काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्यनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारका कारण प्रजातन्त्र खतरामा परेको बताएका छन् । सुनसरीको इनरुवामा मंगलबार आयोजित दोस्रो चरणको राष्ट्रिय जनजागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले प्रजातन्त्र जोगाउन आन्दोलन गर्नुपर्ने बताए ।
‘आज प्रजातन्त्र खतरामा रहेको छ,’ उनले भने, ‘यिनीहरू (कम्युनिष्ट) सच्चिएनन् भने हामीले आन्दोलन गर्नुपर्ने हुन्छ, तपाईंहरू जागरूक हुनुहोस् ।’ सरकार अधिनायकवादतर्फ लम्किएको भन्दै उनले जनताको लेख्ने, बोल्ने अधिकार खोस्न खोजिएको र हरेक ठाउँमा सरकारले लाचारीपन र ज्यादती गरेको दाबी गरे ।
सभापति देउवाले कम्यनिष्ट सरकारले जनतालाई झुक्याएको आरोप लगाए । ‘देश अप्ठ्यारो स्थितिमा पुगेको छ,’ उनले भने, ‘कम्युनिष्ट सरकारले त्रासको शासन र जनता झुक्याउने काम गरेको छ ।’
कांग्रेसले सबै क्षेत्रलाई समेटेको बताउँदै देउवाले मुलुकमा आफूहरूले समावेशी व्यवस्था लागू गरेको दाबी गरे । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानसहित देशैभरीका सबै क्षेत्रमा कांग्रेसले विजय हासिल गर्नेसमेत देउवाले ठोकुवा गरे ।
कार्यक्रममा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वीपी कोइरालाको आदर्शलाई बोकेर कांग्रेस अगाडि बढेको र कांग्रेस जहिल्यै पनि जनताको पक्षमा रहेको उल्लेख गरे । ‘हामी सुनसरीमा अब्बल छौं,’ उनले भने, ‘कांग्रेसले जे बोल्छ, त्यो गर्छ, तर वर्तमान सरकार जनताको विपक्षमा छ ।’ सरकारले जनताको माग पूरा नगरेकाले जनता विद्रोहमा उत्रिन बाध्य भएको गच्छदारको तर्क थियो ।
यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा संवैधानिक निकायलाई तर्साएर सरकारले दुई तिहाइको आडमा लुट मच्चाएको आरोप लगाएका छन् । कास्कीको पोखरामा दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै नेता पौडेलले अदालत र अख्तियार सत्ताको लाचार छाया भएकोसमेत आरोप लगाए ।
‘आज अदालत के गर्दैछ ? अख्तियार के गदैछ ? अख्तियार झिँगा मार्दैछ, ठूला माछा चैन गर्ने, निर्धालाई ऐन, तलतलका कर्मचारीलाई समातेर, मुखिया खरदारलाई समातेर काम देखाउने ?,’ प्रश्न गर्दै पौडेलले भने, ‘उसले ठूलालाई कारबाही गर्न सक्दैन, शासकलाई गर्न सक्दैन, चाहे त्यो वाइडबडी होस्, चाहे त्यो एनसेल होस् वा वाइसिएल क्याम्पको कुरा नै किन नहोस् ।’ अख्तियारले ठूला माछा समात्न नसक्नुमा दुई तिहाइकै दम्भ र शक्तिले रोकेको उनको दाबी थियो ।
नेता पौडेलले सरकारले एकातिर सपना देखाएर अर्कैतिर काम गरेको आरोप लगाए । जनतालाई निराश पार्ने काम सरकारले गरिरहेको उनको टिप्पणी थियो । ‘यो सरकार वास्तवमा असफल भइसकेको छ । दुई तिहाइ मतको घोर दुरुपयोग गरिरहेको छ,’ पौडेलले भने । सत्तामा पुग्नेबित्तिकै नेकपाले अरूमाथि थिचोमिचो गरेको उनले आरोप लगाए ।
पौडेलले सरकारको काममाथि प्रश्न चिहृनसमेत उठाए । ‘जाबो किरा मार्न नसक्ने पनि सरकार’ भन्दै उनले सरकारको कडा आलोचना गरे । ‘डेंगुको यत्रो प्रकोप फैलिएको छ,’ पौडेलले भने, ‘हस्पिटलहरु भरिन थालिसके । लामखुट्टे लखेट्ने काम पनि सरकार गर्न सकिरहेको छैन ।’
आसन्न उपनिर्वाचनको विषयमा बोल्दै वरिष्ठ नेता पौडेलले कास्की क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवारलाई विजय बनाउन पनि उनले आग्रह गरे । ‘कांग्रेस भन्ने रूखमा भोट नहाल्ने, रूखमा भोट नहाल्ने पनि कांग्रेस हुन्छ ?,’ उनले भने, ‘कास्की अहिले सारा नेपालको आँखामा परेको छ, यो मौका चुक्न नदिऊँ, मैले टिकट पाइनँ नभन्नुस्, कांग्रेसलाई जिताउनुस् ।’



















