काठमाडौं । नेपाल प्रहरीले ‘गुण्डा नाइके’ भनिएका साजन गुरुङलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गुरुङ निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न अर्का ‘गुण्डा नाइके’ समीरमान बस्नेतका सहयोगी हुन् ।
प्रहरीको खोजी सूचीमा रहेका नजोक भनिने ‘गुण्डा नाइके’ गुरुङलाई शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोलढुंगा क्षेत्रमा नियन्त्रणमा लिएको हो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले प्रहरी टोलीमाथि गोली चलाउन खोजेपछि गुरुङलाई जवाफी कारबाहीमा गोली लागेको बताएका छन् । उनका अनुसार गुरुङको दुवै खुट्टामा गोली लागेको छ ।
प्रहरीले गुरुङको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक थापाले उनी प्रहरीदेखि निर्माण व्यवसायी, बालुवाखानी सञ्चालकसम्मका व्यवसायीलाई धम्क्याउँदै रकम असुली गर्दै आएको बताए । उनका अनुसार गुरुङले प्रहरी कर्मचारीलाई नै मार्ने धम्की दिने गरेका थिए ।
घाइते गुरुङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
धादिङका बासिन्दा गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो । उनले प्रहरीलाई पनि धम्क्याउने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई मार्ने दिएको अडियो प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियो । अर्का गुण्डा नाइके पहलमान गुरुङको हत्या गरेको आरोप पनि उनीमाथि छ । २०७२ सालमा ज्यान मुद्दामा पक्राउ परेर जिल्ला अदालतबाट सजाय तोकिएका साजन गुरुङले पुनरावेदन अदालतबाट सफाइ पाएका थिए । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।




















