काठमाडौं । नेपाली कांग्रेसले मंगलबार दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दै छ । कांग्रेसले देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकसाथ ‘हिमाल–पहाड–तराई–मधेस (हिपतम) जागरण’ नाममा दोस्रो चरणको अभियान सुरु गर्न लागेको हो ।
कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जयन्तीको अवसर पारेर सुरु हुन लागेको अभियान असोज ७ गते सम्पन्न हुनेछ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा झण्डै ३५ हजार विरुवा रोपेर अभियान सुरु गर्ने जानकारी दिए । वीपीको १०६ औं जजयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ विरुवा रोपेर दोस्रो चरणको जागरण अभियान उद्घाटन गर्ने उनले बताए ।
कांग्रेसले ७७ जिल्लामा एकैदिन ३४ हजार ९८० विरुवा रोपेर पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याउने उद्देश्य राखेको शर्माले बताए । उनले जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरू प्रथम चरणजस्तै छरितो हुने बताए । ‘एक मिनेटभित्र आसन ग्रहण सकिन्छ । केजीमा तौलिने माला एवं ब्याजरहित हुन्छ । वक्ताको संख्या सीमित हुन्छ,’ उनले भने ।
अभियानका क्रममा केन्द्रीय तहबाट एउटा मात्रै सभा निर्धारण गरिएको उनले बताए । ‘जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ,’ उनले भने ।
कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा जागरण अभियानमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । केन्द्रीय प्रतिनिधिहरूमा अधिकांश प्रदेशसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मदेवार, पार्टीका पूर्वसभापति र पूर्वसांसद छन् ।
अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षा लगायतका कार्यक्रम तय गरेको छ ।
कांग्रेसले दोस्रो चरणको जागरण अभियानका क्रममा देशभर एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ । दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित ‘विशेष संवाद’ कार्यक्रम गर्दै युवासँग संवाद गर्ने जनाएको छ ।
अभियानको समापनका दिन कांग्रेसले बढ्दो महँगी, वाइड बडी, न्यारो बडी प्रकरण लगायतका भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयकहरू र सरकारको सम्पूर्ण कुशासनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने जनाएको छ । अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँचवटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने प्रवक्ता शर्माले बताए ।
यसअघि, कांग्रेसले वैशाख २५ गतेदेखि ७७ वटै जिल्लामा पहिलो चरणको एकमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।



















