सार्वजनिक बिदाको दिन आफ्नो सानो निजी मोटर आफैँले चलाएर कतै जाँदै थिएँ । बाटोमा एकजना हिँडिरका देखेँ≤ टोपी लगाएका, लौरो टेकेका, ज्वारीकोट लगाएका आफ्नै बुवाजस्तै । मोटर रोकेर ओर्लिएँ । नमस्कार बुवा ¤ हजुर कतै जान खोज्नुभएको हो ? म पु¥याइदिन्छु भनेँ ।
उहाँ अलमलमा पर्नुभयो । सामान्यतः केटाकेटी र वृद्ध मानिसलाई अपरिचित मानिससँग नबोल्नु, तिनले दिएको नखानु भनिएका हुन्छ । उहाँ अलमलमा पर्नु स्वभाविकै थियो । उहाँले आफू दुई–तीन सय मिटर अगाडि मात्रै जान खोजेको बताउनुभयो । मैले विशेष अनुनय गरेर उहाँलाई मोटरको अगाडिको सीटमा राखेँ । सिटबेल्ट लगाइदिएँ । बिस्तारै मोटर हाँकेर गएँ≤ उहाँले भनेको ठाउँमा मोटर रोकेँ । आफू मोटरबाट ओर्लिएर उहाँको सिटबेल्ट खोलेर हात समातेर सडकमा ओरालेँ । उहाँलाई नमस्कार गरेर बिदा गरेँ अनि मोटर अगाडि बढाएँ । उहाँले आफ्नै छोरोजस्तो सम्झिएर मलाई आशीर्वाद दिनुभयो ।
यस दिन म निकै फुरुङ्ग भइरहेँ । केही कार्यक्रममा सहभागी हुनु र बोल्नु थियो । सबै कार्यक्रममा मेरो बोलीको प्रभाव रहृयो । मैले उनै मेरा ‘दोस्रो बुवा’ को आशीर्वादले दिन ‘शुभ’ रहेको महसुस गरेँ ।
……….
एउटा धार्मिकस्थलमा हामी परिवार र नातागोता पुगेका थियौँ । सो स्थानमा हामीजस्तै सपरिवार समूहमा उपस्थित मानिसहरूको भीड थियो । कोही एउटा कुनामा जुत्ता फुकालेर अघि बढ्थे त कोही जुत्ता कुरेर बस्थे । कोही नुहाउन जाने तयारी गर्दै लुगा मिलाउँदै थिए । कोही बस्ने ठाउँ नपाएर ठिङ्ग उभिएका थिए । हाम्रो समूह पनि अर्को एउटा समूहलाई छिमेकी बनाएर ठाउँ कब्जा गरेर आफ्नो सामान राख्दै थियो ।
हाम्रो समूहको सामान कुर्ने जिम्मेवारी मेरो भयो । मैले मन्दिर र खोलामा जान अरूलाई प्रेरित गरेँ । गर्मीको समय भएकाले मोटरबाट एक बोलत पिउने पानी ल्याइदिन एक जनालाई आग्रह गरँे । मन्दिर जान हतारिएका मेरो समूहका एक जना मलाई पानीको बोतल थमाएर समूहतिर दौडिए ।
म पानी पिउने विचार गर्दै थिएँ । अर्को समूहकी एक भद्र महिला पनि सामान कुर्ने जिम्मेवारी पाएकाले ठिङ्ग उभिनुभएको थियो । धागोमा कपाल बाटेकी, घाँटीमा पोते र तिलहरि लगाएकी, चौबन्दी चोलो र सारीमा सजिएकी ती भद्र महिला मेरी आमाजस्तै गोरी, हँसिली, हिस्सी परेकी देखिनुभयो, उमेर ढल्किदै गएकी । मेरो आमा बित्नुभएको करिब १० वर्ष भयो ।
एकाएक आमाको याद आयो । पानीको बोतलको सिल खोलेँ । ती महिलालाई ‘आमा नमस्कार ¤’ भनेर सम्बोधन गरेँ । गर्मी छ हजुर ¤ पानी पिउनुस् भनेँ । उहाँ अलमलिनु भयो । शायद छोराबुहारी, छोरीज्वाइँले अर्काले दिएको केही नखानु भनेको हुनुपर्छ, एकछिन अलमलमा पर्नुभयो । मेरो आग्रह टार्न नसकेर होला उहाँले पानी पिउनुभयो ।
त्यसपछि मैले मेरी आमा सम्झाउने ती वृद्ध महिलासँग सामान्य भलाकुसारी गरेँ । उहाँलाई झोला मिलाएर त्यसैमाथि बस्न सुझाएँ । मसँग छाता थियो≤ उहाँलाई ओढ्न दिएँ । मन्दिरमा ‘आमा’ भेटे जस्तो भयो । तर, मलाई उहाँका परिवार आएर किन अर्काको छाता ओढेको, हामी छाता किन्न नसक्ने छौँ र भनेर केही ‘वचन’ लगाउँछन् कि भन्ने भय भइरहृयो ।
केही बरेमा उहाँका छोराबुहारी आइपुगे । मैले ती छोरालाई नमस्कार भन्दै हात मिलाएँ । बुहारीसँग पनि बोलेँझैँ गरेँ । उनीहरूसँग निकट भएको देखाएँ । ती मेरी ‘आमा’ लाई तिनले केही नभनून् भन्ने मेरो भित्री आशय थियो । केहीबरेमा त्यो परिवार त्यहाँबाट हिँड्यो । मैले ‘आमा विस्तारै जानुस् है’ भनेँ । ती आमा एक प्रकारले गहभरी आँसु पारेर जानुभयो ।
मैले आमाको सम्झना र आमा नहुँदाको पीडा लुकाउन सकिनँ । सो दिन म प्रायः मौन नै रहेँ । ती आमाले बोलेर होइन संकेतले ‘छोरा तिमीलाई शुभ आशीर्वाद छ’ भनेको बुझेँ । यी पङ्क्ति लेखिरहँदा पनि मन एकतमासको भएको छ । आफूलाई जन्म नदिएकी आमाले त यस्तो न्यास्रो पार्छिन् भने साँच्चै आमाको न्यास्रो कति लागेको होला ¤ म शब्दमा उतार्न सक्दिनँ ।
आमा तपाई जहाँ हुनुहुन्छ, खुसी र स्वस्थ रहनु होला । तपाईंको छोरा तपाईकै काखमा छ ।
………
अर्घाखाँचीको सन्धीखर्कमा एउटा औपचारिक कार्यक्रम थियो । सो कार्यक्रममा आयोजकसँग मलाई एउटा रचनात्मक काम गर्न मन छ भनेर आफ्नो इच्छा प्रकट गरेँ । उनीहरूले कुरा बुझेनन् र व्याख्या गर्न भने । मैले सरसफाइ गरौँ वा स्कूलका विद्यार्थीलाई राष्ट्रियता र उत्प्रेरणाको प्रवचन दिऔँ वा वृद्धाश्रममा फलफूल बाँडौँ भनेर प्रस्ताव गरेँ । उनीहरूले कुरा बुझे ।
अर्को दिन उनीहरूले मलाई करिब १० जना ज्येष्ठ नागरिकहरूले आश्रय लिएको वृद्धाश्रममा लिएर गए । सबै बाबु आमालाई वितरण गर्न फलफूल र बिस्कुटको पोको तयार पारेँ । मसहितको टोली वृद्धाश्रम पुग्यो । आश्रित बुवाआमालाई नमस्कार ग¥यौँ । उहाँहरूका लागि ल्याएका पोका बाढ्यौँ । मैले यसबाट कुनै प्रतिक्रिया पाइनँ । उहाँहरू मौन हुनुहुन्थ्यो । मैले केही बुवाआमाको हात समातेर आत्मीयताका केही कुरा आरम्भ गरेँ । बल्ल उहाँहरू खुल्न थाल्नुभयो । मलाई कता कता लाग्यो यी बुवाआमा मन मनमा भन्दैछन्–
बाँस्कोटा बाबु तिमीजस्ता छोराछोरी मेरा पनि छन् । मेरो छोरो पनि अर्को जिल्लामा यसैगरी फलफूल बाँढ्दै होला । हामी माग्ने होइनौँ । कसले देला र खाउँला भनेर वृद्धाश्रममा आएका होइनौँ । सन्तानको माया नपाएर मन बहलाउन आएका हौँ ।
मलाई निकै गाह्रो महसुस भयो । वास्तवमा हरेकका बावुआमाले अत्यधिक माया दिएर छोराछोरी हुर्काएका हुन्छन् । आफ्नो साह्रा सम्पत्ति खर्च गरेर, अनेक कष्टले हुर्काउँछन्, बढाउँछन् र पढाउँछन् । ‘मर्छ कि भनेको आफ्नो छोराछोरी हुर्किएर आफैँलाई मार्छ कि’ भन्ने स्थिति पैदा भएपछि बुवाआमा वृद्धाश्रम पुग्नेजस्तो नमिठो सोच मनमा आइरहृयो । भारी मन लिएर काठमाडौं फर्किएँ । यति कुराको बोध हामी सबै छोराछोरी, छोराबुहारी छोरीज्वाइँले महसुस गर्न सके हाम्रा बुवाआमाको आशीर्वाद सधँै हाम्रो शिरमा परिरहने थियो ।
………….
पोखराबाट पाल्पा जाँदै थिएँ । बाटोमा रिडी प¥यो । त्यहाँका प्रहरीले मलाई रिडीको धार्मिक स्थलको भ्रमण गराउने भए । सबै मन्दिर घुमेपछि मुख्य ठाउँमा पुग्यौँ जहाँ करिब ४० जना बुवाआमा पनि भेला हुनुभएको रहेछ । उहाँहरू मबाट केही सुन्न ब्यग्र प्रतीक्षामा रहेको महसुस गरे । परिस्थिति विचार गरेर भनेँ–
सबै बुवाआमाले बिहान उठ्दा आफूलाई प्रशन्न राख्नु होला । उठेपछि प्रशस्त पानी पिउनु होला । त्यसपछि शौचालय गएर मलमूत्र त्याग गर्नु होला । सबै बुवा आमालाई मेरो आग्रह छ, आफूले सकेको व्यायाम, ध्यान, योग गर्नु होला । आज दिनभरि यी काम गरेर दिन खुसीले बिताउँछु भनेर कार्ययोजना बनाउनु होला । मौसम अनुसार तातोचिसो पानीले शरीर सफा रहने गरी नुहाउनु होला । शुद्ध आहार लिनु होला । शरीरलाई दुरुस्त राख्नु होला । मनमा चिन्ता, क्रोध, लोभ र विगतप्रतिको पछुतो भाव आउन नदिनु होला । खाना बाँडेर खानु होला । यसैगरी आफ्ना असल विचार पनि बाँड्नु होला । लेखपढ गर्नसक्ने बुवाआमाले दिनको केही घण्टा यस काममा खर्चिनु होला । समय समयमा बिस्कुट, पानी लगायतका हल्का खाना खानु होला । मन्दिरमा हुने आरती लगायतका कार्यक्रममा सहभागी हुनु होला ।
आफ्ना सन्तान, परिवारजन, आफन्त र देशवासीको सुखशान्ति र समृद्धिको कामना गर्नु होला । मेरो मुलुकमा केही राम्रो भइरहेको छ र हुन्छ भनी आशावादी रहनु होला । कसैले कटू वचन बोलेमा आज उनलाई ‘ब्लड प्रेशर’ बढेको रहेछ भनेर क्षमा गर्नु होला । कोही अर्को ज्येष्ठ नागरिक यस मन्दिरमा आएमा हार्दिकताका साथ स्वागत गर्नु होला । आफ्ना छोराछोरी भेट्न आउँदा प्रशन्नता व्यक्त गर्नु होला । सबै कुरा पुगेको छ भन्नु होला । बेला बेलामा स्वास्थ्य चौकी गएर जचाउनु होला । हप्तामा एक दिन पानीमात्रै पियर निराहार बस्नु होला । सात्विक भोजन गर्नु होला । सुखी रहनु होला≤ खुसी रहनु होला । म धन्य रहेछु, रिडीमा रहनु पाएको छु भन्नु होला ।
यस्तै प्रवचन दिँदै जाँदा म पनि भावनामा डुबेछु । के के भनेछु । ‘पिन ड्रप साइलेन्स’ को अवस्था सृजना भयो । म कथित तपस्वी झैँ बोली रहेको थिएँ । सबै बुवाआमाले आँखा चिम्लिएर मेरो प्रवचन सुनिरहनु भएको थियो । त्यसपछि मेरो बिदाइ भव्यताका साथ भयो । यति कच्चा उमेरमा यत्रो ज्ञान भनी केही बुवाआमाले सकारात्मक टिप्पणी गर्नुभयो । मलाई देखुन्जेल सबै बुवाआमाको आँखा मेरो भौतिक शरीरतर्फ नै थियो । यसबाट मलाई दिव्य ज्ञान भयोे, यथार्थमा हाम्रा बुवाआमा कति ‘महान’ हुनु हुन्छ । कतै हामीले हाम्रा बुवा आमालाई चिन्न नसकेका त होइनौँ ?
……….
यस लेखको बिट मार्ने क्रममा मेरो बुवाको प्रसंग जोड्न चाहान्छु । हामी धादिङ केबलपुरका मानिस हौँ । एकपटक बुवाको आग्रहमा हाम्रो जन्मस्थानमा रहेको महाँकाल देवताको पूजा गर्ने कार्यक्रम तय भयो । मेरा बुवाले सो कार्यक्रममा सबै गाउँलेलाई बोलाउने र खिर, पुरी, तरकारी खुवाउने कुरा गर्नुभयो । साथै गाउँभरिका एक जना ज्येष्ठ पुरुष र एक जना ज्येष्ठ महिलालाई दोसल्ला ओढाएर सम्मान गर्ने भन्नुभयो । हामी छोराछोरीले बुवाको इच्छाअनुसार सबै व्यवस्था ग¥यौँ । गाउँमा झ्याली पिटायौँ । ज्येष्ठ महिला र पुरुष कार्यक्रममा उपस्थित हुनुभयो । मेरो बुवाले दोसल्ला ओढाइदिनुभयो । फूलको माला लगाई दिनुभयो । खाममा राखेको एक–एक हजार रुपैयाँ दिनुभयो । ती दुवै ज्येष्ठ नागरिक अवाक भए । तिनको आँखामा देखिएको अद्भूत खुसी थियो ।
त्यस दिन ती दुवै वृद्धलाई परिवारजनले चिरिच्याट्ट पारेर ल्याएका थिए । मेरो बुवाले स्वस्थ र दीर्घ जीवनको कामना गर्नुभयो । हाम्रो परिवारजन सबैले उहाँहरू दुई जनामा आदर र सत्कारभाव प्रकट ग¥यौँ । क्रमशः सबै गाउँलेले पनि उहाँहरूलाई शुभकामना दिए । पछि सुनँे उहाँहरूले सो सम्मानलाई आफ्नो हृदयमा ‘साँचेर’ राख्नु भएको छ रे । यस्ता ज्ञानी हाम्रा लाखौं लाख आमाबुवाप्रति सधैँ शिर झुकाएर सम्मान गरिरहौँ । उहाँहरूको ‘शुभ आशीर्वाद’ को आशा गरौँ । तमाम हाम्रा बुवा आमाको दीर्घ जीवनको पुकारा गरौँ ।



















