काठमाडौं । नेपाल र चीनबीच तीनवटा सहमति भएको छ । सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको नेतृत्वमा दुवै मुलुकका प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएका हो । परराष्ट्र मन्त्रालयले चीनसँग तीन वटा ‘सम्झौता’ भएको जनाएको छ । सोमबार भएको सहमतिअनुसार चीनले मनाङमा अस्पताल निर्माण गर्ने भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीको उपस्थितिमा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोगका उपाध्यक्ष डेङ बोकिङले आपतकालीन आवास तथा मनाङ अस्पताल पुनर्निर्माण परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
आपतकालीन आवास सहायताअन्तर्गत चीनले ९५ लाख युआनबराबरका पाँच हजार थान त्रिपाल उपलब्ध गराउने भएको छ । त्यस्तै, मनाङ अस्पताल पुनर्निर्माणका लागि चीनले दुई करोड २० लाख युआन प्रदान गर्ने भएको हो ।
यसैगरी स्वयंसेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले हस्ताक्षर गरेका उक्त समझदारी पत्रअनुसार नेपालमा चिनियाँ भाषा पढाउनका लागि चीनले स्वयंसेवक शिक्षक पठाउने भएको छ ।
प्रतिनिधिमण्डस्तरीय वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिने समझदारी भएको बताइएको छ । बैठकमा बीआरआई, अन्तर्देशीय विद्युत् प्रसारण लाइन, केरुङ–रसुवागढी–टोखा रेलवे परियोजनाका बारेमा समेत छलफल भएको बताइएको छ । यद्यपि, यी विषयहरूमा भने कुनै सम्झौता भएन ।
पराराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठकमा आर्थिक र विकास साझेदारीका विषयमा छलफल भएको छ । द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साथै चीनको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने आधारहरूका बारेमा गम्भीर छलफल भएको बताइएको छ ।
वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रायका सचिव शंकरदास वैरागी, अर्थ सचिव राजन खनाल र परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत सहभागी थिए ।
यस्तै, चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिआइसिडिए) का उपाध्यक्ष, विदेश मन्त्रालयको एसिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी
थिए ।
शिष्टाचार भेट
चिनियाँ विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । शीतल निवासमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।
चिनियाँ विदेशमन्त्री वाङले सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । याक एण्ड यती होटलमा भएको विदेशमन्त्रीस्तरीय बैठकपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले दिएको जानकारीअनुसार भेटमा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धलाई अझ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताए ।
‘हामी विगतका सहमतिअनुसार अघि बढेर जान चाहन्छौं र तपाईंको यो भ्रमणले पनि त्यसतर्फ अघि बढ्नलाई प्रेरित गर्नेछ भन्ने विश्वास छ,’ डा. भट्टराईले प्रधानमन्त्रीको भनाइ उद्धृत गरे । शैक्षिक, सामाजिक क्षेत्र, पूर्वाधार विकास लगायतका क्षेत्रलाई विस्तार गर्ने र चीनले नेपाललाई महŒवका साथ गर्दै आएको सहयोगप्रति प्रधानमन्त्री ओलीले खुशी प्रकट गरेको पनि उनले जनाए ।
प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन’ नीतिको पक्षमा रहेको प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले नेपाल आफ्नो भूभाग कुनै पनि छिमेकी र मित्र राष्ट्रका विरुद्धमा प्रयोग गर्न नदिनेमा दृढ रहेको बताए । उनले चीनबाट चाँडै उच्चस्तरीय भ्रमण होस् भन्ने चाहेको समेत बताए । जवाफमा विदेशमन्त्री यीले त्यसतर्फ तयारी भइरहेकोले यो अपेक्षा चाँडै पूरा हुने बताएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले बताए । ‘चीनबाट उच्चस्तरीय भ्रमणको तयारी हुँदै छ । त्यो भ्रमण उपयुक्त समयमा हुने नै छ,’ उनले विदेशमन्त्री यीको भनाइ उद्धृत गरे ।
१० जना पक्राउ
चिनियाँ विदेशमन्त्री याङ नेपाल आएका समयमा चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवाहको नाममा नेपाली चेलीहरू चीनमा तस्करी हुने गरेको विषयलाई लिएर नेपालस्थित चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गरिरहेका १० जनालाई नियन्त्रणमा लिइएको हो । सडकमा बसेर नारा लगाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



















