बर्दिबास । महोत्तरीको बर्दिबासमा आयोजना भएको शपथग्रहण समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूबीच झडप भएको छ । नेकपाको प्रदेश–२ ले बर्दिबासमा मंगलबार आयोजना गरेको जिल्ला कमिटीको शपथग्रहण समारोहमा झडप भएको हो । पार्टीमा सक्रिय कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो नजिकका नेता कार्यकर्ताहरूलाई जिल्ला पदाधिकारी बनाएको भन्दै सप्तरी र सिराहा जिल्लाका कार्यकर्ताहरू असन्तुष्ट पक्षहरू रुष्ट थिए । कहिल्यै सदस्य नै नभएका व्यक्तिलाई जिल्ला सदस्य बनाएको भन्दै सप्तरी, सिरहासहित प्रदेश–२ को आठै जिल्लामा विवाद उत्पन्न भएको थियो । असन्तुष्ट पक्षले शपथग्रहण रो प्रदेश कमिटी अध्यक्ष र सचिवलाई आग्रह गरेका थिए ।
असन्तुष्ट पक्षले शपथ कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउँदा पनि कार्यक्रम आयोजना भएपछि झडप सुरु भएको थियो । असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झडप भएको हो ।
पूर्वमन्त्री उमेश यादवले नेताहरूले आफ्ना चालक, भान्सेलाई पनि सदस्य बनाई पदाधिकारी बनाएको आरोप असन्तुष्ट पक्षले लगाएका छन् । झडपमा नेकपा प्रदेश–२ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको बताइएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरी नेताहरूलाई सुरक्षा दिएको थियो । प्रहरीको लाठी प्रहारबाट नेकपा सप्तरीका जिल्ला कमिटी सदस्य देवनाथ यादवको टाउकोमा र नेता मधुसूदन यादवको खुट्टामा चोट लागेको छ ।
महोत्तरीको बर्दिबासमा ८ वटै जिल्लाका पदाधिकारीहरूको शपथग्रहण गर्ने कार्यक्रम निर्धारण गरिएकोमा मंगलबार सप्तरी र सिरहाका पदाधिकारीहरूको मात्रै शपथग्रहण कार्यक्रम राखिएको थियो ।



















