काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रारम्भ गरेको छ । संस्थापक नेता वीपी कोइरालाको १०६औं जयन्तीको अवसर पारेर कांग्रेसले मंगलबार देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकसाथ ‘हिमाल–पहाड–तराई–मधेस (हिपतम) जागरण’ नाममा दोस्रो चरणको अभियान प्रारम्भ गरेको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले १०६औं जयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ विरुवा रोपेर दोस्रो चरणको जागरण अभियान उद्घाटन गरिएको बताएका छन् । कांग्रेसले ७७ जिल्लामा एकैदिन ३४ हजार ९८० विरुवा रोपेर पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याउने उद्देश्य राखेको शर्माले बताए ।
कांग्रेसले जागरण अभियानका लागि ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । केन्द्रीय प्रतिनिधिहरूमा अधिकांश प्रदेशसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मदेवार, पार्टीका पूर्वसभापति र पूर्वसांसद छन् ।
कांग्रेस पदाधिकारीहरू जागरण अभियानको उद्घाटनका लागि विभिन्न जिल्ला पुगेका छन् । पदाधिकारीहरूले पार्टीले खटाएका जिल्लामा पुगेर जागरण अभियानको शुभारम्भ गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनकाअनुसार सभापति शेरबहादुर देउवाले सुनसरीमा आयोजित समारोहलाई सम्बोधन गरेर जागरण अभियान उद्घाटन गरेका छन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की र उपसभापति विमलेन्द्र निधिले धनुषाको कार्यक्रमलाई सम्बोधन गरेका छन् । उपसभापति विजयकुमार गच्छदारले सुनसरी, महामन्त्री डा. शशांक कोइरालाले मकवानपुर, महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादवले र सहमहामन्त्री डा. प्रकाशशरण महतले काठमाडौंमै आयोजित कार्यक्रममा वृक्षारोपण गरेर जागरण अभियानको थालनी गरेका छन् ।
अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षा लगायतका कार्यक्रम तय गरेको छ ।
कांग्रेसले दोस्रो चरणको जागरण अभियानका क्रममा देशभर एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ । दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित ‘विशेष संवाद’ कार्यक्रम गर्दै युवासँग संवाद गर्ने जनाएको छ ।
अभियानको समापनका दिन कांग्रेसले बढ्दो महँगी, वाइड बडी, न्यारो बडी प्रकरण लगायतका भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयकहरू र सरकारको सम्पूर्ण कुशासनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने जनाएको छ । अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँचवटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने प्रवक्ता शर्माले बताए ।
यसअघि, कांग्रेसले वैशाख २५ गतेदेखि ७७ वटै जिल्लामा पहिलो चरणको एकमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।
Views: 11



















