डाक्टरको नक्कली सही र छाप प्रयोग गरी एमसी बेच्ने गिरोह पक्राउ, सरकारी नर्ससहित ५ जना हिरासतमा।

पाहाङ(मलेसिया):= मलेसियाको पाहाङ राज्यस्थित पेकान क्षेत्रमा डाक्टरको नक्कली सही र छाप प्रयोग गरी मेडिकल सर्टिफिकेट (MC) बिक्री गर्ने एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एक ५५ वर्षीया सरकारी नर्ससहित पाँच जना रहेका छन्। अदालतबाट ३ देखि ४ दिनको रिमाण्ड अनुमति लिएर प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।

पेकान जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सरकारी क्लिनिकको आधिकारिक कागजात अनधिकृत रूपमा प्रयोग गरी बिरामी बिदाको प्रमाणपत्र (MC) जारी भइरहेको तथ्य फेला परेको थियो। अनुसन्धानका क्रममा उक्त MC हरूमा सरकारी क्लिनिकमा कार्यरत एक मेडिकल अफिसरको नाम र छाप प्रयोग गरिएको भेटिएको छ। तर ती चिकित्सक सन् २०२३ मै अन्यत्र सरुवा भइसकेका थिए।

यो अनियमितता पत्ता लागेपछि स्वास्थ्य कार्यालयले जुन १० मा प्रहरीसमक्ष औपचारिक उजुरी दर्ता गरेको थियो। त्यसपछि गरिएको अनुसन्धानमा गिरोहले एउटा नक्कली MC ५० देखि २०० मलेसियन रिंगिटसम्ममा बिक्री गर्दै आएको खुलासा भएको छ। वप्रहरीका अनुसार पक्राउ परेकी सरकारी नर्सले क्लिनिकका आधिकारिक कागजात तथा विवरण उपलब्ध गराउने काम गर्थिन् भने अन्य बिचौलियाहरूले विशेषगरी कामदारहरूलाई ग्राहक बनाएर नक्कली MC बिक्री गर्ने गरेका थिए।

पक्राउ परेकाहरू

पक्राउ परेका व्यक्तिहरूको उमेर ३३ देखि ५५ वर्षबीच रहेको प्रहरीले जनाएको छ। उनीहरूमा:

– मुख्य योजनाकार मानिएकी ५५ वर्षीया सरकारी नर्स
– ग्राहक खोज्ने ३ जना बिचौलिया
– नक्कली MC खरिद गर्ने ३४ वर्षीय एक कारखाना कामदार

प्रहरीले उनीहरूविरुद्ध मलेसियाको दण्ड संहिताको धारा ४२० (ठगी) र धारा ४६८ (जालसाजी) अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ। अधिकारीहरूले मलेसियामा नक्कली मेडिकल सर्टिफिकेटको प्रयोग वा बिक्री गम्भीर कानुनी अपराध भएको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई चेतावनी दिएका छन्।

स्रोत : स्थानीय मिडिया