरुआत गरिएको उल्लेख गर्दै वाग्लेले पहिलो वर्षलाई सुधारको आधार तयार गर्ने वर्षका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

अर्थमन्त्री वाग्लेको यो आह्वानले विदेशमा रहेका नेपालीको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशको आर्थिक विकाससँग जोड्ने सरकारको प्राथमिकता स्पष्ट गरेको छ।