जोहोरबारु:= मलेसियाको जोहोर राज्यस्थित पेकान नेनास अध्यागमन हिरासत डिपो (Pekan Nenas Immigration Detention Depot) ले जुन २०२६ को दोस्रो सातामा विभिन्न देशका १३२ जना विदेशी बन्दीलाई स्वदेश फिर्ता (डिपोर्ट) गरेको जनाएको छ।
डिपोका अनुसार स्वदेश फिर्ता गरिएकामध्ये ५४ जना इन्डोनेसियाली, ३६ जना म्यानमारका नागरिक, १७ जना फिलिपिन्सका नागरिक, १३ जना नेपाली, ८ जना पाकिस्तानी, ३ जना भारतीय तथा १ जना चिनियाँ नागरिक रहेका छन्।

ती सबैलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA 1 र KLIA 2) तथा स्टुलाङ लाउत फेरी टर्मिनल मार्फत आ–आफ्नो देश पठाइएको बताइएको छ।
अध्यागमन विभागका अनुसार यी व्यक्तिहरूले आप्रवासन ऐन १९५९/६३, खतरनाक लागुऔषध ऐन १९५२, दण्ड संहिता तथा अन्य सम्बन्धित कानुनअन्तर्गतका विभिन्न कसुरमा सजाय भुक्तान गरिसकेपछि स्वदेश फिर्ता गरिएको हो।
विभागले स्वदेश फिर्ता गरिएका सबै व्यक्तिहरूलाई आफ्नो प्रणालीमा कालोसूची (Blacklist) मा राखिएको र तोकिएको अवधिसम्म कुनै पनि उद्देश्यका लागि मलेसिया पुनः प्रवेश गर्न नपाउने जनाएको छ।
साथै, हिरासतमा रहेका व्यक्तिहरूको स्वदेश फिर्तासम्बन्धी टिकट खरिद लगायतका सम्पूर्ण प्रक्रिया पेकान नेनास अध्यागमन डिपोमा उपलब्ध सेवा काउन्टरमार्फत कुनै अतिरिक्त सेवा शुल्क बिना गर्न सकिने जानकारी दिइएको छ। स्रोत: मलेसिया अध्यागमन विभाग, जोहोर.




















