परिचय : श्राद्ध के हो ? किन गरिन्छ ? कसरी गरिन्छ ? कहिले गरिन्छ ? यी मूल प्रश्नहरू छन् हाम्रा सामु । आश्विनकृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो । यसलाई सोह्रश्राद्ध भनिन्छ । पूर्णिमासमेतको गन्तीले यो १६ दिनको भए पनि वास्तवमा सोह्रै दिन पूरा हुन्न । चतुर्दशीका दिन पनि शस्त्रास्त्रले हताहत भई मरेकाका लागि मात्र गरिन्छ । सामान्य दिनहरूमा यो लगभग १३–१४ दिनको हुन्छ र एक दिन मघायुक्त तिथि पर्नाले छोरा हुनेले पितृपक्ष भए पनि त्यो दिन पिण्डदान गर्दैनन् । मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति– मघामा पिण्डदान गर्नाले जेठो छोरोलाई हानी हुन पुग्छ ।
यसपालि मघा त्रयोदशीमा परेको छ । छोरा हुनेले मघा तिथिको साटो अन्य तिथि खोजी सोह्रश्राद्ध गर्छन् वा औँसी, एकादशीमा गर्छन् वा सिदा तर्पणबाटै विसर्जन गर्छन् पितृहरूलाई ।
मूलतः श्राद्ध भनेको श्रद्धा नै हो । आफ्ना दिवंगत पितृहरूको उद्धार, उनीहरूप्रतिको समर्पणभाव र उनीहरूप्रतिको दयाभाव हो । आप्mना पितामाता र पुर्खाबिना यस धर्तीमा उदय असम्भव भएको र उनीहरूकै प्रेरणा पाएर, उनीहरूकै लालनपालन र उचित शिक्षाको प्रबन्ध भएरै सन्ततिहरू अघि बढेका हुन्छन् । विशेषज्ञ सेवा पाएर डाक्टर, वकील, इन्जिनियर, पत्रकार, लेखक, साहित्यकार, प्रशासक, नेता र उच्च वर्ग बनेका हुन्छन्≤ सारा मानवजीवन सञ्चालन भइरहेको हुन्छ । इतिहास र पूर्वजको संस्मरणबिना आजको शुरू र भविष्यको समुन्नत सुखको कल्पना निरर्थक हुन्छ ।
दिवंगत पितृहरूले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरूले देह धारण गरेका हुन्छन् र तत्तत् योनिका खाना स्वरूप आआफ्ना दिवंगत पितृहरू तृप्त हुन्छन् र देवत्वमा प्राप्त गरेका पितृहरूले पनि आफ्नो सन्ततिवाट केही आशा गरेका हुन्छन् । त्यसैले समय र स्थान विशेष परिवर्तन र वातावरण अनुकूल नभएकै कारण देखाई पुत्रहरूले पितृप्रति गरिने कर्म लोप गर्न मिल्दैन । आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नै पर्ने हुन्छ ।
तर्पण ः अघिल्लो दिन एकभक्तिमा बसेर, श्राद्धको दिन सर्वप्रथम तर्पणको आरम्भ गरिन्छ । ‘पु’ नामक नरकबाट तार्नेको नाम पुत्र भएकाले भावी र विगतका पिँढीहरूका लागि छोराको कर्तव्य किञ्चित् बढी तोकिएको छ । लालनपालन र कर्मको खातिर वावुआमाले गरेको अथक प्रयास र सो ऋणबाट चुक्ता हुने गतिलो साधन भनेको वर्षभरि मरेका पितृहरूका नाममा गरिने तर्पण नै हो । शास्त्रीय प्रमाण खासगरी ब्रहृमपुराण, नारदपुराण, भविष्यपुराण, हेमाद्री, मनुस्मृति याज्ञवल्क्य आदि र अन्य संहितालाई आधार बनाएर तर्पणको क्रममा हरेक बिहान तर्पण सम्भव नदेखिँदा आजभोलि श्राद्धकै दिन अघि वा पछाडि गर्ने चलन छ ।
जौतिलकुशले प्रतिज्ञा गरी जलदान गर्ने काम नै तर्पण हो । यसमा सर्वप्रथम ब्रहृमादि ती देवताहरूलाई जनै सव्यले जलदान गरिन्छ । पूर्व फर्केर प्रजापति, देवताहरू, ऋषिहरू, गन्धर्वहरू, देवी, अप्सरा, नागहरू, यक्षहरू, पिशाच, भूत, पशु, मनुष्य, वनस्पति, औषधि, अत्रि, मरीचि, अत्रि आदि ऋषिहरू, भृगु, वशिष्ठ आदिलाई तिल कुशले जलदान गरिन्छ । त्यसपछि जनैलाई माला लगाएर दुई–दुई पटक सात मनुष्यहरूलाइर्, पितृहरूलाई जलदान गरिन्छ । पछि अपसव्य भएर खगौतोबाट मोटक, तिलसहित दिव्य पितृहरूलाई तर्पण गरिन्छ । त्यसपछि आप्mना पिता पुर्खा, मावली, बन्धुबान्धवलगायत दिवंगत सबै पितृहरूलाई तर्पणदान गरिन्छ ।
सन्तति नभएर पिण्ड पानी नपाउनेहरूका लागि पछाडि छुट्टै तर्पण गरिन्छ । जनैलाई जलमा चोपेर । पिशाचहरूले खान पाउने जल भनेको स्नान गर्दा लगाएको कपडा निचोरेको जल भन्ने पनि आहान छ । जनै निचरेर दिनु भनेको संकेत त्यही हो । पछि सूर्यलाई अघ्र्य दिई दशै दिशा नमस्कारपश्चात् तर्पणको विधि पूरा हुन्छ ।
श्राद्धका प्रकार ः (क) श्राद्ध धेरै प्रकारका हुन्छन् । हाम्रो ३६५ दिनको एक वर्ष हुन्छ भने पितृहरूको हाम्रो हुने एक वर्ष उनीहरूको एक दिन हो । त्यसैले दिनदिनै पुत्र–सन्ततिबाट उनीहरूको आत्मा तृप्त हुने विश्वासअनुरूप हरेक वर्ष दिवंगत भएको तिथि पारेर निष्ठापूर्वक एउटा उद्देश्य लिएर गरिने श्राद्ध एकोद्विष्ट श्राद्ध हो । पितृपक्षमा एकोद्विष्ट पर्न गए एकापार्वणको रूपमा श्राद्ध गरिन्छ भने देवब्राहृमण र पितृब्राहृमण स्थापना गरी एकोद्विष्ट श्राद्ध एकापार्वणको विधिले सम्पन्न गर्नुपर्ने हुन्छ ।
देवताहरू खुशी हुन्छन्, भक्तिभावले आसुभाव, समर्पणभाबाट देवता खुशी पार्ने माध्यम हो । भजन कीर्तन, पुकार आदिमा शब्दको ख्याल नगर्दा पनि हुन्छ । यतिबेला जसले जसरी जान्दछ, सक्तछ उसैगरी पुकार गर्दा हुन्छ भने पितृभावमा यति सजिलो छैन । वाक्य शुद्धि हुनुपर्छ, वचन, विभक्ति, कारक, पुरुष, सबै मिल्नुपर्छ । पितृहरूले आपूmले दिएको वस्तु प्राप्त गर्न वाक्य शुद्धि हुनु जरुरी हुन्छ, अन्यथा कर्म निस्फल हुन्छ । एउटै पितृको उद्देश्यमा एकोद्विष्ट हुन्छ भने यसको समय पनि निर्धारण गरिएको छ । एकोद्विष्ट श्राद्ध मध्याहृनकालमा गर्नुपर्ने हुन्छ ।
(ख) घरमा शुभकर्म हुँदा पनि श्राद्ध गरिन्छ । सप्ताह, पुराण श्रवण, विवाह, ब्रतबन्ध, न्वारान, पास्नी लगायत सबै किसिमका शुभकर्म गर्नुअघि पितृको पूजा गर्नुपर्छ । यसमा खासगरी पिण्डदानको महिमा नभए पनि कुनै कर्म गर्नुअघि यो किन गरिन्छ भने देवता दिनेको प्रतीक हुन् भने पितृ हर्नेको पनि प्रतीक हुन् । आप्mनो कुलमा कुनै संयोगको राम्रो कर्म हुँदा उनीहरूले सन्ततिबाट केही चाहेका हुन्छन् । यस्तो श्राद्धलाई वृद्धिश्राद्ध भनिन्छ । बढेर गरिएको शुभकर्मको श्राद्ध हो यो । यसलाई आभ्युदायिकश्राद्ध पनि भनिन्छ । यो श्राद्धलाई नान्दीमुखीश्राद्ध पनि भनिन्छ । परिवेशअनुसार सबै श्राद्धको कर्म क्रियाहरू फरक हुन सक्छन् । यो वृद्धिश्राद्ध बिहानीमै गरिन्छ । कुनै समय पर्खी बस्नु पर्दैन । मंगलाचरणको साथ यो श्राद्ध गर्दै जाने प्रचलन छ ।
(ग) तीर्थमा गरिने श्राद्धलाई तीर्थश्राद्ध भनिन्छ । गृहस्थीहरूको लागि तीर्थश्राद्ध एकदमै जरुरी छ । औँसी वा पावनतिथि पारेर सन्ततिले पितृउद्धार हेतु गंगा, यमुना, सरस्वतीको संगम, त्रिवेणीधाम, अयोध्या, मथुरा, काशी, अवन्तिका, पुरी, द्वारावती, गोदावरी जहाँ तीर्थस्थलहरू रहेका छन् । गंगोत्तरी, यमुनोत्तरी, गया, पुनपुन, हरिद्वार, ऋषिकेश, बदरीकाधाम, केदारखण्ड, विभिन्न घाटहरू, गोकर्ण, उत्तरगया, आर्यघाट, वाराहक्षेत्र, कागवेनीक्षेत्र, देवघाटलगायत आप्mनो शक्ति र क्षमताअनुसार पितृउद्धार हेतु तीर्थश्राद्ध गर्नुपर्ने बताइन्छ । तीर्थश्राद्ध एवं ब्रहृमकपालीबाटै पितृहरू तृप्त हुन्छन् । सन्ततिले दिएको जल पिण्डदानले उनीहरूले आपूm तृप्त भएको महसुस गर्छन् र आशीर्वादस्वरूप धन, कीर्ति, सुख, भोग, यश, सम्मानलगायत आत्मउन्नति एवं सन्ततिको आचरण, व्यवहार शुद्धि, मर्यादापालन, नैतिकता एवं आपूmप्रति उनीहरूले भविष्यसम्म गर्ने विधि व्यवहार र मृत्युपछि उनीहरूले देखाउने श्रद्धाभावको लागि पनि आपूmले आप्mना पितृप्रति श्रद्धा गरिएको भाव आप्mना सन्ततिलाई देखाउनकै लागि पनि गर्ने गरिन्छ ।
आपूmले छोडेको काम आप्mनो सन्ततिबाट आशा गर्नु निरर्थक हुन्छ । स्वभावैले नयाँ पिँढी परिवर्तनकारी हुन्छन् भने असल परिवर्तन कार्यमा वावुआमाको प्रेरणा आवश्यक हुन्छ । तीर्थमा जौको पिण्ड दिइन्छ र श्राद्धको विधान पनि फरक हुन्छ । गया वा तीर्थश्राद्ध नगरेसम्म पितृ तृप्त नहुने कुरा गरुडपुराणमा एवं पद्मपुराणमा उल्लेख गरिएको छ ।
श्राद्धकर्ताको पत्नीको हातबाट तयार गरिएको पिण्डदान गर्नाले एक वर्षसम्म पितृहरू खुशी रहने बताइएको छ । त्यसैले कुलाचार अनुसार विवाह गरेर सोअनुसार सन्तति प्राप्त गर्नु पर्ने बताइएको हो । त्रेतायुगमा स्वयं श्रीरामले वनबासमा आफ्ना पिता दशरथको देहान्तको खबर सुनेर बालुवाकै भए पनि सरसामान सीताबाट तयार पारी श्रीरामले पिण्डदान गर्दा स्वयं दशरथ उपस्थित भई आपूmले तृप्ति पाएको बताइएको छ । मूल कुरा विश्वास र धारणाको कुरा हो । हाम्रो सभ्यता विश्वासमै अडेको छ र विश्वासकै कारण सूर्य, चन्द्र, धर्ती, आकाश, आदि सबै अडेका छन् ।
(घ) दिवंगत सबै पितृहरूको उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोहश्राद्ध हो । सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्याराशिमा सूर्य सरेको बखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतघ्न हुन् भनेर बताइएको छ ।
सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी ।
धनपुत्राः कुतस्तस्य पितृनिश्वास पीडनात् ।
अर्थात् गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेको लागि उसका धन र सम्पत्ति, वैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरूको श्वासप्रस्वास रोकेर उनीहरूलाई हुने पीडाले परिवारको भरण पोषणमात्र खोज्नु राम्रो हँुदैन ।
यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु वावुको या नसके बाजेको तिथिमा लिनु राम्रो मानिन्छ । सूतक, जूठो वा असर्धो समय परे एकादशी या आँैसीमा गरिनुपर्छ । रोकिएकोले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको आँैसीमा गर्ने गरेको पनि पाइन्छ । यसमा खासगरी स्वाहा र स्वधा दुवैको आहृवान गरिन्छ । देवऋषिहरू, पितृऋषिहरू स्थापना गरी स्वाहा र स्वधा मन्त्रले पूजा गरिन्छ । एकातिर जनै सव्य गरेर साँहिली औंँलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य, चोरी आँैलाले पूजा गरिन्छ । दिवंगत सबैजसोका लागि पिण्ड दिइन्छ । कसैले १६ वटा पिण्ड पु¥याउँछन् भने कसैको सोभन्दा बढी हुन्छ भने कसैले ६ वटा मात्र दिने गरेको पनि देखिन्छ, यो चलनको कुरा हो ।
विभक्ति प्रयोग गर्दा आसनको लागि षष्ठी विभक्ति प्रयोग गरिन्छ भने आहृवानमा द्वितीया विभक्ति, अन्नदानमा चतुर्थी विभक्ति प्रयोग गरिन्छ । हेमाद्रीमा उल्लेख भएअनुसार पितृश्राद्धको दिन पिण्डदान नभएसम्म हवनकार्य, योगीलाई अन्नदान देवपूजा, ब्रहृमचारी तपस्वीहरूलाई कुनै दान अर्थात् पितृकार्य बाहेकको अन्यकार्य पिण्डदान अघि निषेध गरिएको छ ।
स्वलक्ष्यमा हुन्छन् पितृहरू त्यो लक्ष्य पूरा नभएसम्म अन्य क्रिया कर्म निषेध गरिएको कारण अन्यकार्य अन्य दिनहरूमा विशेषरूपमा हुने गर्छ । पत्नी रजस्वला भए पिण्डदान (पार्वण) गर्न नहुने, पतीत व्यक्तिहरूलाई आमन्त्रण गर्नु नहुने, अन्य गोत्रजहरूलाई पनि खासमा प्रसाद निषेध गरिएको, बन्धुवान्धव, इष्टभित्र, ज्वाइँ, भान्जा, असल पुरोहित आदि आमन्त्रण गरेर गरिने यो पर्वमा धूमधाम बाजागाजा गरी घण्टशंख आवाज र भीडभाड गर्नु नहुने बताइएको छ । पार्वणश्राद्ध खासगरी अपराहृन समयमा गरिन्छ । श्राद्धमा तुलसी, भृंगराज, सयपत्री, अगस्त्यपुष्प आदि ग्राहृय छन् र केतकी, करवीर, वकुल, कुन्दक र रातो अन्य पूmलहरू निषेध छ ।
श्राद्ध गर्दा अरूको स्वामित्व भएको घर जमिनमा बसेर गरेमा पितृहरू खुशी नहुने र उनीहरूको शक्ति क्षीण हुने बताइएको छ । यसर्थ शहरीक्षेत्र अरूको स्वामित्वमा डेरा गरी बस्नेले श्राद्धतर्पण गर्दा नजिकको तीर्थक्षेत्र गोकर्ण, आर्यघाट, गौरीघाटमा यस्तै अन्य पवित्रस्थलमा गर्ने गरेको पाइन्छ । श्राद्धमा प्रयोग हुने वस्तुहरू अघिपछि प्रयोग नभएका, चोखो वस्तुहरू तयार गर्नुपर्ने दूध, घ्यू, तिल आदि नभई नहुने, आसनी चोखो चाहिने, खड्गपात्र चाहिने, ऊनबाट बनेका कम्बलहरू विशेष प्रिय हुने, कुश, चाँदी–तामाका भाडा कुँडा हुनुपर्ने, सके गाई आवश्यक पर्ने, छोरीको छोरा पनि आवश्यक पर्ने आदि नियमहरू छन् । जो यथाशक्य पूरा हुनु पर्ने देखिन्छ ।
पार्वणश्राद्ध यसकारण पनि जरुरी छ कि पार्वणश्राद्ध नगरेका घरमा तत्कालै सुरु हुने नवदुर्गापक्षको कर्म, जमरा राख्ने कार्य आश्विन शुक्लपक्ष भरि गरिने कर्म निषेध गरिएको छ । यसर्थ देवता वा शक्तिको उपासना गर्ने क्रमको पूर्वसन्ध्या पनि पितृपूजन जरुरी भएको हो । देवपूजनमा हामी विश्वास गर्छौं । पितृपूजा भनेको अतीतसँग गाँसिएको छ । पुर्खाले धन छोडेर नगएको कारण देखाई यसप्रति कम श्रद्धा हुनु राम्रो होइन । आज भोलिको बिग्रदो वातावरणको कारण श्राद्ध गरिएका वस्तुहरू विसर्जन गरिने ठाउँको अभाव देखिनु दुःखलाग्दो कुरा हो ।



















